अर्जुन कुर्मी (३०) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । युवा माझ निकै लोकप्रिय कुर्मी वातावरण, संरक्षण, युवा विकास साथै राजनीतिमा पनि चासो राख्छन् । बिबिएससम्म अध्ययन गरेका कुर्मी ग्रिन युथ नेपाल, लुम्बिनीका अध्यक्ष, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धका संस्थापक अध्यक्ष, अन्तराष्ट्रिय युवा समाज (इन्टरनेशनल युथ सोसाइटी)का सद्भावना दुत समेत हुन् । उनी नेकपा एमालेमा आवद्ध छन् । चरा संरक्षण लगायतका काममा लामो अनुभव लिएका युवा अभियन्ता कुर्मीसँग न्यूज ओके साप्ताहिकका लागि मनोरञ्जन शर्माले गरेको कुराकानी यहाँ प्रस्तुत छः
- कोरोना संक्रमण जोखिम अझै कायमै छ, के भन्नु हुन्छ, निषेधाज्ञाको बिरोध गर्दा प्रहरी नियन्त्रणमा समेत हुनु भयो ?
कोरोना महामारी ले सबैलाई आर्थिक र मानसिक रुपले कमजोर बनाएको छ । लकडाउन वा निषेधाज्ञाको पालना गर्दा नि जनताले आफ्नो ज्यान गुमाएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगायो तर जनतालाई रोजिरोटीको बिकल्प दिन सकेन । गाउँमा जनताले काम गरेर खाने अवस्था रहेन । जनता अन्यायमा परे । काम गर्न पाएनन् । जनता अप्ठयारोमा परे पछि निषेधाज्ञाको विरोधमा हामी उत्रियौं, प्रहरी नियन्त्रणमा पनि परियो ।
- राजनैतिक दलमा पनि आवद्ध हुनुहुन्छ, लुम्बिनी क्षेत्रमा हरेक कुरामा अति राजनीति हुन्छ भनिन्छ, भने जस्तै हो ?
यहाँ विना भिजन भएको पंचायतकालका काम नलाग्ने व्यक्तिहरु राजनीति मा छन् । जसको कारणले लुम्बिनीको जुन प्रकारले सामाजिक, आर्थिक रुपमा विकास हुनु पर्ने थियो त्यो हुन सकेको छैन । जनताले जस जसलाई जितायो, ऊ त्यो कुर्सीमा पुगे पछि सबै बिर्सियो । अहिले सबै आफ्नो पालोको लागि मात्र राजनीति गरि रहेछन् हाम्रो पार्टी (नेकपा एमाले) यहाँबाट हारे पनि लुम्बिनीको लागि धेरै विकासका योजनाहरुल्याएको छ र हामी जनताको सेवामा लागेका छौं ।
- तपाईं लुम्बिनी क्षेत्रका युवा माझ लोकप्रिय हुनुहुन्छ, युवाहरु परिवर्तन भएका छन् त । कसरी परिवर्तन गर्न सकिन्छ होला ?
लुम्बिनाका युवाहरु धेरै सचेत भएका छन् र अब युवाहरु नै आगाडी आउने छन् । युवाहरु राजनीतिमा सकृय रुपमा नआएको कारणले हामी युवाहरु विना भिजनवाला नेताहरुको राजनीतिक सिकार हुन पुग्याैं कसैले पनि युवाहरुको विकासको लागि कुनै प्रकारका योजनाहरु ल्याएको छैन । हामी युवाहरु यहाँको राजनीतिबाट पिडित छांै र अब आउने चुनावमा हामी युवाहरु लाई नै आगाडी ल्याउने छौं ।
- बुद्ध जन्मस्थल लुम्बिनी र वरपरको क्षेत्रको विकास राम्ररी अझै हुन सकेको छैन, के गर्नु पर्ला, अब ?
हाहाहा…. बुध्द जन्म भूमि खाली लुम्बिनी विकास कोषको कम्पाउण्ड भित्र सिमित रहुन्जेल लुम्बिनीको विकास हुदैन, बाटो नाली बनाएर विकास भयो भन्नेहरु मुर्ख हुन् । जबसम्म यहाँको जनताको आर्थिक विकास हुँदैन तबसम्म लुम्बिनीको विकास हुदैन् । भगवान बुद्धको नाममा अरु देशले कति प्रगति गरि सके तर हामी लुम्बिनी बासीहरुलाई वुद्धसँग जोड्ने योजनाहरु केही छैन । स्थानीय नगरपालिका को केही चासो नै छैन, जति भने पनि आफ्नो शक्ती बुझिरहेको छैनन् तर हामी युवाहरु यो कुरा बुझेका छौं र युवा शक्तीले यहाँको आर्थिक विकासको ऐजेण्डाहरु अगाडी ल्याउने छौं ।
- तपाईं लुम्बिनी ग्रिन युथ संस्थामा हुनुहुन्छ, के काम गर्दैछ अहिले असहज समयमा…? अरु बेला के काम गर्छ ?
हामी प्रकृति संरक्षणमा काम गर्छांै । लुम्बिनीका चरा, ताल–तलैया, नदिनाला, वनजंगल, जंगली जनावरको संरक्षणको लागि समुदाय र विद्यालय स्तरको काम भइरहेको छ । ३० वटा विद्यालयमा इको क्लब स्थापना गरेर हामी बालबलिकालाई वातावरण मैत्री बनाउने अभियान चलाई रहेका छौं । भगवान् बुद्ध कालको चरा सारस जुन लुम्बिनीको नगर पंछी हो त्यसको बास स्थानको संरक्षणको काम भईरहेको छ । सिमसार क्षेत्र संरक्षणमा जोड दिएका छौं । वृक्षारोपण अभियान जारी छ लुम्बिनीलाई हराभरा, सफासुग्घर बनाउने हाम्रो अभियान हो
- लुम्बिनी क्षेत्रमा सारस चराको अवस्था के छ अहिले ? तपाईंको संस्था त्यसको संरक्षणमा पनि लागेको थियो ?
सारसको अवस्था अहिले ठीक छ । चार सयको हाराहरीमा संख्या पुगेको छ । यिनीहरुको बास स्थानमा अतिक्रमण बढि रहेको कारण चिन्ताको विषय छ ।
मानव बस्ती विकास भई रहेछ, सिमसार मासिरहेका छन् । यो गम्भिर कुरा हो । तर हामी संगसंगै सारस संरक्षणमा नगरपालिकाले चासो देखाएको छ, मेयर ज्यूको व्यक्तीगत चासो छ सिमसार संरक्षण भइ रहेछ । विद्युतको कारणले वर्षेनी १०–१२ सारस मरिरहे छन् यो पनि चिन्ताको कुरा हो हामी यसमा पनि विधुत प्रधिकरणसँग कुरा गरिरहे छौं ।
- लुम्बिनी साँस्कृतिक नगरपालिकाले सम्पादन गरेका कामलाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
लुम्बिनी नगर पालिकाको काम बिना योजनाको भइ रहेको छ । खाली बाटोको काम मात्र भई रहेछ । त्यसको पनि योजना छैन । मूल बाटाहरु त्यस्तै खाल्टो छन् , गाउँमा पनि सजिलो हुने पिसिसि ढलानवाला बाटो छ, जसले समस्या ल्याउछ नाली न भए बाटो पानी पर्दा अहिले घरघरमा पानी पसि रहेछ । साघुँरा बाटोले पछि समस्या ल्याउने हो । मानव विकासको लागि केही योजना छैन । वडाअध्यक्षहरु १००–२०० भोटको लागि जनताको जिवनसंग खेली रहेकाछन् । जन प्रतिनिधि नामको मात्र भए । लुम्बिनी साँस्कृतिक नगरपालिकाले ४ वर्षमा आफू बस्ने भवन त बनाउन नसकेर भाडामा बसेको छ, अरु विकाशको के कुरा गर्नु ।
बजेट बाँडफाँड बहेक अरु कुनै कुरामा ज्ञान छैन । गाउँपालिकासंग नगरपालिकाको तुलना गर्ने जनप्रतिनिधिहरुसंग के आशा गर्न सकिन्छ । कृषि प्रधान नगरपालिका हो कृषिमा त्यही पंचायतकालवाला योजनाहरु प्रत्येक वर्ष चलि रहेछ । भगवान् बद्धको नगरी हो लुम्बिनीमा बुद्ध अलपत्र छन् । अरु नगरपालिकाले करोडौं लगानी बुध्दको नाममा गर्दै पर्यटक ल्याउने कोशिस गरि रहेकाछन् । यहाँका जन प्रतिनीधि मायादेवी मन्दिर छिर्न डराउ छन् कसरी हुन्छ विकास ? पर्यटन विकासको योजन केही छैन । लुम्बिनी विकास कोष आफ्नै तालमा चल्छ नगरपालिकालाई चासो छैन् । साँसद विधायकहरुको खोजी भई रहेको छ । जिते पछि देखा परेका छैनन् । हामी हारे पनि हाम्रा नेता खिमलाल भट्टराई जनताको सेवामा लगेका छन् । जबसम्मा यहाँ पंचायतकाल वाल नेता जित छन् तबसम्म लुम्बिनीको विकास हुँदैन र हामी सबै पंचायती नेताहरुलाई अवकास दिलाए रै छाड छौं ।
- तपाईंको राजनैतिक लक्ष्य के हो ?
मेरो राजनीतिक लक्ष्य लुम्बिनीका युवाहरुको आर्थिक, सामाजिक विकास, सफलता हो । यवाहरुको समृद्धी, सफलता मलाई कुर्सीको लोभ छैन । यहाँको युवाहरुको चाहना अनुसार चुनावमा भाग लिने हो युवाहरु जुन पदमा रोजछन् त्यस पदको लागि चुनाव लड्छु जसको तयारी १३ वर्षदेखि गरि रहेको छु ।
- अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा यहि भन्छु कि भोको पेट विकास र शान्ति हुँदैन । ‘मान्छे जंगलमा पनि बाँचे कै हुन् विना घर, विना बाटा,े बिना पूर्वाधारको’ । तर भोको पेट महलमा नि बाच्न सकिन्न । जनताको पिडा बुझ्न जरुरी छ । विकास होस् या नहोस् तर कोई भोको बस्न नपरोस्, कोई युवा खान नपाई र रोजगार नहुँदा आत्महत्या नगरोस् र कोई किसान कर्जाका कारण न डुबुन् । जय युवा, जय किसान ।
Get real time update about this post categories directly on your device, subscribe now.