रक्षाबन्धनको समाप्तिसँगै मयुरपंखधारी हातमा बाँसुरी लिएका एक सुन्दर बालकको सम्झना आउनु हिन्दू धर्मालम्बीहरुका लागि स्वभाविक कुरा हो । रक्षाबन्धन पछिको पहिलो अष्टमीलाई श्रीकृष्णको जन्म भएको समयको रुपमा मान्ने र विविध कार्यक्रमका साथ धुमधामसँग जन्माष्टमी मनाउने चलन पुरानै हो । यसरी श्रीकृष्ण जस्तो एक महान सर्वश्रेष्ठ देवताको शुभजन्मको अवसरमा उनलाई विविध तरिकाले सम्झनु राम्रो पक्ष हो ।
श्रद्धाका साथ प्रतिदिन कृष्णजीको पूजा आराधना, भजन किर्तन गर्ने गरिन्छ, उनका मन्दिर अगाडि शिर झुकाइन्छ, घरमा उनको तस्बिर झुण्डाइन्छ, वर्षेनि श्रद्धाका साथ कृष्णजीकै चर्चा गर्दै धुमधामसँग जन्माष्टमी पर्व मनाइन्छ तर पनि मानवको व्यक्तिगत जीवन तथा समाजको वातावरणमा सुखद परिवर्तन आउन नसकेको कटु सत्य हामी सामु स्पष्ट छ । यहाँ श्रीकृष्णका अनेकौ मन्दिरहरु छन्, अनगिन्ती भक्तहरु छन्, श्रद्धालुहरुको घरघरमा उनको चित्र देखिन्छ तर श्रीकृष्णको त्यो दिव्यताको छाप मानव मनमा किन अंकित हुन सकेको छैन ? उनलाई मनमोहन मान्नेहरुले आफ्नो जीवन मनमोहक बनाउने प्रेरणा किन लिन सकिरहेका छैनन् ?
कृष्ण जस्तो सर्वश्रेष्ठ देवताको जीवनको प्रभावले हाम्रो जीवनमा किन सुखद परिवर्तन ल्याउन सकिरहेको छैन । आज हामी सबैले यस सम्बन्धमा सोच्नु पर्ने हुन्छ । पक्कै पनि श्रीकृष्णको वास्तविक जीवन चरित्रदेखि हामी टाढा छौं । श्रीकृष्ण सम्बन्धी ज्ञानको कमी छ । साथै उनी सम्बन्धी समाजमा फैलिएका भ्रान्तिहरुमा हामी पनि भ्रमित भैरहेका छांै । यदि यसो होइन भने श्रीकृष्ण जस्तो महान् देवताको जीवनीबाट हामीले पनि आफ्नो जीवन महान बनाउने प्रेरणा र शक्ति प्राप्त गर्नु पर्ने थियो । उनमा भएका दिव्यगुणहरु, पूर्ण पबित्र तथा उज्ज्वल जीवनलाई यथार्थरुपमा बुझ्न नसक्नुका कारणले नै आज मानव मन मलिन छ, आत्मबल क्षीण छ अनि समाजमा धर्मको भावनाहीन छ साथै पवित्रताको संकल्प पनि क्षिण छ ।
श्रीकृष्णलाई एक राजनैतिक नेता, अजेय योद्धा, एक उच्च र्धािर्मक योगरुढ, महापुरुष, कुशल राजदुत, प्रतिभाशाली सारथि, निपूर्ण बासुरी बादक तथा एक सुन्दर मनमोहक बालकको रुपमा मान्ने तथा गायन, पूजन गर्ने गरिन्छ । परन्तु प्राचिन ग्रन्थहरुमा श्रीकृष्णका महानताहरुलाई स्पष्ट पार्नका लागि उल्लेख गरिएका वृत्तान्तहरु त झनै यस सम्बन्धमा बाधक भएको जस्तो लाग्दछ । जस्तो कि उनलाई बाल्यावस्थामा मख्खन चोरेको, गोपिनीहरुसँगको व्यवहार आदिको जुन वृत्तान्तको उल्लेख छ यसले श्रीकृष्णलाई मोहन या मनमोहन चित्रित गनुको साथसाथै एक चञ्चल, अनुशासनहीन, इन्द्रीय निग्रहको अभाव, चोर वृत्तिको अस्तित्वलाई प्रर्दशित गरेको छ । स्रष्टाहरुले आफ्नो कृतिमा आजको यो कलियुगी वातावरणका बच्चाहरुको स्वभावलाई प्रकट गरि श्रीकृष्णलाई त्यस्तै चरित्रको बनाइदिएको पाइन्छ । वास्तवमा श्रीकृष्ण सबै आयुमा विलक्षण प्रतिभाका थिए । उनको यो दिव्य कर्तव्यलाई हेर्ने जो कसैले पनि सुखको अनुभुति गर्दथ्यो, उनको अनौठो प्रकारको छविले सबैलाई आकर्षित गर्दथ्यो भन्ने सत्यतालाई सष्ट्राहरुको कलमले समेट्न नभ्याएको जस्तो लाग्दछ । निःशन्देह श्रीकृष्णमा दिव्यता तथा योगीहरुले अभ्यास गर्ने गरेका नियमसंयमहरु जन्मदै विद्यमान थिए ।
यसरी नै हामी देख्दछौ अनेक ग्रन्थमा अर्जुनसँग उनको जुन सखाभाव दर्शाइएको छ त्यसको उल्लेख गर्ने क्रममा अतीत कालका लेखकहरुले उनलाई अर्जुनसँग मदिरा सेवन गरेको समेत उल्लेख गरेका छन् । अनि द्रौपदी हुँदाहुँदै आफ्नी बैनी सुभद्राको विवाह अर्जुनसँग गरिदिएको कुरा उल्लेख छ । यति मात्र हैन द्वारिकामा गई एक सन्यासी भेष धारण गरि मन्दिरमा जादै गरेकी सुभद्रालाई अपहरण गर्न तथा उनको रक्षा गर्नेहरुलाई मार्नसमेत सल्लाह दिएको पनि उल्लेख छ । वास्तवमा उनको बारेमा यस्तो सोच्नुसम्म पनि महापाप हो किनकी उनको उज्ज्वल चरित्रकै कारण त उनलाई १६ कला सम्पूर्ण तथा पुरुषोत्तम भनिएको छ ।
ग्रन्थकारहरुले श्रीकृष्णको वाद्यविद्या तथा अथवा बाँसुरी बादनको कलाको तथा उनको रुप लावण्यको बारेमा कुनै संकोचै नमानी यस्तोसम्म उल्लेख गरेका छन् की श्रीकृष्णको मुरलीको तान सुनेर गोपपत्नीहरु साथै यज्ञपत्नीहरु घर परिवार छोडेर उनीसँग रास गर्न आउथें । अनि उनिसँग उनिहरुको स्वच्छन्द व्यवहार हुन्थ्यो । त्यस्तै श्रीकृष्णका १६ हजार एक सय आठ रानीहरु थिए जसबाट डेढ लाख भन्दा धेरै बच्चाहरु पैदा भए । यसमा गहिरिएर सोचौं त श्रीकृष्णमाथि यस्तो दोषारोपण गर्नु के आफ्नो दोषमाथि छुट्टि पाउनुको यत्न त होइन ? श्रीकृष्णलाई मुरली मनोहर तथा भगवान सिद्ध गर्दा गर्दै उनमा नारी अपहरणको चेष्टा, कुमारीहरुको चीरहरणको उल्टो (सुल्टो उल्लेख केवल लेखकको आफ्नो मनको उच्छृङखलता नै हो भन्दा अतिशयोक्ति नहोला । फेरि श्रीकृष्णको चतुराइको प्रदर्शन गर्ने क्रममा उनलाई अनैतिकताको रुप दिइएको छ ।
उदाहरणका लागि उनलाई जरासन्धलाई मार्नको लागि ब्राह्मण भेष धारण गरेर स्वयं किल्लामा प्रवेश गरेको देखाइएको छ । युद्धको अन्तिम दिनमा भीमलाई दुर्र्याेधनको जंघामाथि गधा प्रहार गर्ने अनुमति दिएको कुरा व्यक्त गरिएको छ ।
यसरी नै कर्णलाई मार्नका लागि पनि उनीहरुले अर्जुनलाई तत्कालिन युद्ध नीति विरुद्ध परामर्श दिए । ग्रन्थहरुमा यस्तै यस्तै वर्णन भेटिन्छ । श्रीकृष्णलाई एकातिर योगी राज भनिएको छ भने अर्कोतिर योग शिक्षा दिने गरेको, लडाईका निम्ति अर्जुनलाई उक्साउँदै गरेको पनि देखाइएको छ । साथै स्वयंले हजार रानीहरु राखेको पनि बताइएको छ । यसबाट के स्पष्ट बुझिन्छ भने आज मानवमा श्रीकृष्णको वास्तविक जीवन गाथाको ज्ञान छैन । वास्तवमा श्रीकृष्ण आफ्नो पुर्वजन्ममा मनोविकारहरु विरुद्धको युद्धकालमा सर्वाधिक दक्ष थिए । उनी आफ्नो शरिर रुपी रथको कर्म इन्द्रीयरुपी घोडाको सञ्चालनको दृष्टिले कुशल सारथी थिए । उनी विश्व शान्तिका सफल दुत थिए, योगीराज थिए तथा बाल सुलभ सरलताका मुर्ति थिए । साथै ज्ञान मुरलीवादनमा निपूर्ण, आत्मारुपी गोपीहरुलाई अतिइन्द्रीय सुख दिन पोख्त थिए जसमा विषय वासनाको कुनै नामो निशान थिएन ।
आजकल अनेकौ व्यक्तिहरुको जन्मजयन्ती मनाउने चलन छ । जन्म जयन्ती उसैको मनाउने गरिन्छ जस्ले आफ्नो जीवनमा देश, धर्म अनि समाजका निम्ति केही महान कार्य गरेर गएको हुन्छ । चाहे त्यो कुनै महापुरुष होस्, राजनेता होस् , धार्मिक नेता या कुनै समाजसेवी होस् । कोही व्यक्ति राजनितिक क्षेत्रमा प्रभावशाली हुन्छन् भने कोही धार्मिक क्षेत्रमा तर कोही यस्तो व्यक्ति हँुदैन जो समाजको सम्पूर्ण क्षेत्रमा पूर्णरुपले प्रभावशाली वा पराकाष्ठा प्राप्त गरेको होस्, जो सम्पूर्ण निर्विकारी वा स्रोह कला सम्पूर्ण होस् । यस्तो कोही पनि व्यक्ति हुन सक्दैन । तर श्रीकृष्ण त प्रभावशाली या गायन योग्य मात्र नभै पुजनयोग्य पनि थिए । उनको शारीरिक आरोग्यता, सुन्दरता तथा आत्मिक बल अनि पवित्रता तथा दिव्य गुणको अत्यन्त पराकाष्ठा थियो । उनी शारीरिक तथा आत्मिक दुबै दृष्टिकोणले सुन्दर, आर्कषण तथा प्रभावशाली थिए ।
आज कुनै व्यक्ति पवित्र हुन्छ, सुन्दर हुन्छ भने पनि त्यहाँ त्यसको अवस्था सम्पूर्ण हुँदैन । जस्को जन्म पनि पवित्रतापूर्ण छ , सर्वाङ्ग सुन्दर तन, पवित्रतापूर्ण सौन्दर्य, निर्मल तथा स्वच्छ मन जहा विषय विकारको कुनै आश छैन, जसप्रति आज विश्वका समस्त मानवहरुको प्यार झल्किन्छ, त्यो आकर्षणमूर्त व्यक्तित्व श्रीकृष्णमा थियो । अब प्रश्न उठ्छ कि श्रीकृष्ण जन्मदै महान कसरी बने ? आज हामी देख्दछौं कुनै व्यक्ति महान पनि हुन्छ भने जन्मेर केही राम्रो कर्म गर्दछ भने त्यसको पछि गएर मात्र गायन र पूजन हुन्छ तर जसको गायन, पूजन, सौन्दर्यता, महानता जन्मदैदेखि छ भने अवश्य पनि उसले आफ्नो पूर्वजन्ममा कुनै महान कर्म या पुरुषार्थ गरेको हुनुपर्दछ । हामी यदि श्रीकृष्णप्रति प्यार छ भनी दर्शाउन खोज्दछौ भने केवल झाँकी बनाउनु, उनलाई झुलामा झलाउनु,उनको भजन किर्तन गर्नु यतिले मात्र पुग्दैन । जन्माष्टमी मनाउनुको सार्थकता त यसैमा छ जब हामी उनका दिव्य पुरुषार्थ तथा दिव्य कर्मको अनुसरण गर्दछौं । उनी समान बन्ने प्रेरणा प्राप्त गरी त्यसै अनुरुप आफ्नो जीवनमा उतार्न प्रयत्न गर्दछौं । त्यसैले हामी आफू भित्र झाँकेर हेरांै के हाम्रो जीवनमा ति गुणहरु छन् ? प्रतिवर्ष झाँकी त बनायौं हाम्रा जीवनमा कति महानता आयो त ? श्रीकृष्णजीको जन्मोत्सव मनाउने मात्र हैन अब हामी स्वयंमा नयाँ संस्कार भरी आफ्नो नयाँ जीवनको सुरुवात गरौं । पवित्रतापूर्ण जीवन व्यतित गरी नयाँ जीवन विधिको सुत्रलाई अपनाउने दृढ संकल्प गराैं ।
पुरानो स्वभाव, संस्कार, वैर विरोध, ईष्र्या, द्वेष, छलकपट, स्वार्थ आदी विकृतिहरुलाई त्यागी एकजुट भई महान बन्ने पुरुषार्थ तिर लागौ । यति सुन्दर रचनाका रचयिता सर्वश्रेष्ठ परमपिता परमात्मालाई पनि यथार्थ रुपमा चिन्ने प्रयास गरौं । आज खाँचो छ नवचेतनाको, आफ्नो जविनको, नवनिर्माणको, आफ्नो प्राणमा नयाँ प्राणको, आफ्नो घर गृहस्थमा नयाँ विधिविधानको, नयाँ एवं उज्ज्ल विचारको, जीवनमा नयाँ उमंग एवं नयाँ तरङ्ग उत्पन्न गर्ने नयाँ तानको । तब नै यहा नयाँ जमिन, नयाँ मानव बन्ने छन् । अनि मात्र हामी सबैको चाहना अनुरुप नयाँ समाज बन्ने छ । यहि नयाँ समाजमा नै श्रीकृष्णको शुभ एवं सुखद आगमन हुनेछ र उनको स्वर्गिक शासन हुनेछ । श्रीकृष्णको शुभ जन्मोत्सवको महान् उपलक्ष्यमा यहाँहरुलाई यहि शुभकामना छ कि यहाँको जीवन यसरी श्रीकृष्णको जीवन जस्तै धन्य (धन्य बनोस् । यहि नै हुनेछ उनको सजीव झाँकी । यसका निम्ति स्वयं ज्ञानयोगरुपी चन्दनको तिलक लगाआंै । यस्तै शुद्व पुरुषार्थ, श्रेष्ठ कर्म गर्ने शुभ प्रेरणा यहाँहरुलाई जन्माष्टमी पर्वले दिन सकोस् । यहि हामी सबैका लागि नयाँ समाजका लागि सोपान सिद्घ हुनेछ । ॐ शान्ति
(लेखक ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालको क्षेत्रीय प्रमुखको रुपमा दिव्यशान्ति रिट्रिट सेन्टर भैरहवामा सेवारत हुनुहुन्छ ।)
Get real time update about this post categories directly on your device, subscribe now.