- भैरहवा ।
कोरोना भाइरसको दोश्रो लहरको प्रकोप बढेसंगै न्यूनिकरणका लागि निषेधाज्ञा जारी भएसंगै रुपन्देही जिल्लामा बिभिन्न संघसस्था तथा व्यक्तिहरुले स्व–स्र्फुत रुपमा सहयोग उपलब्ध गराई रहेका छन् । अस्पतालका बिरामी र उनिहरुका कुरुवालाई निःशुल्क खाना खुवाएर होस या, कोरोना पोजिटिभ पुष्टी भएका बिरामीलाई अस्पताल पुर्याउन, फ्रन्टलाईनमा रहेर काम गरेकालाई सहयोग गरेकालाई होस या अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापन वा विभिन्न स्वास्थ्य उपकरण, सामग्री स्व–स्फुर्त रुपमा प्रदान गर्दै संघसंस्था वा व्यक्तिहरु मानविय कार्यमा जुटेका छन् ।
अहिले यो बिषम परिस्थितीमा कोरोना भाइरस न्यूनिकरणसंगै जसले जे सक्छ त्यही सहयोग गर्नु पर्छ, मायादेवी च्यारिटेवल फाउण्डेशनका अध्यक्ष समाजसेवी रवीकुमार रौनियारको भनाई छ । रौनियारको संस्थाले निषेधाज्ञा सुरु भएसंगै भैरहवाको कोभिड अस्पताल भिममा उपचारका लागि आउने बिरामी र कुरुवा तथा अस्पतालका कर्मचारीलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएका थिए । पछि अन्य संघसंस्थाले भोजन खुवाउन सुरु गरेपछि उनि अहिले विभिन्न स्थानिय तहको कोभिड अस्थाई अस्पताल (आइसोलेशन सेन्टर) मा निःशुल्क भोजन उपलब्ध गराउँदै आएका छन् भने दैनिक मजदुरी गर्दै परिवार पाल्दै आएका, आर्थिक स्तर कमजोर रहेकाहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएका छन् ।
भैरहवा क्षेत्रका २ रोटरी क्लबहरु रोटरी क्लव अफ भैरहवा र रोटरी क्लब अफ सिद्धार्थनगर लुम्बिनीले सिद्धार्थनगर नगर पालिकाले भैरहवामा सञ्चालनमा ल्याएको आइसोलेशन सेन्टरको प्रयोजनको लागि दुई पटक गरी ६ वटा कन्सनट्रेटर मेशिन ,८ वटा अक्सिजन सहितका सिलिण्डर, ४० वटा पिपिई सेट, अक्सिजन सिलिण्डर रेगुलेटर २ थान, अक्सिमिटर ३ थान , कन्सनट्रेटर मेशिनको स्टेबलाइजर लगायतका सामग्री प्रदान गरे । अहिले मैले यो गरे, फल्नाले त्यो संस्थालाई दियो भन्ने होइन, जसले जहाँबाट जसरी हुन्छ सहयोगमा जुटनु पर्छ, सहयोग सानो ठूलो भन्ने हुदैन सहयोग भनेको सहयोग हो, रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले भने, हामीले हिमालयन डिस्टिलरी प्रालिसंगको सहकार्यमा काम गरीरहेका छाैं, कोरोना बिरामीको उपचारमा अक्सिजन अभाव नहोस्, उपचार सहज रुपमा होस भन्ने उद्धेश्य प्रमुख हो, उनले भने ।
उता बुटवलका युवाहरुको संस्था घरघरमा हामीले पनि विभिन्न किसिमको सेवा सहयोग उपलब्ध गराउँदै आएको छ । अक्सिजन सिलिण्डर खोज्ने, निःशुल्क रुपमा भरिदिए र अप्ठ्यारोमा परेकालाई उपलब्ध गराउने, सडक बालबालिकालाई मात्र नभई गन्तव्यसम्म पुग्न नसकेकाहरुलाई आफ्नो घरसम्म पुर्याउने, उनिहरुलाई खानाको व्यबस्था, औषधि एक ठाउँबाट अर्को ठाउसम्म पुर्याउने काम गरिरहेको सञ्चारकर्मी समेत रहेका शिव डुम्रेले बताए । अप्ठ्यारोमा परेका बिरामी, उनका परिवार, अलपत्र परेका सर्बसाधारण जो सुकै हुन्, सबैलाई अहिले आवश्यता छ सहयोगको, त्यसैले जसले जे सक्छ, त्यही सहयोग गराैं ,डुम्रेले भने ।
संघसस्थासंगै उद्योग पनि सहयोगमा जुटेका छन् । मायादेवी गाउँपालिकाले आइसोशलेसन सेन्टर सञ्चालनमा ल्याउन लागेको तर अक्सिजन सिलिण्डर नभएको थाहा पाएपछि आफ्नो उद्योगमा रहेको १० थान अक्सिजन ग्याँस सहितको सिलिण्डर हस्तान्तरण गरेको सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज कुमार पौडेलले बताए । अहिले जे सकिन्छ त्यहि सहयोग गर्ने हो, हामीले भिम अस्पताललाई पनि अक्सिजन सहितको सिलिण्डर प्रदान गराैं, उनले भने ।
जेसिआई सिद्धार्थ नेपालले दुई दिन अघिदेखि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी तथा उनिहरुका कुरुवाहरुका लागि बेलुका बेलुका निःशुल्क भोजन उपलब्ध गराउन थालेको छ । संस्थाले भैरहवा बसपार्कमा रहेको नगरपालिकाको आइसोलेशन सेन्टरका बिरामी, कुरुवा र कर्मचारीलाई पनि बेलुकाको खाना उपलब्ध गराएको छ । खाना खुवाउने मात्र होइन, हामीले जे जस्तो हुन्छ, सहयोग उपलब्ध गराएका छौं, भिम अस्पताललाई २० थान सिलिण्डर प्रदान गर्यौ, अभिनाष अनाथ आश्रमलाई खाद्यान्न लगायतका सामान प्रदान गर्यौ दुःखमा परेका रिक्सा चालकलाई सहयोग गर्यौ, जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीले भने, अहिले कोरोनाबाट बच्दै सबै संघसस्था व्यक्तिहरु मानविय सेवाको सहयोगका लागि उठ्नु पर्छ, ज्ञवालीले भने ।
भैरहवाको युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहानका समयमा लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले विगत १३ दिनदेखि निरन्तर खाना खुवाउँदै आएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । हामीले भिम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि पनि १ लाख रुपैयाँ सहयोग गरेका छाैं, गुप्ताले भने ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले फुड बैंकको स्थापना गरी अप्ठेरोमा परेकाहरुलाई दैनिक अत्यावश्यक खाद्य वस्तु सहयोग उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म १९० घर परिवारलाई कम्तिमा १० दिनका लागि पुग्ने अत्यावश्यक खाद्य वस्तु प्रदान गरेका छांै, रोटरी क्लबको फुड बैंक कार्यक्रमका संयोजक धरमबीर शर्माले भने । हामीले अप्ठ्यारामा परेकाहरुलाई उनिहरुकै घरमै गएर खाद्य वस्तु प्रदान गरेका छांै, क्लबका कोषाध्यक्ष तथा फुड बैंक कार्यक्रमका सदस्य कृष्ण अधिकारीले भने ।
उता गत वर्ष देखिनै कोरोना पोजिटिभ बिरामीहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्सहरु जान नमान्दा युवा व्यवसायी मंगल भण्डारीले आफुले चढने नीजि गाडीलाई एम्बुलेन्सकै रुपमा प्रयोग गरे । गत वर्ष २ सय बढी बिरामी अस्पताल पुर्याए, अहिले पनि एक साता अघिसम्म दैनिक ६ जनासम्म बिरामी अस्पताल पुर्याए, उनले भने । बिरामी बोक्दा बोक्दा आफै अहिले संक्रमित भएको छु, सञ्चो भए पछि पुनः मानवबय सेवामा लाग्नेछु ,भण्डारीले भने ।
भण्डारी मात्रै होईन, सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्र आचार्यले पनि आफु चढने सवारी साधनलाई बिरामी बोक्ने साधनका रुपमा प्रयोग गर्न थालेको २ हप्ता बढी भयो । कोभिड बिरामी मात्र नभई अन्य बिरामीहरु जिल्लाभरबाट कसैले फोन गरेमा घरमै गएर अस्पतालसम्म ल्याउन र अस्पतालबाट घर पुर्याउने गरेको छु, आचार्यले भने, अहिले यो बिषम परिस्थितीमा बिरामी अस्पताल आउन समस्यै छ, सवारी चलेका छैनन्, एम्बुलेन्स भनेका बेला पाइदैन, पाइएपनि जान मान्दैनन, त्यस्तो बेलामा सानै भए पनि सहयोगीको भूमिका निर्वाह गरेको छु, आचार्यले भने ।
संघसस्था मात्र नभई रुपन्देहीमा राजनैतिक दल पनि अहिले बिरामीको सेवामा जुटेको छ । नेकपा माओबादी केन्द्र सिद्धार्थनगर कमिटीले भैरहवाको भिम अस्पतालमा रहेका बिरामीलाई दैनिक रुपमा आवश्यकता अनुसार जडिबुटी सहितको चिया, ज्वानो, बेसार पानी, अण्डा उपलब्ध गराउँदै आएको पार्टीका नगर इन्चार्ज तिर बहादुर रोका मगर (डार्बिन) ले बताए ।
मारवाडी सेवा संघले पनि भिम अस्पतालमा बेलुकाको खानाको व्यबस्थापन गर्दै आएको संघका महासचिव अरुण अग्रवालले बताए ।
माथिका संघसस्था र व्यक्ति त अहिले सामाजिक काममा जुटेका प्रतिनिधि पात्र मात्र हुन, धेरैले आफुले सकेको सहयोग गरेका छन् ।
सिद्धार्थनगर नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत तुलसीराम मरासिनिले अहिले सबैको सहयोग अपरिहार्य रहेको भन्दै संघसंस्था र व्यक्तिगतरुपमा उपलब्ध सहयोग अमुल्य रहेको बताए ।
अहिले धेरैको ध्यान अस्पतालमा अक्सिजन ग्यासको अभाव नहोस भन्ने रहेको छ , साथै अन्य मानविय सेवाका कामहरु गरिरहनु भएको छ, यो सबै अमूल्य छन् वर्तमान समयमा नागरिक अगुवा बिजय सागरले भने । अहिले सबै आ आफ्नो स्थानबाट सक्दो सहयोगमा उत्रनु भएको छ यो निकै राम्रो काम हो, समयले उचित मुल्यांकन गर्छ, उनले भने ।
सबैले उपलब्ध गराएको सहयोगले अस्पताललाई कार्य सम्पादनमा केही सहजता भएको र अबको लक्ष्य भनेको अस्पतालमा अक्सिजन प्लान्ट स्थापना रहेको भिम अस्पताल व्यबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
अहिले रुपन्देहीमा कोरोना न्यूनिकरण र कोरोनाका कारण अप्ठ्यारोमा परेकालाई जे सकिन्छ त्यही गर्नेहरु अघि बढीरहेको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेय महास्थबिरले बताए । उनको संस्थाले मलेशियाको चु जी फाउण्डेशनको सहकार्यमा लुम्बिनीको आइसोलेशन सेन्टरका इसिजि मेशिन १ थान, कार्डियक मनिटर ५ थान, हस्पिटल बेड मेट्रेस १५ थान, पिपिई सेट र केएन ९५ मास्क २०० थान, फेस शिल्ड २०० थान लगायतका सामान प्रदान गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.