- भैरहवा ।
साउन महिनाको १५ गतेलाई खिर खाने दिनका रुपमा लिने गरिन्छ । खिरको महत्व बेग्लै छ । पौष्टीक, गुणकारी लगायत मिश्रित रहेको खाद्य वस्तुका रुपमा खिरलाई लिइन्छ । खिरको महत्व बौद्ध धर्ममा अझ बढी छ । सिद्धार्थ गौतमले वोधीज्ञान प्राप्त गर्नु अघि खिर खाएको बौद्ध दर्शनमा उल्लेख छ । त्यसैले पनि खिरको महत्व कति छ भनेर बुझ्न सकिन्छ ।
खिर भगवान गौतमबुद्धसँग प्रत्यक्ष जोडिएको खाद्य परिकार पनि हो । सुजाता भन्ने ब्राम्हण युवतीले सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्नु अघि खिर खान दिएको कुरा बुद्ध दर्शनमा उल्लेख छ । त्यसैले बुद्ध दर्शनमा खिरलाई सूजाता खिरको रूपमा पवित्र खाद्य परिकारका रूपमा लिइने गरिएको छ ।
के हो सुजाता खिर ?
चामललाई दुधमा, चिनी राखेर पकाई तयार गरिने खाद्य परिकार हो । खिर भन्ने वित्तिकै सबैले श्रावण महिना सम्झने गर्छन् । श्रावण महिनामा खिर खाने प्रचलन छ । विशिष्ट तथा पोषक खाद्य परिकारका रूपमा खिरलाई लिने गरिन्छ र धेरै लोकप्रिय पनि छ, नेपाल–भारतमा । खिरलाई पवित्र खाद्य परिकारको रूपमा लिई विभिन्न किसिमका पूजाहरूमा प्रसादको रूपमा पनि लिने गरिन्छ ।
योसँगै खिरको विशेषता अर्को पनि छ । खिरलाई भगवान बुद्धले पनि मन पराएको खाद्य परिकारको रूपमा लिने गरिन्छ । सिद्धार्थ गौतमले वोधीज्ञान प्राप्त गर्नु अघि खिर भोजन गरेको कुरा बौद्ध दर्शनमा उल्लेख छ । तपस्या बस्दाका क्रममा निकै थाकेका बुद्धले खिरलाई भोजनको रूपमा ग्रहण गरेको र खुवाउने महिला सुजाता रहेको बौद्ध दर्शनहरूमा उल्लेख भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले बताए । ‘‘त्यसैले खिरलाई पवित्र खाद्य परिकारको रूपमा लिने गरिएको छ । बौद्ध समय भन्दा अघिदेखि नै खिर परिकारको अस्तित्वमा रहेको प्रमाणित भएको छ’’ अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष समेत रहेका भिक्षु मैत्रेयले भने । वर्तमानमा भारत बिहार राज्यको बोधगया जहाँ सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरी भगवान बुद्धका रूपमा बिश्वभर चिनिएका थिए, त्यही नजिकै सुजाताले बुद्धलाई खिर खुवाएकी थिइन् ।
कथा अनुसार सुजाता तत्कालिन समयमा अरूबेला प्रदेशको सेनानी गाउँमा बस्ने गर्दथिन् । आफ्नो घर नजिक रहेको एक वृक्ष (रूख) को सामुन्ने गई वृक्षदेवसँग आफूलाई पुत्र रत्न प्राप्त भए खिर दान गर्ने प्रतिज्ञा गरेकी थिइन् । सोही प्रतिज्ञा अनुरूप उनलाई पुत्र रत्न प्राप्त भएपछि वृक्षमा खिर चढाउने दिनको प्रतिक्षामा अर्थात् वृक्षमा भगवान नै आउने भन्दै कुर्न थालिन र वृक्ष वरपर सफा गर्न आफ्नो सेविकालाई अह्राइन् । सेविकाले एक दिन वृक्षको फेदमा एक जना तपस्वी बसेको र उनी नै वृक्षदेव हुन सक्ने भन्दै सुजाता सामु गएर भनिन् ।
सुजाताले पनि उनै तपस्वी (जो अत्यन्त निर्वल जस्ता देखिन्थे ) लाई वृक्षदेव ठानी खिर परिकार ग्रहण गर्नुहोस् भन्दा थाहा भयो उनी लामो समयदेखि तपस्या गर्दै बसेका सिद्धार्थ गौतम रहेछन् । उनी केही दिनबाट त्यहाँ ध्यान गरेका रहेछन् । लामो समयदेखिको निआहार तपस्या र ध्यानका कारणले अत्यन्त निर्वल देखिएका र शरिरमा पनि हाड र छाला मात्रै देखिएको अवस्थामा त्यहाँ बुद्धले खिर ग्रहण गरेका हुन् । खिर ग्रहणपछि आत्मबल समेत बढेको सिद्धार्थ गौतमलाई उनले चिताएको कुरा पुगोस् भनेर सुजाताले भनेकी थिइन् ।
सोही दिन राति सिद्धार्थ गौतमले वोधिसत्व प्राप्त गरेको बौद्ध दर्शनमा उल्लेख छ । सुजाताले दिएको खिर नजिकैको निरञ्जना नदीको तिरमा ग्रहण गरेका थिए । सुनको भाडोमा दिएको खिर ग्रहण पछि भाडो फिर्ता दिँदा सुजाताले सो समेत दान गरेको भन्दै नलिने भनिन् । सिद्धार्थ गौतमले सो सुनको भाडोलाई नदीमा बगाउँदै विपरीत दिशामा बगे आफूले चिताएको पुग्ने समेत उल्लेख गरेको भिक्षु मैत्रेयले बौद्ध दर्शनलाई उल्लेख गर्दै भने ।
ध्यान तपस्या बस्दा निआहारका कारण निकै निर्वल र दुब्लो भएको बेलामा सिद्धार्थ गौतमले खिर ग्रहण गर्दा थप पोषकत्प प्राप्त भई पुनः ध्यानमा लिन भएको समेत उल्लेख छ । त्यसैले बौद्ध समयमा मात्र नभई खिरको अहिले पनि निकै महत्व छ । बोधगया नजिकै निरञ्जना नदिको छेउतर्फ सुजाता (जसले बुद्धलाई खिर खुवाईन) कुटी छ । जुन सुजाता कुटीको नामले प्रशिद्ध छ । सो स्थानको अवलोकनका लागि वार्षिक लाखौँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
हिन्दू र बौद्ध समुदाय दुबैमा खिरको विशेष महत्व छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि छ । वर्षाको समय र गर्मी महिना समेत हुने र यो समय किसानहरू बढी खेतबारीमा ब्यस्त रहनु पर्ने समय पनि भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्न सक्ने संभावना बढी हुन्छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने र त्यो शक्ति दुध र अन्य मसाला मिसाई बनाइने परिकार खिरमा बढी हुन्छ । १५ साउनलाई खिर खाने दिनका रूपमा लिइन्छ । खिरको चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स दिन्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर भएकाले यसको धेरै महत्व छ । किसानले धान रोपेर सकिएको खुसीयालीमा साउनमा बिशेष गरी १५ गते खिर खाने गर्दछन् । किसानी गरी थकित भएकाहरूलाई पोशिलो खाद्य वस्तु खिरले पोसिलो बनाउने र बढी उर्जा दिने भएकाले साउनमा खिर बढी खाने गरिन्छ । त्यसैले प्रायः घरमा खिर पाक्ने गर्छ, साउन महिनामा । साउन महिनामा धेरै मानिसहरूले माछा, मासु नखाने समेत भएकाले खिरको प्रचलन बढी हुन थालेको हो । नेपाल सहित भारत र अन्य धेरै हिन्दू धर्म मान्नेहरूले खिर खाने गर्दछन् । साउन महिनामा खिर खाए राम्रो र शुभ हुने धार्मिक मान्यता पनि छ ।
शुद्ध, स्वास्थ्यवद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरूआत समेत खिर खान ख्वाएर गरिने प्रचलन छ । सनातन वैदिक सभ्यता अनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन छ । खिरमा प्रयोग हुने दुध, चामलदेखि अन्य सबै मसलाहरू धेरै गुणकारी छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.