काठमाडाै, काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ। यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाण्डौ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताए।
“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ। अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाण्डौवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने, “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्याउनसक्ने अवस्था छ।”
मन्त्री ज्ञवालीले काठमाण्डौवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पुर्याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे। “देशैभर क्रमशः कोरोना सङ्क्रमण घट्दै गरेको अवस्थामा काठमाण्डौ उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ। यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु”, उनले भने।
नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने औँल्याउँदै ज्ञवालीले आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गरे। “दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ। त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ”, उनले भने।
Get real time update about this post categories directly on your device, subscribe now.