- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारिरीक रुपमा अशक्तहरुको स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको संयुक्त आयोजनामा माघ ७ गते (शनिवार) शारीरिक अपांगता परिक्षण स्वास्थय शिविर सञ्चालन हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ । शिबिर निःशुल्क रुपमा लाग्नेछ र कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाले जनाएको छ ।
सर्वसाधारणका हितका लागि नगरमा शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
’शारीरिक अपाङ्गता भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायक सामग्री वा परिक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ’यस शिविरले सर्वसाधारण लाभान्वित हुने विश्वास लिएका छौँ ।’ १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर संचालन हुने भएपनि उक्त उमेर समूह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परिक्षणका साथै आवश्यकता अनुसार व्हिलचेयर, बैशाखी लगायत सहायता साम्रगी समेत उपलब्ध गराउने बताइन् ।
उनका अनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका शारीरिक अपांगता व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात् कृत्रिम अंग उपलब्ध गराइनेछ । शारीरिक अपाङ्गता व्यक्तिका साथै हाडजोर्नी सम्बन्धी समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन् ।
’जाडोयाममा वर्षौ अघिको हाडजोर्नी समस्याले पनि सर्वसाधारणहरु ग्रस्त हुन्छन्’ उनले भनिन्, ’उक्त समस्यालाई पनि मध्यनजर गर्दै शिविरमा हाडजोर्नी सम्बन्धीका सेवा प्रवाह गरिनेछ ।’
पैतला भित्र फर्केको, अंगहरु एक आपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको प्रमुख कौशिल्या चौधरीले बताइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.