भैरहवामा लगभग ७० वर्षिय अनुभवी सङ्गठनका सस्थापक को थिए होला ? को–को यसका अध्यक्ष बने होला ? यसको इतिहास कस्तो होला ? कमसेकम पनि त्यस सङ्गठनसंग प्रत्यक्ष सम्बन्ध भएकालाई जिज्ञासा लाग्नु स्वाभाविक हुन्छ । त्यतिमात्र होइन संघसस्था र समाजप्रति रुची राख्नेहरुका निम्ति पनि सान्दर्भिक हुन् सक्छ ।
देशमा राणाकालीन यूगको पतन र २००७ सालमा स्थापित प्रजातन्त्र बामे सर्दै थियो । गोरुगाडामा समेत मालसामान ढुवानी गरेर ब्यापारले गति लिदै थियो । हालको बेथरीमा प्रशासन प्रमुखको अड्डा थियो, माल कार्यालय पनि बेथरीमा नै थियो, बेथरी सदरमुकाम थियो । भैरहवाको मालटोल जहाँ हाल नबिल बैंक रहेको छ,त्यहाँ बजारअड्रडा अर्थात् भन्सार कार्य हुन्थ्यो । भैरहवा र भैरहवा नजिकका सामान बाहेक बुटवल हुँदै पहाडी भेग लगायत अन्यत्र जाने सामानको जाँच बुटवलको बजार अड्डअबाट गरिन्थ्यो । त्यस समय चिप्पू प्रथा थियो । एक पुराना अनुभवी भन्सार एजेन्ट बताउछन्र ।
भूपी शेरचनको कवितामा भने जस्तै तातो हावाको भैरहवामा व्यापारको गर्मी पनि बढ्दै थियो । उद्योग भन्दा व्यापार बढी संचालनमा थियो । खाद्यन बाहेक दैनिकी उपभोग्य सामग्री, लत्ता कपडा, निर्माण सामाग्रीका काटी किल्ला पनि आयात हुन्थ्यो । छिमेकी गाउँ गाउँबाट गल्ला आउथ्यो । दाङबाट तोरी आउथ्यो ।
भैरहवामा २०१० सालमा गौरीशंकर अग्रवालको नामबाट गौरी आयल मिल स्थापना भएको थियो । २०१० पछि लगतै सुब्बा हितमान शेरचनको लगभग ८ बिघा क्षेत्रफलमा शेरचन राइस मील संचालन थियो । अन्य उद्योग सञ्चालन हुने क्रम बढ्दै थियो ।
भारत, नौतनवा, बेथरी र भैरहवाका ब्यापारीले बुटवल भैरहवालाई केन्द्र बनाई भारत तर्फ सामान निर्यात पनि गर्दथे । भैरहवाको नाका हुँदै धान, तोरी , आलस , पहाडको शुद्ध घ्यू , जडिबुटी, काठ, ढुंगा आदी ठूलो मात्रामा भारत निर्यात हुन्थ्यो । आज भने जडिबुटी,काठ र ढुंगा बाहेक अन्य सामान ठूलो मात्रामा भारतबाट आयात गर्नु परेको छ । यसरी भैरहवा क्षेत्रमा अर्थ चलायमान थियो ।
भैरहवा व्यापार मण्डलको स्थापना
मंगल सेन शर्मा नामका एक व्यक्ति बर्माबाट पंजाब हुँदै नेपाल आएका थिए । शायद उनका पुस्ता नेपालबाट नै बर्मा गएका थिए । त्यस बखत वर्मामा बुद्ध शिक्षा विपश्यनाको राम्रो प्रचारप्रसार थियो, त्यसैले बुद्ध जन्मस्थल लुम्बिनी नजिक शर्माले खेती लिएको हुनु पर्छ भन्ने अनुमान पनि लगाउन सकिन्छ । उनि ब्राह्मण समुदायका थिए, पेसाले भने ठेकेदार थिए । उनको राइसमिल पनि थियो । तत्कालिन भैरहवाको डाकखाना भवनको निर्माण उनैले गरेको सुनिन्छ । बेथरी इन्चावलमा उनको मौजा थियो । व्यापारका लागि र आफन्त भेटघाटका लागि भारतको पन्जाब जाने आउने गर्थे । एक आफन्त बताउछन् ।
तिनै मंगलसेन शर्माले २०११ सालमा केशरदेव बेरिवाल , नथमल अग्रवाल, गिरधारीलाल मित्तल लगायतलाई संगठित गरी भैरहवा व्यापार मण्डल नामको सङ्गठन स्थापना गरे । भैरहवा व्यापार मण्डलले ब्यापारीलाई एकताको सुत्रमा गुन्ने काम गर्यो ।
भैरहवा व्यापार मण्डलको सस्थापक अध्यक्ष मङ्गल सेन शर्माले विक्रम संवत २०११ देखि २०१३ सम्म नेतृत्व लिए, त्यस पछि माडवारी समुदायबाट केशरदेव बेरिवाल २०१३ दखि २०१५ सम्म दोस्रो अध्यक्ष बने भने भैरहवाका प्रथम ब्यापारी समाजसेवी नथमल अग्रवाल २०१५ सालदेखि २०१७ सालसम्म तेस्रो अध्यक्ष बने । २०१७ देखि २०२४ सम्म गिरधारीलाल मित्तल भैरहवा व्यापार मण्डलको अध्यक्ष भए ।
२०१७ सालमा प्रजातन्त्र खोसियो । राजा महेन्द्रले राज्य सत्ता लिए । देशको वातावारण पनि फरक हुन पुग्यो । हिमाली र पहाडी भेगबाट तराईमा व्यापारका निम्ति बसाई सर्नेको संख्या पनि बढ्यो । भैरहवा व्यापार मण्डलमा व्यवसायीहरु सङ्गठित पनि हुन् थाले । २०२४ सालमा कृष्णमान शेरचन अध्यक्ष बने । उनले २०२४ देखि २०२७ सम्म नेतृत्व लिए ।
भैरहवाको नाम सिद्धार्थनगर नगर पालिकामा परिवर्तन भएसंगै भैरहवा व्यापार मण्डल पनि सिद्धार्थनगर उद्योग वाणिज्य संघमा परिणत भयो । यसरी सिद्धार्थ उद्योग वाणिज्य संघको २०२७ देखि २०३८ सम्म रुद्र विलास तुलाचन ११ वर्ष अध्यक्ष भए । २०३८ देखि २०४२ सम्म मथुराप्रसाद वजिमयले नेर्तित्व लिए पछि पुनः २०४२ देखि २०४७ सम्म पुनः रुद्र विलास तुलाचन नै अध्यक्षमा आए ।
२०११ देखि २०७७ सम्म ६७ वर्षको संघको यात्रामा यिनी मात्र १५ वर्ष अध्यक्ष बने । सिद्धार्थ उद्योग वाणिज्य संघको इतिहासमा सबै भन्दा बढी कार्यकाल र सबै भन्दा बढी लामो समय अध्यक्ष बन्ने उद्यमी रुद्र विलास तुलाचन हुन् पुगेका छन् ।
देशमा २०४६/०४७ को राजनैतिक परिवर्तनसंगै संघका अवसर र चुनौती पनि थपिदै गए । त्यसपछि क्रमशः सुधा नारायण मानन्धरले २०४७ देखि २०५१ सम्म, मोहन सिंह विजुकुछेले र २०५१ देखि २०५२ सम्म संघको अगुवाई गरे ।
२०५२ सालदेखि २०६२ सम्मको माओबादी पाटीको भूमिगत गतिविधीले सबै भन्दा बढी निजी क्षेत्र प्रभावित बन्न पुग्यो । यसै बिचमा २०५२ देखि २०५४ सम्म माधवलाल श्रेष्ठ, २०५४ देखि २०५६ सम्म निधानचन्द्र श्रेष्ठ, २०५६ देखि २०५८ सम्म ध्रुव कुमार श्रेष्ठ, २०५८ देखि २०६० सम्म ओमकार गौचन र २०६० देखि २०६२ सम्म रामशंकर कान्दु अध्यक्ष बने । कान्दु संघमा ३ कार्यकालसम्म नियमित महासचिव बनेका थिए ।
२०६२/०६३ को गणतान्त्रिक आन्दोलनका बीच कृष्ण प्रसाद शर्माले नेतृत्व लिए । नेपालको इतिहासमा नयाँ यूगको थालनी भएको थियो । त्यसपछि २०६४ देखि २०६८ सम्म २ कार्यकाल महेन्द्र कुमार श्रेष्ठ र त्यस पछि २०७१ सम्म बिष्णु प्रसाद शर्माले संघको नेतृत्व गरे । २०७१ देखि २०७४ सम्म राम कुमार शर्मा र २०७४ देखि २०७७ सम्म कूल प्रसाद न्यौपानेले सफलतापूर्वक नेतृत्वको जिम्वेवारी बहन गरेका छन् । २०६९ देखि २०७७ सम्म ३ वर्षे कार्यकाल रहेको थियो । २०७७ देखिको कार्यकालका निम्ति भिष्म प्रसाद न्यौपाने निर्विरोध अध्यक्ष बनेका छन् । २० बर्षमा यस पटक भिष्म निर्विरोध नेतृत्व आएका छन् ।
संघले जे ग-यो
विभिन्न राजनैतिक , सामाजिक, आर्थिक परिवर्तन देखेको र भोगेको यो सङ्घ भैरहवाको पहिलो निजी क्षेत्रको संगठन हो । निजी क्षेत्र मात्र होइन सामाजिक, सास्कृतिक, साहित्यिक, लगायत अन्य क्षेत्रमा पनि यति लामो इतिहास भएको कुनै नियमित क्रियाशील संघ सस्था सङ्गठन भेटाउन सकिदैन । संघका केही कार्यले यसको इतिहासलाई थप बुझ्ने अवसर प्रदान गरेको छ ।
यस संघले भैरहवा मात्र होइन देश भरिका निजि क्षेत्रको निम्ति छाता सङ्गठन को स्थापनाका निम्ति भूमिका खेल्यो र नेपाल उद्योग वाणिज्य महासंघको एक सस्थापक बन्यो । २०२३ सालमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भयो ।
नितीगत कार्यमा दुरदर्शी भएर सङ्घ अघि बढेको पाइन्छ । नगरपालिकाको आयश्रोतका निम्ति चुंगी कर संकलन गरिन्थ्यो । सङ्घले यसको खारेजीको निम्ति आवाज उठायो अन्तत सरकारले यसको उपयोगिता देखेन र खारेजी ग-यो ।
ट्रक सिण्डीगेटको बिरोधमा आन्दोलन ग¥यो । आन्दोलनका निम्ति बिरगंज लगायत राष्ट्रिय स्तरमै अगुवाको भूमिका खेल्यो । अन्तत यो पनि सरकारले खारेजी ग-यो । भ्याटका लागुका सन्दर्भमा १३ दिनसम्म लामो आन्दोलन ग¥यो तर सुझबुझका साथ यसको उपयोगिता र महत्व बुझे पछि यसको लागु गर्न गराउन सरकारसंग सहकार्य गरिरहेको छ ।
यस क्षेत्रका उद्योग तथा अन्तराष्ट्रिय विमानस्थल का निम्ति आवश्यक ३२ केबीएको प्रसारण लाइनको मुद्धा सङ्घले जोडदार रुपमा उठायो । फलस्वरूप मैनैयामा सब स्टेसन रहेको छ ।
भैरहवाको बिकासमा संघको भूमिका
भैरहवा अर्थात तिनाउ र रोहिणी भित्रको क्षेत्रलाई मान्न सकिन्छ भन्दा फरक नपर्ला । सिद्धार्थनगर नगरपालिका बन्नु भन्दा पहिला पक्लिहवा गाउँ विकास समिति थियो, भैरहवामा । पक्लिहवामा ब्रिटिश क्याम्प थियो । शान्तिनगरमा विमानस्थल थियो ।
४० वर्ष अघि नै तत्कालिन समयमा भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सङ्घले निर्णय गरी माग गरेको थियो । पछिल्लो समय विमानस्थलका निम्ति ५ लाख बजेट विनियोजन गरि सांकेतिक रुपमा दवाब सिर्जना ग-यो । उक्त रकम लुम्बिनी गेट निर्माणमा सहयोग ग-यो सङ्घले ।
सङ्घको लामो प्रयाशले भैरहवामा यातायात इकाई कार्यालयको स्थापना भयो । सङ्घले १ वर्ष मासिक १८ हजारका दरले घर बहाल पनि बुझायो । बेलहियामा सेज संचालनका निम्ति अविरल मुद्दा उठाइरह्यो । हाल सेज पनि सञ्चालनमा आएको छ । सङ्घले यस्ता अनेकौ कार्य गरेको बुझ्न सकिन्छ ।
यस सङ्घमा कार्य समितिमा रहेका रामकृष्ण ताम्राकार देशको मन्त्री बने । इस्तियाक अहमद खान र आदित्य नारायण कसौधन संविधानसभाको सदस्य बनेका छन् । सन्तोष पाण्डेय प्रदेश सभा सदस्य छन् ।
यस सङ्घको सिफारिशमा प्रदीप कुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष बनेका छन । कृष्णमान शेरचन , ध्रुव कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, राजेश अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ सङ्घका केन्द्रीय सदस्य बनेका छन् । साथै कृष्ण प्रसाद शर्मा महासंघ को लुम्बिनी प्रदेश अध्यक्ष साथै २०६२ सालबाट नियमित केन्द्रीय सदस्य रहेका छन् ।
भैरहवामा पहिलो मेला महोत्सव आयोजना गरेक सङ्घले अमेरिकन दुताबासको सहकार्यमा अमेरिकन लाइब्रेरी पनि सञ्चालन गरेको छ ।
कुनै बेला झोलामा कार्यालय हुने भैरहवा व्यापार मण्डल अहिले आफ्नो आधुनिक भवनका साथ ब्यापारी उद्यमी मात्र होइन रुपन्देही बासीका बीच आफ्नो गौरवमय इतिहास बोकेर गर्विलो वर्तमानका साथ अर्थतन्त्र थप चलायमान बनाउन कम्मर कसेर अघि बढ्ने तरखरमा छ, यसको नेर्तित्व भिष्म प्रसाद न्यौपाने र उनका सहयोगीहरुले गर्ने छन ।
लेखक पत्रकार महासंघ , रुपन्देहीमा पनि आबद्ध छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.