श्रीन्यूज ओके रिपोर्टर
भैरहवा -रुपन्देहीमा ५९ हजार किशोरीलाई क्यान्सर बिरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
आगामी माघ २२ देखि पहिलो चरणमा र दोश्रो चरण फागुन १ गते देखी सञ्चालन हुने रुपन्देही जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले बताए ।
खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाइने ज्ञवालीले जनाए ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ९ गतेसम्म जिल्लाका १६ स्थानियतहका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम कार्यालयको रहेको छ ।
नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएको छ ।
त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।