- भैरहवा ।
रुपन्देहीमा पनि सिकल सेल रोगका केही बिरामीहरु रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयले विहीबार आयोजना गरेको सिकल सेल तथा थालसेमिया रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वंशाणुगत रोगको रुपमा सिकल सेल तराईका जिल्लाहरु मध्ये पश्चिम नेपालमा अझ बढी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा जनस्वास्थ्य अधिकृत गौरव ढकालले बताए ।
अहिले यो रोग लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा देखिएकाले सिकल सेल रोग उपचार तथा व्यवस्थापन कार्यक्रम सुरु भएको बताए । ‘‘जनचेतना ठूलो कुरा हो, थारु समुदायका लाई बढी यो रोग लाग्ने देखिएकाले जनचेतना जगाउने, रगत सङ्कलन गर्ने, रक्त परीक्षण गरी यो रोग पत्तालगाउने मुख्य काम हो, हामी जुटेका छौं । ’’ उनले भने ।
रुपन्देहीमा २७ जना यो रोगको बिरामी रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । जसमा महिला १८ र पुरुष ९ रहेका छन् । सबैभनदा बढी तिलोत्तमामा पुरुष ४ र महिला ५ गरी ९ जना रहेका छन् । त्यसै गरी सियारीमा पुरुष १ , महिला ३, शुद्धोधनमा पुरुष १, महिला ३, गैडहवामा पुरुष २, महिला २, बुटवलमा महिला ३, ओमसतियामा महिला पुरुष एक एक र सैनामैनामा १ महिला रहेको कार्यालयका अधिकृत एवम् सिकल सेल रोगका फोकल पर्सन रतन लाल शर्माले बताए ।
लुम्बिनी प्रदेशका बर्दिया र बाँकेमा यो रोगको बिरामी बढिरहेका छन् । बर्दियामा महिला २१९ र पुरुष १७५ गरी जम्मा ३९४ जनामा र बाकेमा महिला ६५ तथा पुरुष ५७ गरी १२२ जनामा यो रोग लागेका बिरामी भेटिएका छन् । पश्चिम नेपालमा जम्मा ६३० जना सिकल सेल रोगका बिरामी छन् ।
यी दुई जिल्ला सहित रुपन्देही, दाग, कपिलवस्तु, सुर्खेत र कैलालीमा यो सिकल सेलका बिरामी पाइएको छ ।
के हो सिकल सेल ?
सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो । यो रोग बुवाआमाबाट बच्चामा सर्ने गर्दछ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । जसले गर्दा रातो रक्तकोषहरु गोलो आकारको हुनुको साटो हँसिया आकारका हुन्छन् । सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जातिहरुमा बढी देखिने गरेको पाइन्छ ।
सिकल सेल रोगीको शरिरमा हसिया आकारको कोष हुने भएकोले रगत सजिलोसंग बग्न सक्दैन । यसरी रगत बग्न नसक्दा शरिरका भित्री अंगहरुमा अक्सिजनको मात्रा कम भई ति अंगहरुमा खराबी हुन्छ र ति अंगको भागमा कडा खालको दुखाई हुन्छ ।
सामान्यतय रातो रक्तकोषहरुको आयु १२० दिनसम्म हुन्छ तर सिकलसेल भएकाहरुको रक्तकोषहरुको आयु १० देखि २० दिनसम्म हुने हुँदा विरामीलाई रक्त अल्पता हुन्छ । यदि आमा र बुबा दुवैमा यो रोगको जीन भएमा वा दुई मध्ये एक जनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने तथा नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ । यस रोगको जीन भएका व्यक्तिहरुमा लक्षण देखापर्छ भन्ने छैन र उनिहरुले सामान्य जीवन बिताउन सक्दछन् ।
सिकलसेल रोगका लक्षणहरूः
छिटो छिटो थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने छाती, पेट, हात, खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने, कमलपित्त (जन्डिस) हुने, आँखाका समस्याहरु देखा पर्ने (अन्धों पनि हुन सक्ने ), संक्रमणहरु भइरहने, पक्षघात समेत हुने रहेका छन् । त्यसै गरी ज्वरो आउने, वाकवाक लाग्ने, वान्ता हुने, खोकी लाग्ने समेत हुने गर्छ । यी माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।
सिकलसेल रोग पत्ता लगाउने परीक्षणहरूः
यस रोगका परीक्षणहरु सामान्यदेखि विशेष खालका हुन्छन् । नजिकको प्रयोगशालामा गई रगत परीक्षण गराएमा सिकलसेल रोग हो होइन पना लगाउन सकिन्छ ।
सिकलसेल रोगको उपचारः
यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो । यस रोगको उपचार प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवा, रुपन्देहीमा निःशुल्क गरिन्छ ।
सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरूः
कुनै पनि रोगको संक्रमण बिरुद्ध खोपहरु लगाउनु पर्दछ । आँखाको नियमित परीक्षण गर्नुपर्छ । रक्तअल्पताको उपचार गराउनु पर्दछ । स्वास्थयकर्मीको सल्लाह अनुसार औषधिहरु नियमित रुपमा सेवन गर्नु पर्दछ । धेरै तनाब लिनु हुँदैन् । मदिरापान, धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन् ।
Get real time update about this post categories directly on your device, subscribe now.