- भैरहवा ।
तराई क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी मध्येको मुख्य जाति थारु हो । थारु जातिको आफ्नै भाषा, रहन–सहन, खानपिन, संस्कृतिले अन्य समुदायमा समेत विशेष महत्व राख्दछ । हरेक महिना जसो कुनै न कुनै पर्व मनाउने थारु जातिको सबैभन्दा ठूलो पर्व भने माघी हो । माघीलाई उत्सवकै रुपमा लिने गरेको र माघ १ गतेदेखि थारुहरुको नयाँ वर्ष समेत सुरु हुने भएकाले अझ बढी महत्व राख्ने थारु कल्याणकारीणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरी बताउछन् । थारु जातीहरु बढी परिश्रम र वर्ष भर खेतीपातीकै काममा व्यस्त हुने पाइन्थ्यो तर समयसंगै परिवर्तन भएको छ, आधुनिकताले लपेटे पनि आफ्नो धर्म, भाषा, संस्कृती, रहनसहन यो समुदायले नभुलेको चौधरीको भनाई छ । थारु समुदाय जातिको अर्को बिशेषता के छ भने कुनै महिना त्यस्तो कुनै पर्व परेन भने पनि उनिहरु आफ्नो परम्परागत पोशाक लगाई लोकसंस्कृती र नृत्यलाई निरन्तरता दिएको पाइन्छ । त्यसैले अन्य जाति भन्दा थारुहरु अलिक फरक खालका छन् चाहे खानपिन होस या भाषा, संस्कृति होस या चलन रहन–सहन ।
पछिल्लो समय थारु समुदायको पर्वहरुमा अन्य समुदायका मानिसहरु पनि संलग्न भएर शुभकामना दिने, खुशी साटासाट गर्ने, उपहार दिने प्रचलन पनि बढ्दै गएको ओमसतियाका दिलबहादुर चौधरी बताउछन् । त्यसैले अहिले थारुहरुको पर्वको महत्व बढ्दै गएको छ, अरुको परिकार भन्दा भिन्दै खाले र फरक फरक परिकारका स्वाद हुन्छन् र भेषभुषा पनि त्यस्तै महत्व बोेकेको छ, चौधरीले भने । ‘विगतमा यो पर्व घर भित्र परिवारमा मनाउँदै आइए पनि अहिले सामुदायको साथमा मनाउने गरेका छौँ’ चौधरीले भने, जसले एकआपसमा भाईचारा, प्रेमभाव बढ्नुका साथै सामुदायको पहिचान र संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।’
माघी पर्व थारुहरुको मुख्य चाड हो । नेपाली समाजमा माघे संव्रmान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो र यहि दिन उनिहरुको आर्थिक कारोबार नयाँ सुरुवात गर्ने, पुरानो हिसाब मिलाउने पनि रहेको छ र कुनै नयाँ काम सुरु पनि यसै माघीको अवसरमा गर्ने चलन छ । माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने माघी पर्व पुरै माघ महिना भरी विभिन्न कार्यक्रम गरि मनाइन्छ ।
ज्योतिष विज्ञान अनुसार सौर्यमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिन्छ । सक्रान्ति माघ महिनाको पहिलो दिन हो । नेवार, मगर , बाहुन जातीले पनि मकर सक्रान्ति मनाउने गर्छन । नेवारले ध्यु चाकु सक्रान्ति भन्छन् । तरुल पनि खाइन्छ यो दिन । त्यसै गरी अन्य कन्दमुल पनि खाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ ।
पुस मसान्तमा विभिन्न प्रकारका परिकार (ढिकरी, रोटी, माछा, घोगी, सुङ्गगुरको मासु आदि) हरु तयार हुन्छ र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन रहेको सञ्चारकर्मी आकाश चौधरी बताउछन् । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच), झमटा नाच, लाठी नाच, मयुर नाच र ढुम्रु गाउने गरिन्छ । अहिले माघीमा थारु युवापुस्ताको आकर्षण पनि बढेको छ र पर्वको दिन आयोजना हुने महोत्वसहरुमा थारु समुदायका युवापुस्ताहरुको समेत आर्कषण बढ्दै गएको चौधरीले बताए । युवापुस्ताहरु पनि संस्कृति र पहिचानको प्रवद्र्धन गर्नका लागि अगाडी बढेकोले उनीहरुलाई भविष्यमा मद्दत पुग्ने समुदायको विश्वास रहेको उनको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.