विक्रम मल्ल
कोरोना संक्रमणपछि जटिल बनेको नेपालको अर्थतन्त्र अझै पनि राम्रोसँग अघि बढ्न सकेको छैन । अहिले पछिल्लो समय, के–कसरी हुन्छ अर्थतन्त्रलाई चलायमान बनाउने ? प्रयास भइरहेको छ । सरकारसँगसँगै निजी क्षेत्र पनि बजार चलायमान बनाउन लागिपरेका छन् । सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन विभिन्न योजनाहरू ल्याइरहेको छ, तर त्यो पर्याप्त छैन । अझै पनि उद्योगी–व्यवसायीहरू समस्यामै छन् ।
सरकारले ल्याएका योजनाहरू अपर्याप्त छन् । कम्तीमा पनि दुई वर्षसम्म बैंकमा किस्ता तिर्न सक्ने व्यवस्था, कर राजस्वमा जरिवाना, ब्याज दुई वर्षसम्मका लागि छुट र अवधि बढाउनुपर्ने, उद्योग–व्यवसाय सञ्चालन नभएको कोरोनाको समयको विद्युत् डिमान्ड शुल्क पूर्ण मिनाहाजस्ता कार्यक्रम तत्काल लागू गरी राहत दिनुपर्नेमा त्यो हुन सकेको छैन, यो दुःखद पक्ष हो ।
अर्को कुरा, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । नीतिअनुसार नेपालको अर्थतन्त्र चलायमान बनेको प्रस्ट छ । चालू वर्षको ६ महिनामा आर्थिक एवं वित्तीय परिसूचकहरू सकारात्मक रहेको, मुद्रास्फीति नियन्त्रित तथा शोधनान्तर बचत रहेको साथै विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशबाट आउने विप्रेषण बढेको, बैंक तथा वित्तीय संस्थाको आधारदर (बेस रेट) घट्दा उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने जस्तो मौद्रिक नीतिले देखाएको छ ।
त्यसैगरी पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा बढेको साथै वित्तीय पहुँच बढेको बताइए पनि आमव्यवसायीले त्यति महसुस गर्न नसकेको अवस्था छ ।
असार मसान्तसम्म बैंक–वित्तीय संस्थामा कर्जा बुझाउने म्याद थप गर्नु सकारात्मक हो, तर यसको कार्यान्वयन पक्ष धेरै फितलो र कार्यान्वयन नभएको देखिएकाले राष्ट्र बैंकले तुरुन्त अनुगमन गर्न जरुरी छ । राष्ट्र बैंकले असारसम्मको सीमा दिए तापनि बैंकहरूले किस्ता तिर्न आउन बारम्बार फोन गर्ने र कालो सूचीमा राखिदिने धम्कीसमेत दिने गर्दा कोरोना महामारीले धराशायी भएका उद्योगी–व्यवसायीलाई थप मानसिक तनाव उत्पन्न हुने गरेको छ ।
मौद्रिक नीतिले समग्र देशको अर्थसूचक राम्रो देखिए पनि आमसर्वसाधारणले महसुस गर्न सकेका छैनन् । मौद्रिक नीतिले बजारमा खाद्यान्न वस्तु, तेलहन, दलहनको मूल्य वृद्धि भएको स्वीकार गरे तापनि गैर खाद्यान्न वस्तुमा खासै नबढेको देखाएको छ । तर, यथार्थमा निर्माण सामग्रीहरू छड (स्टिल), सिमेन्ट, जस्तापाता, एंगल पत्तिजस्ता सामानहरूको मूल्य वृद्धि भएको छ । यो मौद्रिक नीतिको समीक्षामा नपरेको देखियो । पर्यटन उद्योग, शिक्षण संस्था नोक्सानीको क्षेत्रमा देखाइएको छ, यो स्वाभाविक हो । मौद्रिक नीतिको समीक्षाअनुसार कोरोना संक्रमणका समयमा पनि राज्य कर, राजस्व संकलनमा बढी लागेको देखाएको छ । विपद्को बेलामा पनि बढी राजस्व संकलन हुनु यसको उदाहरण हो । मौद्रिक नीतिअनुसार समग्र आर्थिक क्षेत्र होइन; कर, राजस्व, विप्रेषण, वैदेशिक रकम सञ्चितिको ग्राफ राम्रो देखिएको हो, यो सकारात्मक भए पनि अर्को पाटो जुन रूपमा बजार चलायमान हुनुपर्ने हो, त्यो हुन सकेको छैन । समग्रमा भन्दा सरकारसँग पैसा छ, तर बजारमा क्यास फ्लो हुन सकेको छैन । सरकारले यसमा जोडबल गर्नप-यो । ( मल्ल भैरहवा क्षेत्रमा कृयाशिल युवा उद्यमी हुन् )
Get real time update about this post categories directly on your device, subscribe now.