सर्व प्रथम गृह जिल्ला रुपन्देहीमा पुनः स्वागत र नमस्कार गर्न चाहन्छु । यस अघि (सायद १ महिना अघि) निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीले माग सहितको ज्ञापन पत्र बुझाउने क्रममा र त्यसपछि लगत्तै प्रेस संगठन रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा म सहभागी थिए ।
हुन त तपाईंसँग मेरो कुनै व्यक्तिगत परिचय छैन् । म एक सामान्य श्रमजिवी पत्रकार । तत्कालिन समयमा सायद २०५१ साल तिर होला पाल्पाबाट तपाईंलाई निर्वाचित गराएर पठाएका थियाैं, त्यसबेलादेखि म तपाईंलाई चिन्दछु । ‘मेरो घरमै (सेन स्कुल अगाडी) भोट माग्न पुग्नु भएको थियो ।’ अर्थमन्त्री ज्यू,
त्यसपछि तपार्इं पाल्पा छाडेर रुपन्देही झर्नु भयो । तपाईं झरेको १ दशक पछि मैले पनि त्यहाँ गर्दै गरेको काम छाडेर रुपन्देहीलाई कर्मथलो बनाउने निश्चित गरी २०६२ साल मङ्सिरमा पाल्पालाई छोडेर आए । तर बसाई सराई भने गरेको छैन् । पाल्पाका कुरा छोडांै । वर्तमानमा जोडिऔं ।
तपाईं रुपन्देही आउजाउ गरिरहनु हुन्छ, तपाईंको काम होलान् । खासै चासो राख्दिन् । आर्थिक पत्रिका कारोबार दैनिकमा काम गर्ने भएकाले यहाँको धेरै आर्थिक विषयमा धेर थोर जानकार छु । उठान गरिरहेको छु । तपाईं भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथीको रुपमा आउँदै हुनुहुन्छ भन्ने जानकारी पाएको थिए ।
कार्यक्रममा सहभागी हुँदा कम्तिमा एक दुई घण्टा बस्नु हुन्छ भन्नेमा म विश्वस्त भई त्यही बेला समय पनि हुने र चिट्ठी लेखे पढ्नु हुनेछ भन्ने ठानी आफ्नै पत्रिका न्यूज ओके मार्फत तपाईंलाई चिट्ठी लेख्न मन लागेर लेख्दैछु, अन्यथा नलिनु होला । मैले पत्रमा आर्थिक मुद्धालाई जो मैले देखेको छु, त्यसलाई लेखेको छु ।
हाल नेकपाको राष्ट्रिय राजनिति र जिम्मेवारी पदमा हनुहुन्छ, राजनीति गर्दा, मन्त्री हँुदा आरोप, जस–अपजस आए होलान् त्यो तपार्इंको आफ्नो कुरा हो । राजनीतिमा संलग्न यहाँको विगतकर्मको समीक्षा गरेर नै रुपन्देहीका बुटवल क्षेत्रका जनताले तपाईंलाई मत दिएर सांसद बनाएकोमा दुईमत छैन् । तपाईं जुनसुकै दल र जुनसकुै क्षेत्रको उम्मेदवार भएर चुनाव जिते पनि तपार्इंलाई रुपन्देही जिल्लाबासीले विकास प्रेमीका रुपमा लिने गरेका छन् । हुँदा–हुँदै अहिले त विष्णु पौडेल भैरहवा क्षेत्रको सांसद भएको भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पुरा भई ‘यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको हुने थियो भन्न पनि थालिसकेका छन्, यो यथार्थ हो ।’ अर्थमन्त्री ज्यू,
हजुरले आफ्नो निर्वाचन क्षेत्र साथै अन्य स्थानको विभिन्न विकासका लागि गरेका कामहरु ल्याएका योजनाहरु राम्रा छन् । त्यसैले आज बुटवल र वरपर राम्रो फड्को मारेको छ । उत्तरको शहर बुटवलले गरेको प्रगति दक्षिणको शहर भैरहवाले टुलुटुलु हेरेर बसेको छ, र कल्पना गर्ने गरेको छ, बुटवल जस्तै कहिले हुने हो, हुन त भैरहवा र वरपरका क्षेत्रमा विकास नभएका होइनन् । यहाँका अन्यले काम नगरेका होइनन् भन्न खोजेको होइन्, तर मात्र यति हो । ‘भैरहवा क्षेत्रलाई पनि बुटवललाई जतिकै माया गरिदिनु होस्’ भन्न खोजेको हो । धेरै समस्या छन् अहिले पनि यता । तपाईंले पहल गरे धेरै समस्या समाधान हुनेमा यहाँका उद्योगी, व्यवसायी लगायत ढुक्क जस्तैछन् । भैरहवा – बुटवल औद्योगिक करिडोरमा विद्युतको ट्रन्क लाइनको समस्या अहिले पनि उस्तै छ, ट्रन्कलाईनका कारण कतिपय उद्योगहरु अहिले विद्युत प्राधिकरणको कालोसूची मा छन् । कोरोना भाइरसका कारण थलिएका उद्योग, व्यवसाय, पर्यटन , शिक्षा क्षेत्र अझै राम्ररी व्युतिन सकेका छैनन् ।
समयमै विद्युत भुक्तानी नगरेको भनेर उद्योग व्यवसायका लाइन काटिन थालेका छन् । कोरोनाका कारण थला परेका उद्योगहरु विस्तारै व्युतिन लागेको बेला बैंक, कर, विद्युत लगायत क्षेत्रबाट प्रताडित भएको गुनासो उद्योगी व्यवसायी मात्र नभई आम सर्वसाधारणले समेत गर्न थालेपछि चिठ्ठी लेख्ने जमर्को गरेको हँु । अर्थमन्त्री ज्यू,
मैनहियाको सव–स्टेशन बन्ने क्रममा आवश्यक ट्रान्समिशन लाइनका लागि पूर्वाधार बनाउने क्रममा (पोल बनाउँदा) तिलोत्तमा क्षेत्रमा बन्न लागेको अस्पताल क्षेत्र हँुदै पोल गाड्न लागेको भनेर तोडफोड पनि भएछ, यस्ता कार्यले राज्यको सपना आर्थिक समृद्धीलाई बाधक पार्ने भएकाले नदोहोरियोस् भन्न चाहन्छु । त्यसै गरी भैरहवा सेजमा अझै पनि समस्या छन् । सव–स्टेशन बन्न सकेको छैन् । फुल फेजमा सेज सञ्चालनमा कहिले आउला सबैले जान्न खोजेका छन् । उता भैरहवा भन्सार कार्यालयमा पनि समस्या छ । मुख्य समस्या पार्किङ्गको हो । एकिकृत भन्सार चेक पोष्ट (आईसिपी) को काम किन सुरु हुन नसकेको होला, यहाँ बारम्बार कुरा उठ्ने गरेको छ , बिरगन्जमा बनि सक्यो, अन्यत्र सुरु भैसक्यो भैरहवामा किन बन्न सकेन । भैरहवा क्षेत्रका नेताको कुनै भूमिका नभएर पक्कै होइन जस्तो लाग्छ, शिक्षित योग्य व्यक्तिहरु यहाँबाट साँसद हुनु भयो, प्रयास धेरै भयो तर सक्नु भएन भन्नै पर्यो, अर्थमन्त्री ज्यू, ।
अहिले डाडु पनियो तपाईंकै हातमा रहेकाले यस्ता झिना–मसिना कुराका बारेमा तपाईंलाई बारम्बार कसैले पनि भन्न नपरोस् यस्तो समय कहिले आउला भन्न चाहन्छु । उता कोरोना संक्रमण न्यून हुँदै जाँदा नेपालका हरेक क्षेत्र खुल्ला भइसकेका छन् । पर्यटन क्षेत्र पनि खुल्ला भएको छ । अन्तर्राष्ट्रिय उडान पनि विस्तारै सुरु भइरहेको छ । काठमाण्डौबाट भारतको दिल्लीमा पनि उडान सुरु भइसकेको छ । तर अझै पनि सिमानाकामा उस्तै छ समस्या । नेपालको पर्यटनको ठूलो हिस्सा भारतीय पर्यटकले ओगटेका छन् ।
नाका पूर्ववत तरिकाले खोल्नु प¥यो, स्वास्थ्य सतर्कता अपनाई भारतीय पर्यटकहरु भित्रयाउनु प¥यो भन्ने माग राख्दै यस क्षेत्रका पर्यटन व्यवसायी आवद्ध संस्थाहरु दिनहुँ बेलहिया नाकामा प्रदर्शन गर्दै आएका छन्, उनिहरुको माग छ कम्तिमा ७२ घण्टाको पिसिआर रिपोर्ट भएका भारतीय पर्यटकलाई उनिहरुको आफ्नै साधनमा आएर पहिलो चरणमा सिमावर्ति जिल्लामा मात्रै भारतीय सवारी साधन लिएर घुम्न सक्ने वातावरण बनाउनु प¥यो भन्ने माग उनिहरुले राख्दै आएका छन् ।
कोरोनाकै समयमा यस क्षेत्रमा नयाँ होटलमा १ अर्ब ५० करोड भन्दा बढी लगानी थपिएको छ । ति लगायत अन्य होटल रेष्टुरेन्टको लगानी सुरक्षित हुने गरी नीति बनोस् अब । उता साना ठूला करदाताले अझै गुनासो गरिरहन्छन् कम्तिमा अझै १ वर्ष (आर्थिक वर्ष २०७८।२०७९ सम्म) बिना जरिवाना कर तिर्ने व्यबस्था होस् समाचार लेख्नु पर्यो, ‘बैंकले ब्याज किस्ता तिर्न आइज’ भन्दै धमक्याउछन् ‘समाचार लेख्नु प¥यो’ भनि आउछन्, म के गरु अथमन्त्री ज्यू !
तपाईं निर्माणाधीन गौतमबुद्ध विमानस्थलको बारेमा धेरै जानकार हुनुहुन्छ ।
छिटो सम्पन्न गर्ने वातावरण बनोस् ताकी अर्को साल २०७८ मा सिद्धार्थ उद्योग वाणिज्य संघको साधारण सभामा तपाईं सहभागी भई यसै विमानस्थलबाट विदेशमा हुने सम्मेलनमा सहभागी हुनका लागि यहीबाट सिधै उडान भर्नु हुनेछ भन्नेमा म विश्वस्त छु । बुद्धजन्मस्थल लुम्बिनीको विकास तथा गुरु योजना अनुसार बाँकी कामहरु छिटै सम्पन्न गर्ने वातावरण र सोही अनुसारको बजेट विनियोजन होस् ।
भैरहवा, लुम्बिनी, तौलिहवा मार्ग बनिरहेको छ । बिचमा पुल अलपत्र छ, त्यो कहिले बन्ला भनेर धेरैले सोधछन्, यस तर्फ पनि ध्यान दिनु प¥यो । बेथरीमा तिनाउमाथिको पुल कतिबेला भत्कने हो, यसो समय मिले हेर्नुहोला । मर्चवारले पनि त्यसै भन्ने गरेको छ, त्यता पनि विकासको फड्को जाओस ।
अर्को कुरा बुटवलमा धेरै लगानी भित्रयाउनु भएको छ । दुईवटा केबलकार बन्दैछन्, शिलन्यासको समाचार पनि पढियो, यस्तै लगानी कर्ता भैरहवा तर्फ पनि पठाउनु प¥यो, भैरहवाको काख भएर बग्ने डण्डा खोलालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आवश्यक पहल र लगानी जुटाउन अब तपाईंले केही गर्न प¥यो । किनकी तपार्इं बुटवलको मात्रै होइन सिंगो रुपन्देहीको हो भन्ने हामीले बुझेका छौं, अर्थमन्त्री ज्यू, !
इन्टरनेट, ई–मेलका कारणले चिट्ठी नलेखेको धेरै भएछ, मन्त्री ज्यू, यती लेख्दा नै हात दुख्यो । गुनासा सुझावहरु त धेरै छन् । चिठ्ठी लेख्दै गए पुरै पत्रिकाको पाना भरिएलान् । अन्तमा आफ्नो पुरानो निर्वाचन क्षेत्र पाल्पा जिल्लालाई नभुल्नु होला । बुटवल तानसेन बाटो राम्रो कहिले होला धेरैले सोध्ने गर्छन् । म पनि बाटो राम्रो भए भैरहवाबाट तानसेन एक घण्टामै पुग्न सकिन्छ भन्दै कहिले घरबाटै आइजाई गर्न पाइएला भनेर कुरेर बसिरहेको छु ।
अन्तमा आउने बजेटमा आफ्नो क्षेत्रमा मात्र नभई भैरहवा लगायत वरपरका क्षेत्रलाई पनि प्राथमिकतामा पारिदिनुहोला । यो पटकको तपाईंको रुपन्देही बसाई राम्रो भयो होला र अर्को पटक तपाईं रुपन्देही आउँदा थाहा पाए परिचयका लागि विमानस्थलमै आउनेछु।
१९ गते लेखेको चिट्ठी २१ गते तपाईंले प्राप्त गर्नु भयो होला, पत्र पढ्दा कार्यक्रम हलमा भने व्यक्तिगत कारणले गर्दा म उपस्थित छैन चिठी पढेर प्रतिउत्तर यसै पत्रिका मार्फत अर्को अंकमा प्रकाशन गर्न पाउनेछु भन्नेमा विश्वस्त छु । तपाईंको राजनीतिक क्षेत्रमा उज्जवल भविश्यको कामना गर्दछु ।
(तानसेन नगर पालिका वडा नम्बर ६, अमरगञ्ज, हाल सिनपा वडा नम्बर ९, अञ्चलपुर)
Get real time update about this post categories directly on your device, subscribe now.