- मनोरञ्जन शर्मा
भैरहवा
साईला दाई अर्थात दधिराम सुबेदी, घर परिवारको साईलो छोरो भएकाले टोलछिमेक, आफन्त साथिभाई सबैले उनलाई साईला दाई भन्छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १६ जुडाहा स्थायी घर भएका साईला अहिले ६४ वर्षमा दगुर्दैछन् । वैशाख १० बाट ६५ टेक्ने साईला दाईले आफ्ना जीवनको महत्वपूर्ण समय करिब ३१ वर्ष यातायात क्षेत्रमा बिताए । १६ वर्षको उमेर हुँदानै बुटवल–भैरहवा रुटमा चल्ने बसमा कन्डक्टरका रुपमा काम सुरु गरेका उनले सोही पेशालाई २०६२सालमा निरन्तरता दिए । बसमा काम गर्दाको उनको सम्झना अझै ताजै छ । धेरै समय भैरहवा –काठमाडाैं र भैरहवा–पोखरा–बाग्लुङ रुटमा काम गरे साईला दाईले । रात्रीबसमा काम गर्दा खाना खाने समयको टुंगो कहिले नहुने । मुख खासै नबारीने माछा, मासु, घ्यू हालेको भात मजाले खाइन्थ्यो ।
अझ भात खाने ठाउँ अघि गाडी रोकेपछि होटलका कर्मचारी ढोकैमा लिन आउथे । भित्र छुट्टै कोठामा हामी बसका स्टाफलाई खाना खुवाइन्थ्यो । सुरुमै भुटेका कुखरा र खसीको मासु, पापड, सलाद ल्याउथे । मदिरा पिउने हो भनि कानैमा आएर बिस्तारै भन्ने अहिले पनि गुन्जिरहन्छ, साईलादाईले भने । तर यात्राका क्रममा मात्र होइन अरु समयमा पनि त्यति धेरै पिइदैन्थ्यो, तर माछा मासुमा जोड बढी दिन्थे । त्यही क्रममा अलिअलि सुगर र रक्तचाप (प्रेसर) को समस्या देखियो साईला दाईलाई । चिकित्सकको सल्लाहमा दवाई खान सुरु गरे, गोजिमा दवाई त हुन्थ्थयो तर नियमित कहिले खान पाइएन, जहिले बिर्सने । तर बिर्से पनि जति बेला सम्झिन्थे खाई हाल्थे साईलादाईले सुनाए । यातायात क्षेत्रमा ३१ वर्ष काम गरेर साईला दाईले २०६२ सालमा बिश्राम लिए ।
भर्खर ४७ वर्षका थिए साईलादाई त्यति बेला । जोशिला अनि हिम्मतिला । यातायात क्षेत्रमा काम गरेर कमाएको पैसाले सानो एकतले घर जुडाहा नजिकै बनाए र केही जमिन पनि जोडे । छोराछोरी लाई शिक्षा दिक्षा दिए । सोहि क्रममा उनि नजिकै रहेको अष्ट्रिच फर्ममा काम गर्न सुरु गरे । त्यहाँ उनले करिब ११ वर्ष बिताए । अष्ट्रिचमा काम गर्दा सुगर, प्रेसरको ठूलो समस्या देखियो । त्यति बेला पनि सामान्य रुपमा हेरियो, दवाई खाएर बसियो तर रुटीन अनुसार दवाई खाइएन । काम छाडेर बसेको केही वर्ष पछि २०७६ साल असार तिर मेरो स्वास्थ्य अलि गंभिर जस्तो भएको महशुस मैले गरे । जरो आउने, पिसाब राम्रो नहुने, भोक नलाग्ने, पिसाब पोल्ने जस्ता समस्या देखियो ।
सामान्य औषधीले त कामै गरेन, जरो बस्दै नबस्ने । सबैको सल्लाहमा नजिकको क्रिमशन अस्पतालमा देखाउन लगियो बुवालाई । सबै परीक्षण गर्दा चिकित्सकले एकै पटक तपाईंका दुबै मृगौला फेल भएका छन्, भनेर बुवालाई सुनाउँदा बुवा त्यही बेहोस जस्तै हुनु भयो, साईलादाईका कान्छा छोरा पुरुषोत्तम सुबेदीले भने । हामीले त मृगौलाका विषयमा सोचेका पनि थिएनाैं । एक्कासी चिकित्सकले मृगौला फेल भनेर सुनाउँदा त हामी सम्हालिनै सकेनौं, बुवा त्यही ढल्नु भयो, छोरा पुरुषोत्तमले भने । सामान्यतय स्वस्थ्य पुरुष व्यक्तीको क्रिटिनन ०.७ देखि १.३ एमजि हुनु पर्छ तर वुवाको बढेर ३.९ पुगिसकेको रहेछ । तिन दिन त्यही उपचार गरी सिधै काठमाडांैको ग्रान्डी अस्पतालमा लगियो । त्यहाँ डा. बिष्णु पहारीले हेर्नु भयो । सबैसंग सरसल्लाह भयो सरकारी अस्पताल उपचार संभव थियो तर प्रत्यारोपण गर्नै परे समय धेरै लाग्ने जस्तो देखियो । त्यसैले सुरुबाटनै नीजि अस्पतालमा उपचार सुरु भयो । चिकित्सकहरुले छोरा पुरुषोत्तमले भने । सुरुमा औषधीले नियन्त्रण गरे डाईलासिस गर्न पर्दैनथियो भनेर चिकित्सकले सुझाएका थिए । तर बिस्तारै क्रिटिनीनको लेभल बढ्दै गएर ७ भन्दा माथि पुगेपछि २०७८ असोजबाट डाईलासिस सुरु भयो, छोराले भने । कहिले काठमाडांै त कहिले बुटवलका अस्पतालमा डाईलासिस हुन्थ्यो । बुटवलमा हुदा निःशुल्क हुनथ्यो । तर काठमाडौंमा पैसा तिरेर गर्नु पर्दथियो । एक पटकको ४ हजार खर्च लाग्थ्यो ।
अन्य औषधीका खर्चका कुरै नगरौ । डाईलासिस सुरु नहुँदै प्रत्यारोपणको कुरा सुरु भएको थियो । पहिला घर परिवारबाटै दिन सक्ने दाता खोज्न चिकित्सकले आग्रह गरे । घरमा छलफल हुँदा सुरुमै आमाले भन्नु भयो म दिन्छु मृगौला तिमिहरुको उमेर छ, जवान छांै काम गर्नु पर्छ, धेरै गर्न बाँकी छ भन्नु भयो । आमाले दिने भने पनि चिकित्सकले सुरुमात बिश्वासै गरेनन् । आमा साह्रै दुब्ली र पातली हुनुहुन्थ्यो । तर आमाको रगत समूह पनि मिल्यो आमालेनै दिने हुनु भयो, छोरा पुरुषोत्त्तमले भने । तुला कुमारी सुबेदी आमा अहिले ५९ वर्षकी भइन् । नीजि अस्पतालमा प्रत्यारोपण हुने भएपनि सबै परीक्षण र आवश्यक प्रकृया मिलाउन ३ महिना लाग्यो । २०७८ पुस २२ गते ५७ वर्षकी तुला कुमारीले आफ्ना ६३ वर्षका पतिलाई मृगौला दिएर नयाँ जीवन दिइन् । प्रो. दिब्यासिंह शाहा र वरीष्ठ चिकित्सक प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गरेका थिए । आमालाई ४ दिनमा र बाबालाई ५ दिन पछि अस्पतालले डिस्चार्ज दियो । अहिले आमा बुवा दुबैको स्वास्थ्य सामान्य छ । मृगौला फेल छ भनेर सुरुमै चिकित्सकले भनिदिदा मैले जीवनको समय यतिनै रहेछ भन्ने ठानेको थिए ।
आशा थिएन जीवनसित । जीवन संगिनीले मृगौला दिएर मरिसकेको मेरो आशलाई जिवन्त दिइन, यी शब्द भन्दा साईला दाईका आखा रसाएका थिए । मृगौला फेल भए पछि धेरै बाँचिदैन भन्ने जुन भ्रम थियो त्यो गलत रहेछ, आत्मविश्वास र हिम्मत हार्नु हुँदैन । परिवारको भूमिका र समाजले गर्ने व्यव्हार पनि ठूलो रहेछ, साईला दाईले भने । मलाई परिवारको पूर्ण सहयोग रह्यो, कृष्ण नेपाल दाईले सुरुदेखिनै बिभिन्न माध्यमले सहयोग गर्नु भयो, रामभान्जा लगायत भुवन सबैले उपचारमा सहयोग गर्नु भयो, म यो गुन कहिल्यै तिर्न सक्दिन, आजैका दिन फेरी स्मरण गर्न चाहन्छु, उनले भने ।
अहिले पनि मासिक १० देखि १५ हजारको औषधी खर्च छ । सुरुको ६ महिनामा मासिक मासिक ६० हजारसम्म खर्च हुन्थ्यो । नीजि अस्पतालमा उपचार साह्रै महँगो छ । सरकारी अस्पतालमा लाग्ने खर्चको तेब्बर भन्दन बढी खर्च नीजिमा लाग्यो । धन्न लक्ष्मण र पुरुषोत्त्तम मेरा दुई छोराले कमाउने गरेका थिए र उपचारलाई सजिलो भयो । स्वास्थ्यलाई भनेर पैसा कसैले साचेर राखेका हुँदैनन् । सरसापट अझै तिदैछन् छोराहरु, साईलादाईले भने ।
प्रत्यारोपणको १४ महिना पुरा भयो, त्यस्तो केही समस्या छैन अहिले । नियमित रुपमा ठिक समयमा औषधि र चिकित्सकले सुझाएका खानाहरु खान्छु, बिहान बेलुका वरपर हिडडुल गर्छु, ७, ८ घन्टा सुत्छु । केही कुराको तनाब लिदिन । प्रत्यारोपण पछि उर्जा थपिएको छ, उनले भने । म त डाईलासिस गर्दा अब बाँचिदैन भन्ने लागेको थियो । ४ घण्टाको डाइलासिस पुरा गर्न ४ वर्ष जस्तो लाग्ने । उमेर ६० पुरा भइसकेकाले म डाईलासिस नगरी एकै पटक प्रत्यारोपण होस् भन्ने चाहन्थे तर मृगौला पूर्ण रुपमा खराबी भएकाले त्यो असम्भव भयो । म मृगौलाका समस्या भएकाहरु र उहाका परिवारहरुलाई के भन्न चाहन्छु भने बिरामीलाई हेयको दृष्टीले नहेरांै । घरपरिवारले माया गर्नु पर्छ । हिम्मत हार्न दिनु हुँदैन्, साईलादाईको भनाई छ ।
मृगौला रोग लागेपछि वा प्रत्यारोपण गरिसकेपछि मानिसहरु केही काम गर्न सक्दैनन भन्ने जुन भ्रम समाजमा छ त्यो गलत हो, आज ६४ वर्षको उमेरमा पनि म सामान्य मानिस भइसकेको छु । त्यसैले मृगौला रोग लाग्यो भनेर आतिहाल्नु हुँदैन, साईलादाईले भने ।
औषधी उपचार साह्रै महँगो छ । प्रत्यारोपण पछि आजन्म औषधी खानु पर्छ । सरकारले प्रत्यारोपण र औषधी पूर्णरुपमा निःशुल्क गरे सामान्य आर्थिक अवस्था भएका मृगौला बिरामीलाई निकै मद्धत हुन्थ्यो, साईलादाईले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.