शान्ता दिदीसँग अन्तिम पटक न्यूज ओके लाइभमा अन्तरवार्ताका क्रममा असार १८ गते भेट भएको थियो । दिदीसग उहाँले अपनाउनु भएको ब्युटिसियन पेशाका विषय र लकडाउनले पारेको असरबारे कुराकानी गर्न स्टुडियोमा आउन आग्रह गर्दै विहानै फोन गरेको थियो । त्यति सन्चो छैन, तर पनि भाइले भने पछि आउछु, लिन आउनु पर्छ है भन्नु भयो । बेलुका साढे सात बजेको कार्यक्रमका लागी आधा घण्टा अगावै पुगेको थिए बर्मेलीटोल उहाँको निवासमा ।
संयोगले त्यो दिन मेरो जन्म दिन पनि थियो । कार्यक्रमको सुरुवातमै उहाले मलाई जन्मदिनको शुभकामना दिँदै भाईले प्रगति गरेको हेर्न पाम भन्नु भयो । अन्तरवार्तामा धेरै अन्तरंग कुरा भयो । उहाँको ब्यूटिसियन पेशा कसरी सुरुवात भयो देखि लिएर उहाँको सामाजिक कर्म सम्मको कुरा भयो, उहाले सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उद्योग उपाध्यक्ष हुने उद्घोष गर्नु भयो । कार्यक्रम सकियो । दिदीलाई घरमै लगेर छोडेर आए । त्यस अघि पनि कहिले काही बिहान ९–१० बजे घर अगाडी रिक्सा कुरेर बस्नु हुन्थ्यो सायद । मत तेही बाटो भएर आउजाउ गर्ने क्रममा भेट हुँदा मैले दिदी कता भन्दा उहाँले पार्लर जान लागेको भन्नु हुन्थ्यो । मैले पु¥याई दिन्छु भन्दा कति दुःख दिनु भाईलाई भन्दै बाइक पछि बस्नु हुन्थ्यो । उहाँको पार्लर मिलनचोकमा असार १८ पछि भने मैले उहाँलाई बजारमा देखिन् । साउनमा उहाँको आमाको मृत्युु भयो । पछि थाहा पाए शान्ता दिदी बिरामी हुनुहुन्छ भनेर । मैले सामान्य बिरामी होला घरमा गएर स्वास्थ्य अवस्था बुझनुुपर्ला भनेर बसेको थिए ।
माघ १ गते बिहीबार बिहानै बुटवलबाट न्यूज ओके पत्रिका ल्याएर बितरक केशव यादवको शान्तिनगर स्थित नागरिक पुस्तक पसलमा पुगेको थिए सञ्चारकर्मी भाई प्रकाश न्यौपानेले फोन गर्दै दाई नेत्र आचार्य दाईले सामाजिक सञ्जालमा शान्ता दिदीको दुखद खबर लेख्नु भएको छ के भएको हो भन्दै फोन गरे, नेत्र दाईले शान्ता दिदी नरहेको खबर लेख्नु भएको थियो । मत दिदी सामान्य बिरामी परेको भन्दै बसेको थिए । बिहानै दुखद खबर सुन्नु प¥यो, सामाजिक सञ्जाल भरी श्रद्धाञ्जलीका शब्द सहितका दिदीको हसीलो फोटो देखिन थाल्यो । दिदीले यति चाडै यो धर्ति छाडेर जानुहुन्छ भनेर सायद कसैले सोचेका थिएनन् होला । स्तब्ध बनाएर सबैलाई रुवाएर जानु भयो दिदी । सक्रान्तिका दिन विहान ५ बजे काठमाण्डौंको ग्राण्डी अस्पतालमा उहाँको उपचारको क्रममा निधन भएको थियो । खबर थाहा पाए पछि उहाँको घर पुगे । भिनाजु हुनुहुन्थ्ययो घरमा । इष्टमित्र, शुभचिन्तक आउने जाने भैरहेको थियो । आँखा रसिला थिए भिनाजुका । छेउमा सिद्धार्थ उद्योग वाणिज्य संघकी सदस्य यमकला दिदी हुनुहुन्थ्यो, संगै काम गरेकी उहाँको आसु थामीएको थिएन् । पछिल्लो समय सामाजिक काममा सकृय रहन उहाँ लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको संस्थापक अध्यक्ष बन्दै महिला दिदी बहिनीहरुलाई आबद्ध गराउनु भएको थियो । तर उहाँ आफ्नो क्लब स्थापना भएको चार्टर सर्टिफिकेट हेर्न नपाउँदै बिदा हुनु भयो ।
दिउसो ३ बजेसम्म दिदीको शव आइपुग्ने सूचना थियो । उहाँको घर अगाडि सेतो पाल टांगिएको थियो । घर अघिकै गल्ली जहाँ वहाँ जहिले रिक्सा कुरेर बस्नु हुन्थ्यो त्यहाँ शुभेच्छुकहरु वहाँलाई अन्तिम दर्शन गर्न कुरेर बसेका थिए । सबैका आँखा रसाएका थिए । बजारमा सबै व्युटिसियन पेशा अपनाएकाहरु, उहाँका नियति सेवा ग्राहीहरु, शुभेच्छुकहरु, उद्योगी, व्यवसायी, आफन्त सबै उहाँको अन्तिम दर्शनका लागि कुरेर बसेका थिए । साढे तिन ४ बजे तिर एम्बुलेन्समा उहाँको शव आइपुग्यो । गोबरले पोतिएको पेटीमा राखियो । सधै अरुको सौन्दर्य राम्रो बनाउने पेशा अंगाल्नु भएकी दिदी को शरिरमा रामनाम पछ्यौरी थियो ।
शान्ता दिदीले हासो मजाक गर्दै भन्नु हुन्थ्यो म एक दिन बजारका उद्योगी व्यबसायीलाई पछि पछि लगाउँदै सिद्धार्थ उद्योग वाणिज्य संघको बाटो हुँदै जाने हो भन्नु हुन्थ्यो । हुन पनि त्यस्तै भयो । उहाँको पार्थिव शरिर अघि–अघि उद्योगी व्यवसायी, साहुमहाजनहरु, शुभेच्छुकहरु पछि पछि सिद्धार्थ उद्योग वाणिज्य संघको बाटो हुँदै स्वर्गद्वारी घाटसम्म पुगेर शान्ता दिदीलाई अन्तिम श्रद्धाञ्जली दिएर फर्किए ।
यस्तो थियो विगत शान्ता दिदीको कुनै पनि पेशा तथा व्यवसाय गर्न उमेर बाधक बन्दैन भन्ने कुराको उदाहरण भैरहवाकी व्यवसायी शान्ता जि.सी. बनेकी थिइन् । उमेरले तिन बीस ५ पुरा गरिसकेकी शान्ता जि.सी. भैरहवा मात्रै नभई रूपन्देही क्षेत्रमै सफल महिला उद्यमीका रूपमा परिचित थिइन् । विगत ४० वर्ष देखि निरन्तर उनी सौन्दर्यकला अर्थात ब्यूटीपार्लर व्यवसायमा सङ्गलग्न थिइन र उमेरले ६५ पुरा गर्दा पनि यसै पेशामा लागेकै थिइन् तर दैवले उनलाई लग्यो । पाको उमेरमा पनि ब्यूटीपार्लरमा लागेकी उनलाई सबैले ब्यूटिशियनको गुरू आमा भन्ने गर्दथे ।
२०११ सालमा स्याङ्गजा जिल्लाको धनुबाशे गाविसमा जन्मिएकी जि.सी.को २०२९ सालमा भैरहवाका बल बहादुर जि.सी.सँग घरजम भए पछि नै उनले ब्यूटीशियनको आधारभूत तालिम भैरहवा आएर लिएकी हुन् ।
२०३७ सालबाट ब्यूटिशियन व्यवसायमा अहिलेसम्म निरन्तर लागि परेकी थिइन् । मृत्युको केही समय अघिसम्म पनि उनको दैनिकी त्यसरी नै गुज्रीरहेको थियो, दिन चर्या चलिरहेको थियो एउटा सफल सौन्दर्यकला व्यवसायी भएर ।
‘विवाह लगत्तै यो व्यवसाय सुरू गरे, त्यस पछि अहिलेसम्म निरन्तर यही पेशालाई अगाडी बढाउँदै लगे र अहिले सबैनै यही भएको छ । पेशा परिवर्तन गर्न सकिन्, यही पेशाले नाम दियो, पहिचान दिलायो’ धेरै ब्यूटिशियनहरूलाई तालिम दिए । रूपन्देहीका धेरै ब्यूटिशियन पेशामा आबद्ध भएकाहरूलाई मैले तालिम दिएकी हँु । अहिले यो पेशा प्रति गर्व लाग्छ, निधन अघि कुराकानी हुँदा उहाले भन्नु भएको थियो ।
त्यति बेलाको समाज अलि बढीनै रूढीबाजी थियो छोरी बुहारीलाई बाहिरी काममा नलगाई घरकै काममा अल्झाएर राख्नुपर्छ भन्ने प्रचलन रहेता पनि श्रीमान् र घर परिवारको सहयोग लिएर नै जिसीले महिलाहरूको श्रृंगार गर्ने ब्यूटिशियन व्यवसाय सुरू गरेकी हुन् ।
‘२०३६ सालमा श्रम विभागले ३ महिने तालिम खुलाएको थियो, ६ सिटका लागि ४० जनाको निवेदन परेको थियो, त्यसमा छनौट भए पछि तालिम लिए पश्चात समय खेर नफाली यो व्यवसाय सुरू गरे,’ जिसीले त्यतिबेला कुराकानीका क्रममा भनेकी थिइन् ।
तालिम लिनु पूर्व नै घरमा तथा साथिहरूलाई ब्यूटीपार्लरको सेवा दिइसकेको थिए, अनुभवको आधारमा तालिमका लागि सजिलै छनौट भएकी थिइन् शान्ता । त्यति बेला पश्चिमाञ्चल क्षेत्रमा ब्यूटिपार्लर व्यवसाय गर्नेहरू कोही नभएको र भैरहवाको आफ्नै घरमा सुरूका दिनमा व्यवसाय सञ्चालन गर्दै गए पछि बिस्तारै सफल भएको शान्ताको भनाई थियो । त्यति बेला त महिलाहरू ब्यूटीपार्लर आएपछि कसैले देख्ला भनि आउँदा जाँदा मुख अनुहार छोपेर जान्थे, उनले भन्ने गर्थिन् । आउँदा पनि लुकेर आउँथे, जाँदा त झन डर र लाजले भुतुक्कै हुन्थे । उति बेला राम्रो व्यवसाय पनि होइन भन्दै नराम्रो दृष्टीकोणले हेर्ने गरिन्थ्यो तर अहिले उति बेलाको जस्तो समय रहेन, अहिले नभै नहुने भइसक्यो ब्यूटिपार्लरको सेवा, उनको अनुभव थियो ।
अहिले ब्युटिपार्लर पेशाबाट सजिलै जिवीकोपार्जन हुने बताउने शान्ताले मात्रै १ हजार बढीलाई तालिम दिएकी थिइन् । जि.सी. आफैले भैरहवामा सञ्चालन गर्दै आएको महिला केश श्रृंगारमा ६ जनाले रोजगारी पाइरहेका थिए । जिसीको निधन पछि उनिहरु पनि अभिभावक बिहीन भएका छन् । जिसीले समय अनुकुल यो पेशालाई आधुनिकीकरण गर्दै लैजानु पर्ने र आफ्नो हात गोडा चलुन्जेल यो पेशा नछाड्ने बताउँदै आएकी थिइन् । सन्चो भएर आएर धेरै काम गर्न बाँकी रहेको बताउने शान्ता काठमाण्डौंबाट सबैलाई रुवाउने गरि आइन् ।
भैरहवा र बुटवलका धेरै ब्युटिशियनहरूको गुरू आमा रहेकी जि.सी सौन्दर्यकला व्यवसायी संघ नेपालको बरीष्ठ उपाध्यक्ष भइसकेकी थिईन् । यो व्यवसायले आफुलाई यहाँ सम्म लेराएको, सिद्धार्थ उद्योग बाणिज्य संघमा आबद्ध हुने सबैभन्दा पहिलो महिला उद्यमी पनि आफै रहेको बताउने उनि नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य (मनोनित) सम्म भएकी थिईन् ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर पनि धेरै काम गरीन् । महिला उद्यमीको पक्षमा काम गरीन। बिभिन्न तालिम चलाईन। महिलाहरुलाई उद्यमकला गर्न व्यबसाय गर्न प्रोत्साहित गरिन् । धेरैले ब्युटीपार्लरको गुरुआमा भन्छन् उन्लाई । सफल त थिईन आप्mो उद्यम पेशामा । तर केही गर्न बाकी छ भन्दा भन्दै सबैलाई रुवाएर माघे सक्रान्तीका दिन शान्ता दिदी उद्योग बाणिज्य संघको बाटो हुदै उद्योगी व्यबसायीलाई पछि लगाउदै कहिल्यै नफर्कने गरि गईन् । हार्दिक श्रद्धाञ्जली शान्ता दिदी । जहा रहे पनि तस्बिरमा जस्तै गरी मुस्कुराईरहनु होला ।
Get real time update about this post categories directly on your device, subscribe now.