आर्थिक एवं पर्यटकीय हिसाबले भैरहवालाई जसरी चर्चा गरिन्छ, ठीक त्यसरी नै यहाँको पत्रकारिता र संचारमाध्यमको गरिन्छ । खासमा भैरहवा आर्थिक हब हो, त्यसपछि घिस्रिँदै गरेको पर्यटन । यी दुबै क्षेत्रको विकास र विस्तारमा यहाँको पत्रकारिताको कम्ति योगदान छैन । इतिहास होस् वा वर्तमान, भैरहवाको आर्थिक तथा पर्यटकीय विकासमा पत्रकारिता र यहाँका संचार माध्यमले योगदान दिँदै आएका छन् ।
भैरहवालाई आर्थिक विकासको मेरुदण्ड यहाँको उद्योग र व्ययवसाय नै हो । त्यसपछि पर्यटन । तर, पर्यटनका लागि भैरहवा आफैमा सम्पन्न छैन । यसमा नजिकको बुद्ध जन्मस्थल लुम्बिनी छ । हरेक हिसावले यहाँ आर्थिक, सामाजिक, राजनीति र पर्यटकीय विकास गर्न पत्रकार र संचारमाध्यमले विषयवस्तु उठान गरिरहेका छन् । सही मार्ग पहिल्याउन हातेमालो गरिरहेका छन् ।
गौतम बुद्धको जन्म भएको पवित्र भूमि लुम्बिनी भैरहवाको काखैमा छ । जसको प्रवेशद्वार सिद्धार्थनगर हो । पूर्व नवलपरासी, पश्चिम कपिलवस्तु, उत्तर पाल्पा र दक्षिणतिर भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लासित जोडिएर बनेको रूपन्देही जिल्ला हो । यसको सदरमुकाम भैरहवा अर्थात् सिद्धार्थनगर हो । मूलतः यो नगर व्यापारिक र पर्यटकीयद्वारको रूपमा समेत चिनिन्छ । यहाँ प्रशस्त मात्रामा उद्योगधन्दा, होटल खुलेका छन् भने केही खुल्ने तयारीमा छन् । राष्ट्रको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालय यही जिल्लामा अवस्थित छ । गत आ.ब. ०७८÷०७९ मा त यो कार्यालय राजस्व संकलनमा अब्बल गनिएको छ र विगतदेखि नै गनिँदै आएको छ ।
यतिमात्र नभएर लुम्बिनी प्रदेश र सिंगो मुलुकको गौरवका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसमा पवित्रभूमि लुम्बिनीको साथ त हामीलाई सदाबहार छ । विमानस्थल संचालनसँगै यसले भैरहवालाई अन्तर्राष्ट्रिय जगतसँग जोडेको छ । फलतः विश्व समुदायको यहाँ ध्यान केन्द्रित भएको छ । अब, धेरै जडान गरी यस क्षेत्र र विमानस्थललाई चलायमान बनाउनु तपाईं, हामी सबैको कर्तव्य भएको छ । यस क्षेत्रलाई थप चलायमान बनाउन अब यहाँको पत्रकारिता र संचारमाध्यम थप अब्बल बन्न सक्नुपर्छ ।
यहाँ थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थानहरू छन् भने पछिल्लो समयमा यहाँ ठूल्ठूला तारे होटलहरू पनि खुलेका छन् । विकास निर्माण, आर्थिक, पर्यटकीय, भौतिक तथा सामाजिक हिसाबले पनि तराईका जिल्लाहरूमा केही सबल, सौन्दर्य एवं शान्त मानिने रूपन्देही जिल्ला अबका केही वर्षभित्र देशकै मेरूदण्डका रूपमा स्थापित हुन्छ भन्नेमा कसैको दुईमत छैन । यसको वातावरण विमानस्थल, लुम्बिनी, भन्सार, विशेष आर्थिक क्षेत्र, कृषि, पर्यटन, औद्योगिक क्षेत्रसँगै संचारमाध्यम र पत्रकारहरुले मनाइराखेका छन् । र, आउँदा दिनमा पनि बनाउँदै जानेछन् ।
वर्तमान युग अत्याधुनिक प्रविधियुक्त सञ्चारको युग हो भन्दा अतियुक्ति नहोला । भौगोलिक हिसावले गर्दा विकट राष्ट्र भए पनि संचारले गर्दा सबैलाई जोडेको छ । विगत लामो समयदेखि देशमा थुप्रै क्रान्ति भए । देशको राज्य शासन व्यवस्था परिवर्तन भयो । नेपाली जनताले आफ्ना संवैधानिक हकहरूका निम्ति हजारौं वीर–वीराङ्गनाहरूलाई गुमाउन प¥यो । परिणामस्वरूप वि.सं. २०६२÷०६३ को जनआन्दोलन–२ को उपलब्धि भनेकै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु र संविधान बन्नु नै हो ।
संविधान बनिसकेको अवस्थामा पनि देशका सीमान्तकृत आम नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता पारिभाषिक पदावलीहरूको मर्म बुझ्न सकेका छैनन् । यसै परिप्रेक्ष्यमा आम सञ्चारका साधनले सबै तह र तप्काका नेपालीहरूका लागि बुझ्नेगरी बहस, छलफल, गोष्ठी, समाचार, लेख आदिका माध्यमले जनचेतना अभिबृद्धि गर्ने र सुसूचित पार्ने दायित्व बहन गर्ने अभिभारा निर्वाह गर्न लागेका छन् । यो क्षेत्रमा आम सञ्चारका क्षेत्रको भूमिका उल्लेखनीय रहेको हाम्रो ठम्याई हो ।
पत्रपत्रिका भन्ने वित्तिकै विभिन्न जानकारीमूलक, खोजमूलक विषयहरू पाठक वर्गले पाउने माध्यम हो । पत्रिपत्रिकाले समाजलाई धेरै नै सुसूचित गर्दछ । समाज तथा राष्ट्र परिवर्तनमा पत्रपत्रिकाले अर्थात् संचार माध्ययमले खेल्ने भूमिका फरक हुन्छ । भैरहवाबाट विगतमा धेरै पत्रपत्रिकाहरू प्रकाशन भए । तर, ती पत्रपत्रिकाहरू निरन्तर प्रकाशित भएनन् । इतिहासमा मात्र सीमित भए । तर, पछिल्लो समय केही साप्ताहिक पत्रपत्रिकाहरू निरन्तर प्रकान भइरहेका छन् र यस क्षेत्रका आम जनतालाई सुसूचित गराइरहेका छन् । यहाँबाट एउटा दैनिक पत्रिकाले पनि आफ्नो निरन्तरता कायम राख्दै आएको छ ।
इतिहास
नेपाली इतिहासमा पत्रिकाको वीजरोपण सुधासागर (वि.सं.१९५५) प्रथम मासिक प्रकाशन हो भने समाचार प्रधान दोस्रो पत्रिका र गोरखा पत्र (वि.सं.१९५८) तेस्रो हो । यी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरू हुन् । आज २०७९ सालसम्म आइपुग्दा नेपालका समाचारमूलक पत्रपत्रिकाहरू जननीका रूपमा सम्मानित हुँदै आएको पनि पाइन्छ ।
रूपन्देही जिल्लाकै कुरा गर्ने हो भने बुटवलबाट थुप्रै पत्रपत्रिकाहरू प्रकाशन भएको पाइन्छ । त्यसमा कतिपय पत्रपत्रिका विलय भए भने कतिपय अझै निरन्तर प्रकाशन भएको पाइन्छ । यसैगरी भैरहवाबाट प्रकाशित पत्रिकाहरूको ऐतिहासिक नालीबेली पहिल्याउँदै जाँदा लुम्बिनी सन्देश (वि.सं.२०२२), दैनिक निर्णय (वि.सं. २०२३), जनवाणी (वि.सं. २०२३), निष्पक्ष ध्वनि (वि.सं. २०२७), खसोखास साप्ताहिक (वि.सं.२०२७), लुम्बिनी दूत साप्ताहिक (वि.सं.२०३५), संश्लेषण साप्ताहिक (वि.सं.२०३९), समालोचना साप्ताहिक (वि.सं.२०३९), मुक्ति सन्देश पाक्षिक (वि.सं.२०३९) यो पत्रिका पछि २०४५ सालमा दैनिक र २०४६ सालमा साप्ताहिक रूपमा प्रकाशित भएको पाइन्छ । त्यस्तै प्रतीमान पाक्षिक (वि.सं.२०३९), परिवर्तन पाक्षिक (वि.सं.२०३९), त्रिवेणी साप्ताहिक (वि.सं.२०३९) प्रकाशनमा आएको इतिहासमा पाइन्छ ।
त्यसैगरी सुसेली (वि.सं.२०३९), जनवाणी साप्ताहिक (वि.सं.२०३९), जनज्योति पाक्षिक (वि.सं. २०३९), धवल पाक्षिक (वि.सं.२०४२), जनता साप्ताहिक (वि.सं.२०४६), कोसेली साप्ताहिक (वि.सं.२०५५), भैरहवा साप्ताहिक (वि.सं.२०५९), सूचना अर्ध साप्ताहिक, नव भैरहवा साप्ताहिक (वि.सं.२०६३) यो अहिले पनि प्रकाशनमा छ । त्यस्तै उदयमान दैनिक (वि.सं.२०६४), निराकरण साप्ताहिक (वि.सं.२०६४), लुम्बिनीखबर साप्ताहिक हाल अर्धसाप्ताहिक (वि.सं.२०६८) यो निरन्तर प्रकाशित भैरहवाको पत्रिका हो । सिद्धार्थ सन्देश दैनिक (वि.सं.२०६९), मुस्ताङ मर्चवार पत्रिका विलय भइसकेका पत्रिका हुन् । त्यस्तै नारी बिम्व साप्ताहिक (वि.सं.२०७०), बुद्ध ध्वनि साप्ताहिक (वि.सं.२०७१), गौतमबुद्ध सन्देश (वि.सं.२०७१) यी निरन्तर प्रकाशित पत्रिका हुन् । यद्यपि नारी विम्ब र बुद्धध्वनी अहिले प्रकाशन बन्द भएको छ भने गौतमबुद्ध सन्देश अहिले निरन्तर दैनिक प्रकाशनमा छ ।
बुद्ध बिहानी दैनिक (वि.सं. २०७२) भैरहवाबाट केही समय दैनिक प्रकाशन पछि बन्द भएको छ । २०७३ मा अब्बल साप्ताहिक स्थापना भयो । उक्त पत्रिका गौतमबुद्धसँग मर्ज भएपछि बन्द छ । यस्तै न्यूज ओके साप्ताहिक (२०७३) बाट निरन्तर प्रकाशित हुँदै आएको छ । यो बीचमा भैरहवाबाट सालीन साप्ताहिक, उज्यालो सन्देश साप्ताहिक र लुम्बिनी पोष्ट साप्ताहिक पत्रिका खुले । तर, यी पत्रिका पनि टिक्न सकेन र अहिले बन्द छन् ।
यसरी माथि उल्लेख गरिएका भैरहवा क्षेत्रबाट प्रकाशित दैनिक, अर्ध साप्ताहिक, पाक्षिक र साप्ताहिक समाचार पत्रिकाका रूपमा देखा परेका छन् । यी उल्लेख गरिएका समाचार पत्रिकाहरूले के देखाउँछ भने भैरहवा पनि मोफसलमा पत्रपत्रिकाको राजधानी हो । यहाँबाट प्रकाशित भएका झण्डै साढे दुई दर्जन दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाहरूको उल्लेखनीय भूमिका रहेको देखिन्छ ।
आमसंचार अर्थात् पत्रकारितालाई नेपालको संविधानले पनि चौथो अंगको रूपमा मान्यता दिएको छ । तर, सो बमोजिम सेवा–सुविधा भने सबै पत्रिकाहरूले नपाएको गुनासो व्यापक छ । सही सूचनाले मानिसलाई विवेकशील बनाउँछ । झुठो सूचनाले गलत मार्गतिर अग्रसर बनाउँछ । त्यसैले सही सूचना प्राप्त गर्नु प्रत्येक नागरिकको दायित्व हो । यसै परिप्रेक्ष्यमा भन्नुपर्दा सञ्चारसँग दर्शन, राजनीति र समाजशास्त्रको अन्योन्याश्रित सम्बन्ध कायम रहेको पाइन्छ । यिनै विषयको आधारभूत कुरालाई जनस्तरसम्म पु¥याउने काम सञ्चारले गरेको हुन्छ ।
सञ्चार अन्तर्गत अन्तर्मुखी सञ्चार, अन्तर्वैयतिक सञ्चार, समूह सञ्चार र आम सञ्चार पर्दछन् । छापा सञ्चार आम सञ्चारको पुर्खा हो । अहिले आएर विद्युतीय सञ्चारका रूपमा रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट आदिको सुविधा प्राप्त भएको छ । आमसञ्चारका विभिन्न सिद्धान्त प्रतिपादन गरिएका छन् । ती मध्येका सिद्धान्त हुन्– निरङ्कुशतावादी सिद्धान्त, उदारवादी सिद्धान्त, सामाजिक उत्तरदायित्वको सिद्धान्त, साम्यवादी सिद्धान्त र प्रस्तावित शान्ति सिद्धान्त ।
यी माथि उल्लेख गरिएका सिद्धान्तहरू मध्ये अबका पत्रिकाले कुन सिद्धान्तलाई अवलम्बन गर्दछन्, त्यो अब अध्ययनको विषय बन्नेछ । किन भने अबको युग भनेको शान्ति, स्थायित्व, आर्थिक विकास र समानताको विकास गर्ने युग हो । समाजका सचेत बुद्धिजीवी र सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरूले देश र जनताको विकासमा स्थायित्व र शान्ति कायम गर्नेतर्फ लाग्ने हो भने आर्थिक विकास, शान्ति समाज, समृद्ध राष्ट्र निर्माणमा पत्रकारिता क्षेत्रको उल्लेख्य योगदान रहन्छ ।
रूपन्देही जिल्लाको बुटवल क्षेत्रमा वि.सं. २०१२ सालदेखि र भैरहवा क्षेत्रमा वि.सं. २०२२ सालदेखि पत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको भए पनि वि.सं. २०७९ सालसम्म आइपुग्दा यस क्षेत्रमा कयौ उतारचढावहरू आएको देखिन्छ । पत्रिकाले पनि कैयौं हतकण्डा भोग्दै निरङ्कुश राज्य व्यवस्थादेखि उदार संघीय लोकतान्त्रिक गणतन्त्रको राज्य व्यवस्थासम्म आफ्नो धर्म पक्कै पनि नछाडेको हुनुपर्छ । विभिन्न छापाका संचार माध्यम एवं विद्युतीय संचार माध्ययम हुँदाहुँदै पनि भैरहवा जस्तो अन्तर्राष्ट्रिय सिमानामा रहेको क्षेत्रमा थुप्रै साप्ताहिक र दैनिक पत्रिकाहरूले संघर्ष गर्ने कोसिस गरिरहेका छन् ।
जिल्लाको ६ दशक र भैरहवाको ५ दशक पत्रपत्रिका प्रकाशनको ऐतिहासिक कालखण्डमा पत्रपत्रिकाको मूल्याड्ढन गर्न खोज्नु भन्दा पनि अहिलेसम्म प्रकाशनमा आएका पत्रपत्रिकाले यस क्षेत्रका पाठकहरूको मन जित्न सफल भए वा भएनन् त्यो ठूलो कुरा रहन्छ । तर खोजमूलक समाचार, तथ्यपूर्ण विवरण, निष्पक्ष र निडर सेवाभाव आदि लिएर अगाडि बढ्नुका साथै आफूलाई जिम्मेवार बनाई पाठक वर्गमा जाने प्रयास गर्नु आम संचारमाध्ययमको धर्म हो ।
पछिल्लो समय अनलाइन पत्रकारिता पछि भैरहवा क्षेत्रमा फस्टाएको छ । यहाँ दुईवटा टेलिभिजन संचालनमा छन् । ५ वटा अनलाइन र तीन वटा एफएम रेडियो संचालनमा छन् । यी सबैले कुनै न कुनै हिसावले भैरहवा क्षेत्रलाई सत्मार्गमा डो¥याउन भूमिका खेलेका छन् र आगामी दिनमा पनि खेल्ने छन् । पछिल्लो पटक पत्रकारितामा कपीपेष्टले हैरानी बढ्दो छ । चाप्लुसी र निकटस्थ रहेर समाचार पस्कने क्रम बढेको छ । यसले पक्कै पनि भैरहवा क्षेत्रको पत्रकारिता र संचारमाध्यमलाई उठाउने होइन, उचाई घटाउने काम गरिरहेको छ । यसतर्फ मिडिया हाउसका संचालक र पत्रकार समेत हुनु जरुरी छ । अर्कातर्फ सामाजिक संजालको भ्रम, विकृति र यथार्थलाई पनि चिर्दै, सिक्दै, बुझ्दै अघि बढ्ने चुनौति थपिरहेको छ ।
पत्रपत्रिकाहरू सामाजिक विकृति, विसंगती, अन्याय, अत्याचारको पर्दाफास, लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रि गणतन्त्रात्मक संविधानको कार्यान्वयनमा पहल कदमी गर्दै सुशासन र शान्तिको पक्षमा बल दिँदै जनबोलीको कदर गर्दै यस क्षेत्रको विकास समृद्धिको पक्षमा वकालत गर्दै लोकप्रिय बन्नु आजको तड्कारो आवश्यकता छ ।
अन्त्यमा
यस क्षेत्रबाट प्रकाशित थुप्रै पत्रपत्रिकाहरू, टिभी, अनलाइन र एमएफम रेडियोहरुको छुट्टै र आ–आफ्नै इतिहास छ । विगतदेखि निरन्तर प्रकाशित भएका पत्रपत्रिकाहरूले यस क्षेत्रको समृद्धि, आर्थिक विकास र समाजलाई के–कति मात्रामा सुसूचित गराए त्यो आम नागरिकको मूल्यांकनको विषय हो । तर संचारमाध्ययमले र त्यसमा काम गर्ने पत्रकारहरूले आफ्नो धर्म निर्वाह गर्नु पक्कै पनि तड्कारो हो । तसर्थ यहाँबाट प्रकाशित दैनिक तथा साप्ताहिक पत्रपत्रिका, टिभी, रेडियो र अनलाइन पत्रिकाले यस क्षेत्रको शान्ति, समृद्धि, स्थायित्व र खबरदारीमा निरन्तर भूमिका निर्वाह गर्दै जानुपर्छ । कसैको दवाव, प्रभाव, पूर्वाग्रह तथा क्रोध नराखी सेवाभावबाट निष्पक्ष र समाजिक उत्तरदायित्वका साथै संविधान कार्यान्वयनका लागि निरन्तर कलम चलाउनुपर्छ । यो, सबैको चाहना हो र संचारकर्मी र संचारमाध्यमको धर्म हो ।
(न्यौपाने भैरहवामा क्रियाशील पत्रकार हुन् ।)
Get real time update about this post categories directly on your device, subscribe now.