- भैरहवा ।
कोरोना भाईरस संक्रमण बढेसंगै न्यूनिकरणका लागि गत चैत्र १० गते बाट बन्द गरिएको नेपाल भारत सिमानाका मध्ये भैरहवाको बेलहिया सहित थप १६ नाका खुलाउने निर्णय सरकारले गरेको छ ।
यस अघि सरकारले भारत तर्फको १३ र चिनको एक सहित १४ नाका खुलाएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो ।
गृह मन्त्रालयका अनुसार खुला गरिएका नाकाहरुमा बेलहिया(रुपन्देही) सहितका ३० नाकाहरुमा पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) रहेका छन् ।
निर्णय अनुसार अब भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन्। भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने व्यवस्था थ । विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश अनुमति दिइने जनाईएकोछ ।
बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायत आधारमा नयाँ निर्णय लिएको हो ।
सरकारले निर्णय गरे पनि यो विषयमा अहिले सम्म गृहमन्त्रालयवाट कुनै पनि परिपत्र नआएको रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । विहिवार वेलुका सम्म नाका खुलाउने सम्बन्धि त्यस्तो कुनै परिपत्र आएको छैन्, आज शुक्रवार परिपत्र आएपछि कुन मापदण्ड अनुसार कसरी खुला गर्ने र स्वास्थ्य सतर्कता कसरी अपनाउने भन्नेमा निर्णय हुन्छ, अधिकारीले भने।
नाका खुलाउने निर्णय भए पनि नीजि सवारी साधन दुबै तर्फ बाट लिएर आउन जान पाउने नपाउने व्यवस्था के रहेको छ भन्ने विषय पनि अन्यौल भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.