मनोरञ्जन शर्मा
भैरहवा– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीबाट कुल २३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुने भएका छन् । उक्त विद्यार्थी नियमित तथा ग्रेडवृद्धी दुबै तर्फका गरी हुन् । शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका एकाइ प्रमुख तथा उप सचिव माधव बन्जाडेका अनुसार जिल्लाका सामुदायिक १७३ र निजी १६६ गरी ३३९ विद्यालयका साधारण तर्फ नियमित तर्फ १७ हजार ७ सय ३१, ग्रेडवृद्धी तर्फ ४ हजार ९ सय ४२, प्राविधिक तर्फ नियमितमा ४ सय, ग्रेडवृद्धीमा १ सय तथा पुरानो ग्रेडवृद्धिका २ सय ८२ गरी २३ हजार ४ सय ६० विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) दिनेछन् ।
रूपन्देहीमा कुल ६० परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षार्थी रहेको केन्द्र गिर्वाण संस्कृत तथ साधारण माध्यमिक विद्यालय मणिग्राम हो, जहाँ ६ सय ५८ विद्यार्थीले परीक्षा दिर्दै छन । त्यसै गरी सबै भन्दा कम परीक्षार्थी रहेको केन्द्र नवरत्न मावि सेमलार रहेको छ, जहाँ १ सय ६१ जना विद्यार्थीले परीक्षा दिदैँ छन् । मणिग्रामकै शान्ति नमुना माविबाट सबैभन्दा बढी ६ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन भने मेरिगोल्ड इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलबाट सबैभन्दा कम ४ जना विद्यार्थीले परीक्षा दिदैछन् ।
परीक्षा व्यवस्थीत रुपमा सञ्चालन गर्न यस पटक भैरहवामा नवदुर्गा मावि र लुम्बिनीमा तेनुहवा सामुदायिक मावि गरी २ केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका सूचना अधिकारी अम्मर केसीले बताए । केसीका अनुसार यस वर्ष केन्द्राध्यक्ष ६०, सहायक केन्द्राध्यक्ष १२०, निरीक्षक १ हजार १ सय ७३, कर्मचारी २ सय ३५, सहयोगी ४ सय ७० गरी २ हजार ५८ जनशक्ति परीक्षा व्यवस्थापन एवं सञ्चालनमा जुट्नेछन् । रूपन्देहीबाट यस वर्ष एक जना कैदी बन्दी र बाल सुधार गृहका ८ जना पनि परीक्षामा सहभागी हुदैछन् ।
यस पटक देखी प्रत्येक केन्द्रमा परीक्षार्थीको सहजताका लागी हेल्प डेस्क र हेल्थ डेस्क पनि स्थापना हुने कार्यालयका एकाइ प्रमुख एवं उप सचिव बन्जाडेले बताए, यस पटक अन्य जिल्लाको तुलनामा रूपन्देहीमा केही फरक पन दिदैछौ, जसले गर्दा विद्यार्थीले सहजता पूर्वक परीक्षा दिन सकुन्, उनले भने । परीक्षा दिन जादा प्रवेश पत्र अनिवार्य रुपमा लिएर जानु पर्ने तथा स्कुल पोशाकलाई समेत प्राथमिकता दिइएको बन्जाडेले बताए । परीक्षा मर्यादित रुपमा सञ्चालनको लागी विद्यार्थीहरूलाई कुनै पनि किसिमको डिजिटल डिभाइस, मोबाइल फोन मात्र नभई स्मार्ट वाच पनि परीक्षा केन्द्रमा निषेध गरिएको उनले बताए । यस वर्ष चैत्र ७ गते देखि १५ गते सम्म साधारण तर्फ र १९ गते सम्म प्राविधिक धार तर्फको परीक्षा हुदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.