- शर्मिला शर्मा
भैरहवा
बिरामीहरुले अस्पतालको बेडमा औषधी खानेक्रममा प्रायः भन्ने गर्छन्, नानी अझै कति बस्नु पर्छ, घर कहिले पठाउनु हुन्छ, अब तपाइ छिटै घर जान सक्ने हुनु हुन्छ, भन्दा ति बिरामीले मुस्कुराएको क्षण कुनै पनि नर्सको लागि जिन्दगीको स्वर्णिम क्षण हो । त्यस्ता दृष्य बिरामीको कुरुवालाई मात्र नभई नर्सहरुलाई पनि निकै आनन्दमय लाग्छ ।
यो भनेको नै नर्सको पेशाः मुस्कान सहितको सेवा हो । घर परिवार, नाबालक छोरा–छोरी घरमा छाडेर रातदिन नभनि आफ्नो पेशा प्रति सदैव लगाव राख्ने समर्पण हुने हुँदा आज सबैले सम्मान गर्न सक्ने पेशा ‘नर्स’ बनेको छ । नर्सहरुकै सम्मानमा विश्व भर नर्स दिवस मनाइन्छ । अझ अस्पतालबाट कुनै बिरामी निको भएर घर जाने क्रममा बिरामी वा कुरुवा आफन्तले नर्स, डाक्टर भनेको भगवान हुन भनेर भन्छन त्यतिबेला यो पेशा प्रति गर्व महशुस हुन्छ । हामी नर्स डाक्टरहरु भगवान भने होइनाैं ।
विश्व भरमा हरेक वर्ष मार्च १२ का दिन फ्लोरेन्स नाइटिङगेलको जन्म दिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिङगेलको जन्मदिनसंगै दिनरात बिरामीहरूको उपचारमा संलग्न नर्सहरूको सम्मानमा यो दिवस विश्व भर मनाइदैं आइएको छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाई फलोरेन्स नाइटिंगेललाई स्मरण गरिन्छ । हाम्रो देशमा पनि केही वर्ष यता नेपालमा माघ १५ गतेका दिनलाई नर्स दिवसका रूपमा मनाउँदै आइएको छ । नर्स दिवस मनाउनुको अर्थ बिरामीको लागि मुस्कान सहितको सेवा प्रदान गरी आफ्नो पेशाप्रति सम्मानित हुनु पनि रहेको छ र यसमा हामी सबै नर्स पेशा अपनाउनेहरु प्रतिवद्ध समेत छौं ।
वर्षमा दुई पटक नर्सिङ दिवस मनाइए तापनि दिवस मनाउनुको अर्थ, सन्दर्भ र महत्व एउटै हो, बिरामीको उत्कृष्ट सेवा र आफ्नो पेशाको सम्मान । त्यसैले बिरामीको उपचारसंगै राम्रो सेवा हामीले प्रवाह गर्न सकेमा अझै नर्स दिवसको महत्व बढछ् । अस्पताल, स्वास्थ्य केन्द्र चौकीहरुमा बिरामी उपचारका लागि आउँने गर्छन् । उनिहरुलाई औषधि खुवाउनेदेखि देखभाल गर्ने, हरेक काममा नर्सिङ पेशामा आवद्ध नर्सहरुको दायित्व हो । कति पनि झर्को नमानी बिरामीको उपचारमा दिनरात खटिने हुँदा बिरामी र उनीहरूको अभिभावकले नर्सहरूप्रति राख्ने दृष्टिकोण नै फरक हुन्छ । पुरूषहरू रूखो स्वभावका हुन्छन् भने महिलाहरूको स्वभाव कमलो र नरम हुन्छ ।
त्यसैले अस्पताल,स्वास्थ्य केन्द्र, चौकीमा नर्सहरूको भिन्दै महत्व छ । नर्स भन्ने बित्तिकै सबैले बुझ्ने गर्छन् । सेतो कोट, कपालमा सेतै रिबन अनि हातमा औषधि, अनि मुस्कान सहितको सेवा, यो नै नर्सको परिचय हो ।
अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्रमा बिरामीहरूको रातदिन सेवा गर्ने व्यक्ति । जसलाई बोलिचालिको भाषामा सिष्टर भन्ने गरिन्छ । उपचारका लागि भर्ना भएपछि चिकित्सकको सुझाव अनुसार औषधि खुवाउनेदेखि मात्र नभएर बिरामीको हरेक कुरामा मुस्कान सहितको सेवा उपलब्ध गराउनेहरू नै नर्स हुन् । आफ्नो पेशामा यती इमान्दार हुन्छन् की रात दिन नभनि यो पेशाप्रति सम्मान गर्र्दै बिरामीहरूको उपचारमा संलग्न हुन्छन् । बिरामीहरुले कतिले त गाली गर्छन, त त गर्छन तर पनि नर्सहरु दत्तचित्त भएर सकेको सेवा प्रवाह गरीरहेका हुन्छन् ।
घर परिवार, नाबालक छोराछोरी घरमा भए पनि आफ्नो तोकिएको पेशा प्रति समर्पित भएर बिरामी दिन दुःखीको सेवामा अहोरात्र खट्ने हुनाले आज यो पेशा सम्मान गर्न सक्ने बनेको छ । यति हुँदाहँुदै पनि अहिले पनि यो समाजमा केहीले यो सम्मानित पेशाप्रति कहिले काँही औँलो ठड्याउने गरेका छन् । उनीहरूलाई हाम्रो आग्रह छ, सक्नुहन्छ सम्मान गर्नुस् हाम्रो पेशाको, सक्नु हुन्न चुप लागेर बस्नुहोस्।
अहिले वर्तमान समयमा यो पेशाको महत्व र दायित्व अझ बढेर गएको छ । कोरोना भाइरस महामारीसंगै हामी नर्सहरुले आफुले सक्दो रुपमा सेवा प्रवाह गर्यौ, रातदिन कोरोना बिरामीको सेवामा खटियौं, हामीले हाम्रो परिवार भनेनौं, बालबच्चा भनेनौं, कोरोना पिडित बिरामीको सेवामा निरन्तर लागिरह्यौं । नर्स, चिकित्सक, प्राविधिकहरुको महत्व कतिको छ भन्ने कुरा अहिले धेरैलाई थाहा भएको छ । यो कोरोना महामारीको सुरुवातको बेलामा नर्स लगायतलाई धेयको दृष्टीकोणले हेरियो, कतिले डेरा पाउन मुस्किल प¥यो, कतिले डेरा छाड्नु प¥यो, अपहेलित समेत भए, यस्तो बेलामा पनि धैर्यता नगुमाई आफ्नो पेशामा हामी लाग्यौं र सकेको सेवा प्रदान ग¥यौ, यसमा हामीलाई गर्व छ । नर्सिङ पेशाको इतिहास केलाउँदा यो पेशाको जन्मदाता फलोेरेन्स नाइटिंगेलाई कहिल्यै बिर्सन सकिँदैन् । विश्वयुद्धको समयमा मानिसहरू युद्धका कारणले धेरै घाइते भएका थिए । सेना, पुलिस, सर्बसाधारण लाखांै घाइते थिए । त्यस्तो समयमा एक युवती अधेरोमा बत्ति बाल्दै घाइतेहरूको उपचारमा तल्लिन थिइन् ।
घाइतेहरूको उनले युद्ध क्षेत्रमै गएर उपचार गरेपछि केही घाइतेहरू निको समेत भए । बिस्तारै नाइटिंगेलले यो कामलाई निरन्तरता दिइन् र बिस्तारै उनको प्रसिद्धी पनि बढ्दै गयो । पछि उनी विश्वभर चर्चित बनिन् र यसरी नर्सको जन्म भयो । त्यसपछि यो पेशा अंगाल्नेहरू बढ्न थाले र समाजमा, अस्पतालमा बिरामीहरूको सेवा गर्ने रूपमा हेर्न थालियो र नर्सको जन्म भयो ।
नर्स जसलाई हामी स्वास्थ्य परिचारीका पनि भन्छौं, प्रायः सबै महिलाहरू नै हुन्छन् । त्यसैले नर्सलाई आदर पूर्वक सिस्टर पनि भन्ने गरिन्छ । नर्स बिना बिरामीको सेवा मात्र होइन अस्पताल, उपचार केन्द्रको कल्पना पनि गर्न सकिन्न । सुरूवातको समयमा भन्दा अहिले धेरै नर्सहरू रहेकाछन् भने विकास क्रम पनि भइरहेको छ । आधुनिक प्रविधिले फड्को मारेसँगै नर्स पेशा अपनाउन यो विषयमा अध्ययन गर्ने क्रम बढेको छ । नेपाल नर्सिङ्ग पेशाको इतिहास हेर्ने हो भो भने धेरै समय भएको छैन् । नेपालको जेठो अस्पताल बीरमा सुरूवातका बेला नर्स नहँुदा सबै काम चिकित्सकहरूले गर्दथिए । काठमाण्डौमा बीर अस्पतालको स्थापना हुदा त्यतिबेला नर्सहरू थिएनन भने स्वास्थ्य सहायकका रूपमा केही कम्पाउण्डरहरू कार्यरत थिए । तर नर्सका रूपमा कोही थिएनन् ।
बि.स. २०१३ सालमा नर्सिंङ्ग पेशाको सुरूवात भएको बुझिन्छ । भारतबाट केही युवतीहरूले तालिम लिएर आएपछि नेपालमा नर्सिङ्गको सुरूवात भएको हो । राणाकाल समयमा चारजना नेपाली चेलीहरू विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । चार युवतिहरूले तालिम लिएर आई सेवा दिन सुरू गरेपछि यो पेशाको महत्व बढेको हो ।
नेपालमा यो पेशाको तालिम नहुने भएपछि नेपाली युवतीहरू तालिमका लागि भारत जाने गरेको बुझिन्छ । भारतमा ४ वर्ष ९ महिनाको लामो नर्सिङ्ग कोर्स गरेर आउने चलन बढेको थियो त्यति बेला । समय अनुसार यो पेशाको महत्व बढ्दै गयो भने तालिम र अध्ययन गर्दै यो पेशामा आवद्ध भएर बिरामीको सेवा गर्ने चाहना धेरैको बढ्दा अहिले यो पेशा सबैको आकर्षण बनेको छ ।
विदेशमा समेत यो पेशाको राम्रो सम्मान र रोजगारी सजिलै पाइने भएकाले यो पेशामा अहिले नेपाली युवतीहरूको धेरै आकर्षण छ । युवतीको तुलनामा युवाहरू केही मात्रामा यो पेशामा छन् । दशक भन्दा अघि पुरूषहरूले पनि यो पेशामा तालिम अध्ययन गर्दथे तर अहिले त्यस्तो पाइदैन् । सुरू सुरूमा यो पेशा अंगाल्नेलाई त्यति राम्रो मानिदैन थियो । नेपालमा अहिले अनमीदेखि एमएस्सी नर्सिङ्गसम्मको पढाई हुन्छ । यो बिषयमा अध्ययन पछि विदेश जाने पनि धेरै छन् ।
नेपाल नर्सिङ्ग संघको २०२० डिसेम्बर १ सम्मको तथ्याङ्क अनुसार दर्ता भइका नर्सहरु ६१४२१ छन् । त्यसै गरी अनमीहरु ३४,४३२ फरेनर नर्सेसहरु ८४४ र मिडवाइफ ११ जना रहेका छन् । तर अहिले नविकरण गरेका नर्सहरु १७,३५३ र अनमीहरु ८,४२२ जना मात्रै छन् । पढाई पुरा गरेर दर्ता समेत भएको तर नविकरण ज्यादै कम भएकोले रोजगार नभएर कामै नगरी बसेको हो या विदेश पलायन भएको हो प्रष्ट देखाएको छ । विदेशमा यो पेशा सम्मानित र श्रम मूल्य पनि उत्कृष्ट छ, त्यसैले विदेशमा आकर्षण बढेको छ नर्सहरुको ।
उपचारका क्रममा मुस्कान सहितको सेवा प्रदान गर्दा बिरामीमा आशाको ज्योति पलाएको हुन्छ र उसलाई छिटै सञ्चो हुने अपेक्षा मनौवैज्ञानिक रूपमा पर्न जान्छ । त्यसैले पनि रातदिन बिरामीको उपचारमा जुट्ने नर्स प्रति सम्मान गर्नु जरूरी छ भने नर्सहरूले पनि आफ्नो पेशा अनुसारको सेवा उपलब्ध गराई बिरामी मात्र नभई सबैको मन जित्न सक्नु पर्छ । नर्सिङ्ग दिवसको सबैलाई शुभकामना साथै स्वास्थ्य सेवा प्रवाहका क्रममा ज्यान गुमाउने विश्वभरका सबै नर्सेसहरुमा हार्दिक श्रद्धाञ्जली प्रकट गर्छु ।
(शर्मा मायादेवी गाउँपालिका स्वास्थ्य शाखाकी नर्सिङ्ग निरीक्षक हुन् )
Get real time update about this post categories directly on your device, subscribe now.