- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
बुटवल उपमहानगरपालिकाले आफ्नो नगरबासिलाई अस्पतालमा उपचारमा रहँदा आवश्यक पर्ने रगत सम्बन्धी सबै सेवा निःशुल्क प्रवाह गर्ने भएको छ । उपमहानगरले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनैपनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नुनपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने प्रमुख पाण्डेले जनाए ।
समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताए । बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने उपमहानगरका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.