- न्यूज ओके रिपोर्टर
भैरहवा
नेपालमा मृगौला सम्बन्धि बिरामीहरुको संख्या प्रत्येक वर्ष बढ्दे गएको छ । मृगौला रोग लागेको छ या छैन भनेर परीक्षणनै गर्नु पर्ने हुन्छ । पत्तै नपाई दुबै मृगौला बिग्रीसकेको हुन्छ, त्यसैले समयसमयमा मृगौला परिक्षण गरिरहनु पर्छ, पिसाब जाँच गर्नु पर्छ, युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवामा कार्यरत मृगौला रोग विशेषज्ञ डा. कृष्ण अग्रवाल बताउछन् ।
उच्च रक्त चाप(ब्लड प्रेसर), तथा घर परिवारमा मृगौला सम्बन्धी बिरामी भएका नजिकका नातेदार मृगौला रोगको हाई रिस्कमा पर्छन्, त्यसैले उनिहरुले नियमित परिक्षण गरिरहनु पर्छ । डा. अग्रवाल भन्छन् । बिना परिक्षण मृगौला रोग थाहा पाउन सकिँदैन । मृगौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु गलत हो । मृगौला रोगको अन्य रोगजस्तो कुनै लक्षण देखिदैन् । डा. अग्रवाल भन्छन्, धेरैलाई मृगौला बिग्रिसके पछि बल्ल थाहा लाग्छ । एउटा मृगौलाले काम गर्दासम्म अर्को बिग्रदा पनि थाहा हुदैन, पछि अर्को पनि बिग्रन सुरु गरेपछि अवस्था जटिल भइसकेको हुन्छ, त्यसैले वर्षमा एकपटक आफ्नो मृगौला परिक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हो, डा. अग्रवाल भन्छन् ।
हामीहरु बिरामी नभएसम्म अस्पताल जादैनौ । अर्थात कुनै बिरामीको लक्षण नभएसम्म नदेखिएसम्म उपचारमा ध्यान दिदैनौ । बिरामी भए पछि मात्र अस्पताल वा उपचार केन्द्रमा पुग्ने कारणले गर्दा रोगको उपचार ढिलो सुरु हुन्छ यो समस्या हो । धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुने बिरामी हो । २० देखि माथि ५० वर्षसम्मका लाई मृगौला सम्बन्धि रोग बढी हुने गरेको पाइएको छ । मृगौलाको उपचार निकै नै महङ्गो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजोर हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउछ । अझ घरमा कमाई गर्ने सदस्यलाई यो रोग लागेको खण्डमा कस्तो हुन्छ होला । त्यसैले मृगौला रोग लाग्न नदिन नियमित रुपमा पिसाब परिक्षण गर्ने, प्रेसर,सुगर परिक्षण गर्ने, ब्यायाम गर्ने, तनाबमा नरहने जस्ता काम नियमित गर्नु पर्ने चिकित्सकको सुझाव छ ।
मृगौलाको समस्या भयो भन्दैमा डाईलासिस नै गर्नु पर्ने भन्ने होईन, मृगौला कति बिग्रेको छ भन्ने अवस्था हेरेर मात्र उपचार हुन्छ । मृगौलाको अवस्था थ्रि बिसम्म रहेको छ भने त्यसलाई औषधिबाटै बचाउन सकिन्छ, डा. अग्रवाल भन्छन, तर धेरै बिग्रिसकेको छ भने अन्तिम बिकल्प भनेको डाईलासिस वा प्रत्यारोपण नै हो । डाइलासिस घरमा पनि गर्न सकिन्छ । जसलाई सिएपिडी भनिन्छ र अर्को अस्पतालमा गरिने हेमो डाईलासिस हो, डा. अग्रवाल भन्छन् । अन्तिम बिकल्प भनेको डाईलासिस वा प्रत्यारोपण हो । मृगौला दान गर्ने आफन्त भए डाईलासिसनै नगरी प्रत्यारोपण उत्कृष्ट हो । प्रत्यारोपण पछि जीवन सामान्य हुन्छ । त्यसैले सबैले वर्षमा कम्तिमा २ पटक नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्दछ ।आफ्नो नियमित जाँच गर्दा ठिक हुन्छ । सरकारले ४० वर्ष माथिको नागरीकको पिसाब तथा क्रियाटिनीन परिक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । त्यसैले परिक्षण गरीरहे मृगौला सम्बन्धि समस्या छ छैन थाहा लाग्छ ।
मृगौलाले के काम गर्छ ?
मृगौलाले हामीले खाएको खाद्य पदार्थ जुन शरीरलाई चाहिदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दुुषित पदार्थ शरीरमा नबसोस् भनेर मृगौलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मृगौलामा रोग लाग्यो भने उच्च रक्तचापको समस्या देखिन्छ । त्यसकारण उच्च रक्तचाप पनि मृगौला रोगको लक्षण हो । अन्य लक्षण मध्ये शरीर सुनिनु, पिसाबको मात्रा घट्नु पनि हो । मृगौला रोग लागेपछि रगत छानेर दुषित पर्दाथ पिसाबमा फाल्ने क्षमता घट्छ । मृगौला फेल भयो भने रगत फिल्टर गर्न सक्दैन र रगतमा क्रियटिनीनको मात्रा बढ्छ । १.५ सेरम क्रियटिनीन् हुनु पर्नेमा सेरम क्रियटिनीन् १.४ भयो भने .१ मात्र बढेको हुन्छ । यदि हामीले जाँचेको साँचिनै सहि हो भने त्यो मृगौला आधि बिग्रिएको हुन्छ । त्यस्तो अवस्थामा मृगौला स्थायी रुपमा बिग्रिएको हो वा अस्थायी हो भनेर हेर्नुपर्छ । अस्थायी भनेको ज्वरो आएको वा अन्य औषधि सेवन गरेका कारणले मृगौलामा केही समस्या देखिएको अवस्था हो । यस्तो समस्या ज्वरो वा के कारणले औषधि खानु परेको हो त्यो सेवन गर्न छाडेपछि मृगौलाको समस्या पनि ठिक हुन्छ । त्यो पनि समयमा ध्यान दिएको खण्डमा मात्र, होइन भने ३ महिना सम्म बेवास्ता गरेमा उपचार गरे पनि ठिक हुने सम्भावना कम हुन्छ । स्थायी भनेको मृगौला साँच्चिकै काम गर्न नसक्ने अवस्थामा पुगेको हो । मृगौला फेल भएकाको उपचारको लागि हाल वीर अस्पताल, शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पाटन अस्पताल, राष्ट्रिय मृगौला उपचार केन्द्र लगायत धेरै ठाउँमा यसको उपचार गरिन्छ । नेपालमा हाल आएर उपचार सरल र सस्तो पनि छ तर जब मृगौला बिग्रन्छ तब धेरै नै महंगो पर्न जान्छ । औषधिहरु धेरै नै महंगा छन् । बिग्रेको अवस्थामा सुविधा त छ तर ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो छ । त्यसैले सरकारले मुटु रोग, क्यान्सर रोगको बराबरीमा मृगौला रोग पनि एक दिर्घ रोग हो जुन नेपालीले धान्न सक्दैन भन्ने सोच बनाउनु पर्छ । र त्यहि अनुरुपको कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।
मृगौला रोगको लक्षणहरुः
- शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
- खाना रुची कम हुने, वाकवाक लाग्ने ।
- शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
- शरीरको छाला गाढा कालो भएर जाने ।
- सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुन सक्छ ।
- सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।
मृगौला रोगबाट बच्न के गर्ने ?
- रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौं ।
- स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
- प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधी सेवन नगरौं ।
- संयमित आहारको सेवन गरौं, नियमित शारीरिक व्यायाम गरौं तथा सही स्रोतबाट सूचना लिने बानी बसालौं ।
मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?
मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं । मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं । प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं । डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायू हुने गर्दछन् । अङ्गदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।
Get real time update about this post categories directly on your device, subscribe now.