थारुहरुले माघ महिनामा मनाउने मुख्य पर्व माघी हो । माघीलाई थारुहरुले उत्सवका रुपमा लिएका हुन्छन् । यसै दिन उनिहरुको नयाँ वर्ष पनि प्रारम्भ हुने हुनाले अझ विशेष रहेको हुन्छ । माघ १ गते अर्थात् माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरुसँगै सामूहिक रुपमा नदीमा नुहाउन जाने प्रचलन छ । नुहाएर आइसके पछि घरका अन्य काम पूजा सम्पन्न गरी दिदीबहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘नसराउ’ भनिन्छ ।
त्यसपछि सबै जनाले घरका सबैसँग र गाउँभरी ढोग गर्ने, नमस्ते गर्ने पनि चलन छ । गाउँमा समूह मिल्दै परिवारसित गएर सलाम गर्ने नमस्कार गर्ने आफू भन्दा ठूलाबाट आशिर्वाद थाप्ने र नाचगान गर्दै रमाउँने गरिन्छ । वर्षभरी आफूले कमाएका सफलताहरु दुखपाएका घटनाहरु, संघर्षका कथाहरु, सुख दुःख का कुराहरु परिवारमा साथीभाईमा साटासाट गर्ने चलन छ । माघीमै आफ्नो घरपरिवार भित्र पनि कामको बाँडफाँड गरिन्छ, यसरी काम बाडफाड गर्दा त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ भने मुखिया चुन्ने चलन पनि छ । गाउँमा नयाँ कामको सुरुवात, जिम्मेवारी बाडफाँड देखिहरेक कुरा सामूहिक रुपमा छलफल गरी हुने हुँदा लोकतान्त्रिक सस्कार पनि देखिन्छ । यो पर्वमा दिदीबहिनी, छोरी चेलिलाई उपहार दिनुपर्छ । माघीको दिन सबेरै नुहाएर आइसकेपछि उपहार दिनु पर्छ । उपहारमा चामल, नुन, दाल आदि पाँच मुठी वा तीन मुठी निकालेर दिइन्छ । यसलाई ‘निसराउ’ भनिन्छ । यसले छोरीचेलिको दाईभाइहरुसंग सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास हुन्छ । थारु समुदायको माघ महिना भनेको नयाँ वर्ष सुरु हुने भएकाले नयाँ आर्थिक वर्ष सुरु हुने पनि हुन्छ । पुरानो चलन अनुसार हिसाब किताब फोरफार गर्ने, लेनदेन मिलाउने, नयाँ व्यवहारको सुरुवात गर्ने लगायतका गतिविधि पनि माघिकै दिनबाट सुरु हुन्छ । माघी पर्व परिवार तथा समाजसंग सम्बन्ध दरिलो बनाउने पर्व पनि हो । माघीका दिन सबेरै नदीबाट नुहाएर आएर गाउँभरीका बुढापाकादेखि लिएर स–साना बालबालिकासम्म सबैले सबैसँग ढोग गर्ने र आशिर्वाद लिने दिने चलन परिवार र समाजमा छ । त्यसैले यो आशिर्वाद लिने दिने चलनले परिवार र सिंगोसमाजलाई नै एकता कायम गर्दै सामाजिक सद्भाव कायम राख्न मद्धत पु¥याएको हुन्छ र यसले एकापसमा आत्मियता बढाउन सहयोग गर्छ ।
माघमा एउटा महत्वपूर्ण कार्य हुन्छ त्यो भनेको गाउँमा अगुवा (मुखीया) चुन्ने । यो पुरानो प्रचलन हो र अहिले धेरै ठाउँमा हराइसकेको छ । तर परम्परा भने बिर्सेका छैनन् । त्यसैले गाउँको अगुवा चुन्ने काम अझै पनि त्यही दिन भएको पाइन्छ । यो काम गाउँको अगुवाको घरमा भेला भएर हुन्छ, त्यो भेलालाई ‘ख्याल’ भनिन्छ । गाउँको अगुवालाई ठाउँ विशेष अनुसार बरघर, महटावाँ, भल्मन्सा आदि पनि भनिन्छ । यो दिनमा नयाँ अगुवा मुखिया चुनिनुका साथै वर्षभरी गरिएका कामको समीक्षा गरिन्छ र अघिल्लो वर्षमा भएका कमिकमजोरीहरुलाई नयाँ वर्षमा नदोहो¥याउने प्रतिवद्धता गरिन्छ । माघीका दिन घर सल्लाह समेत गर्दै घर परिवारमा वर्ष भरी गर्ने कामको बाडफाँड हुन्छ । घरसल्लाहमा घरमुलीको बन्ने, घरको काम कसले गर्ने, बाहिरको काम कसले गर्ने, भाइभाइ घर छुट्टिँदा अन्नबाली बाँड्ने जस्ता कामहरु सल्लाह पूर्वक गर्ने गरिन्छ । त्यसैले यसलाई घरसल्लाह गर्ने दिनको रुपमा पनि लिइन्छ । घरमुलीले भनेको सबैले मान्नु पर्ने चलन छ । साथै केही नयाँ काम गर्नु परेमा घरसल्लाहमा यही बेला गरेर कहीले नयाँ काम सुरु गर्ने भन्ने पनि सल्लाह हुन्छ । त्यसैले थारु समुदायको माघी पर्व अरु समुदायको भन्दा निकै भिन्दैछ । परिवारमा मिलेर बस्ने समाजमा गाउँमा पनि एकै साथ मिलेर बस्ने, मिलेर काम गर्ने, सबैसंग मिल्ने, सहयोगी भावना भएकोले पनि थारु समुदायको समाजमा छुट्टै पहिचान छ ।
थारु समुदायमा माघीको दिन अर्थात् माघ १ गतेको दिनमा चोखो अर्थात् शुद्ध काम गर्नु पर्ने धारणा छ । थारु समुदायमा ‘माघीको दिन (माघ १ गते) मा रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता पाइन्छ । त्यसैले पुस मसान्तको दिनमा सुँगुर मार्ने (जिता मर्ना काम), पकाउने काम गरिन्छ । १ गतेको दिन केवल खाने, पूजापाठ गर्ने जस्ता काम मात्र हुन्छ । यसले धार्मिक महत्वलाई जनाउँछ । त्यस्तै नदीमा नुहाउन जाँदा सबैले खुट्टाको पैताला मुनि पैसा दबाएर नुहाउनु पर्दछ अर्थात जलदेवतालाई पैसा चढाएर मात्र स्नान गरिन्छ । त्यसैले यो समुदायमा साँस्कृतिकसंगै धर्मको पनि महत्व छ र माघीले छुट्टिटएर विभिन्न स्थानमा रहेकालाई एकास्थानमा ल्याउने काम पनि गरेको छ । माघीमा गाउँको अगुवा बडघर, घरको अगुवा घरमुली, खबरको काम गर्ने चौकीदार, स्वास्थ्य तथा गाउँको सुरक्षा गर्ने देशबन्ध्या गुरुवा, घरगुरुवा आदिको छनौट गरिन्छ । यो पहिलादेखि चल्दै आएको प्रचलन हो । सबैले एक वर्षसम्म काम गर्न सक्ने गरि जिम्मेवारी दिइन्छ । जिम्मेवारी पाउनेमा महिला, पुरुष वा गैह्रथारु समुदायको मानिस पनि हुन सक्छ । यो थारु समुदायमा देखिने राम्रो पक्ष हो ।
थारु परिकार
थारु समुदायमा खाइने परिकारहरु धेरै छन् र थारु समुदायले मात्रै नभई अन्यले पनि निकै मन पराएका हुन्छन् । विशेष गरी घोंगी, रिकवच (कर्कला पातको पकौडा) सबै समुदाय वर्गले मन पराएको थारु खाना हो । थारुका केही प्रसिद्ध परिकारहरु यस प्रकार छन् ः
ढिकरी
चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया सानो मुख भएको माटोको भाँडोमाथि बफाएर पकाइन्छ । थारु समुदायले विशेष गरी तिहारको लक्ष्मी पूजाका दिन ढिकरीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।
माघीका बेला पनि ढिक्री खाने गरिन्छ । ठाउँ विशेष अनुसार ढिकरीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ । तर अहिले जुनसुकै बेला पनि यो परिकार खाने गरिन्छ र थारु रेष्टुरेन्टहरुमा सहजै ढिकरी उपलब्ध हुन्छ ।
लाई (भुजाको लड्डु)
नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयका बेला भुजालाई भेली वा चिनीको झोलमा मुछेर बनाइएको परिकारलाई थारु समुदायमो लाइलड्डु भनिन्छ । यसलाई मुरीको लड्डुपनि भनिन्छ । माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाने गरिन्छ । माघीको दिन थारु परिवारमा घरको चामल, दाल, नुन, खुर्सानी जस्ता अन्न परिवारका सबै सदस्यलाई भाग लगाइन्छ । बिहानै नुहाएर शुद्ध भइसकेपछि सबैले आ–आफ्नो भाग छोएर लाई (भुजाको लड्डु) भोग गर्ने नियम रहेको छ । सँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ ।
दूधपुवा
दूधपुवा पनि थारु जातिले खाने परिकार हो । चामलको पिठो मुछेर माटोको भाँडामा रोटी पकाइन्छ । तातोतातो रोटीलाई उम्लिरहेको दूधमा डुबाएर दूधपूवा बनाइन्छ । शरीरलाई दूध र चामलबाट पाइने पौष्टिक तत्व पाइने हुनाले यो स्वास्थ्यवद्र्धक समेत छ ।
घोङ्घी
थारुको अति प्रिय भोजन घोङ्घी हो । शंखे कीराजस्तै देखिने घोँगी खोला, खेत अनि तलाउमा पाइने सामुद्रिक जीव हो । त्यसैले यसलाई थारु सी फुड पनि भनिन्छ । घोङ्गी खाएपछि ढाड, घुँडा, जोर्नीको दुखाई निको हुने थारु समुदायले विश्वास गर्छन् । घोङ्गी बटुलेपछि सफा गर्ने थारु समुदायको आफ्नै प्रविधि छ । सफा गरी उसिनेर पकाइएको घोङ्गीलाई चुसेर खाइन्छ । चुस्दा घोङ्गीको भित्री रहेको मासु जस्तै नरम वस्तु मुखमा आउँछ जुन निकै पोषिलो मानिन्छ ।
गंगटा
थारु समुदायमा प्रसिद्ध सी फुड गंगटा पनि हो । गंगटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खेत, खोलाको मुहान नजिक गंगटा पाइन्छ । गंगटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा फ्राई गरी पकाइन्छ । यसलाई पोलेर वा उसिनेर पनि खाने गरिन्छ । गंगटा सेतो रगत भएको जीव भएकाले मानव रगतलाई समेत राम्रो बनाउँछ भन्ने मान्यता छ ।
झिंगे माछा
पानीमा झिँगाजस्तै उफ्रिहिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारुको पनि प्रिय परिकार रहेको छ । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । ‘काँचो हुँदा कालोकालो रङको हुन्छ । तेलमा तारेपछि यो रातो हुन्छ । झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ । ‘जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता थारु जातीमा छ ।
मलगा (सानो बाम)
सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ । थारुले सानो बाम माछालाई तारेर सस्युँ र लसुनमा पकाउने गर्छन् । ‘माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ । उच्च प्रोटिनयुक्त र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ ।’
ऐठा
घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐठा । ‘घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ ।’ घोँगीलाई पोथी र ऐँठालाई भाले भन्ने गरिन्छ । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कन्छ । ऐठाको मासुलाई भुटेर वा उसिनेर अथवा पोलेर खाने चलन रहेको छ । ऐँठा पनि घोँगीजस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियम युक्त मानिन्छ ।
सितुवा
सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । यसको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । यो जमेको पानी या तलाउहरूमा पाइन्छ । सितुवालाई पहिले उसिन्नुपर्छ । उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र पकाएर खाइन्छ । त्यो मासुलाई फ्राई गरी, ग्रेभी वा अन्य तरिकाबाट पनि पकाएर खान सकिन्छ । यसको मासु निकै स्वादिलो हुन्छ ।
सितुवा खाए शरीरमा न्यानोपन बढ्ने बताइन्छ । सितुवाको मासुलाई शुद्ध र सफा मासु मान्ने प्रचलन थारु समुदायमा छ ।
अन्हवा माछा
सर्पजस्तो आकारको हिले माछालाई थारु जातिले अन्हवा माछा भन्छन् । यो पानीको स्रोत नजिकका माटो, हिलो र दलदलमा पाइन्छ । हिलोमा बस्ने भएकाले यसलाई समात्न निकै गाह्रो हुन्छ ।
सर्पजस्तो भए पनि यो माछालाई टोक्दैन । पुच्छरको भाग माछाको जस्तो चेप्टो हुनाले अनई माछालाई चिन्न सकिन्छ । अनई माछा खाए रगत बढाउने र मेरुदण्ड, जोर्नी दुखेको ठिक पार्छ भन्ने थारु समुदायमा विश्वास रहेको छ ।
(चौधरी, न्यूजओकेका उपसम्पादक हुन्)
Get real time update about this post categories directly on your device, subscribe now.