- भैरहवा ।
बचत संकलन तथा बिभिन्न क्षेत्रमा ऋण पवाहको काम गर्दै आएको जिल्ला सदरमुकाम भैरहवा स्थित नेपाल बहुमुखी सहकारी सस्थाले ग्रिनहाउस निर्माण गरी तरकारी खेती सुरु गरेको छ । सहकारीले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा करिब ४ बिगहा जग्गा १० वर्षको लागि लिजमा लिई दुई वर्षदेखि तरकारी तथा फलफुल खेती गर्दै आएकोमा अहिले ग्रिन हाउस निर्माण गरी तरकारी खेती सुरु गरेको सहकारीका अध्यक्ष शिवहरी रेग्मीले बताए ।
अन्र्तराष्ट्रिय गैर सरकारी संस्था जर्मनीको जीआइजेडको आर्थिक सहयोगमा २ वटा आधुनिक टनेल ग्रिन हाउस निर्माण भएको छ । ग्रिन हाउस सहित अन्य प्रविधिको लागत १५ लाख रुपैयाँ रहेको छ । जीआइजेडले ६ लाख ७१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । नपुग रकम सहकारीले व्यहोर्ने छ । ग्रिन हाउस बाहेक बाँकी कामहरुमा उत्पादित तरकारी तथा फलफुलको बजारीकरण, भण्डारण स्थल, बिक्री कक्ष, आवश्यक प्राविधिक तालिम, बिउबिजन, औजार लगायतको सामाग्री खरिद गरिने सहकारी अन्तरगत कृषी समिति संयोजक बाबुराम भट्टराइले बताए ।
दुई वटा ग्रिन हाउसमा टमाटर खेती सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले ग्रिन हाउस भित्र टमाटर बिरुवा रोपेर शुभारम्भ गरेका थिए । सो क्रममा नगर प्रमुख अधिकारीले बचत संकलन र ऋण जारी गर्ने भन्दा पनि भिन्दै सोच बनाई काम अघि बढाएकोमा सहकारी प्रति आभार प्रकट गर्दै नगरपालिका सहयोगका लागि तयार रहेको बताए । उनले नगरपालिकाको समन्वयमा जिआइजेडसंग सहकारीको सहकार्य भएको बताए ।
ग्रिन हाउसलाई बोलिचालीको भाषामा टनेल भनिन्छ । र ग्रिन हाउसलाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना हरु बनाइने गरिन्छ । बिदेश तिर अत्यधिक लोकप्रिय यो प्रविधि नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । अहिले व्यवसायीक उत्पादनका लागि यो रोजाइनै बन्ने गरेको छ ।
ग्रिन हाउसको प्रयोगले मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुने गरेको छ । तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोग बढेको र यसैलाई बोलिचालिको भाषामा टनेल वा ग्रिन हाउस भनिने गरेको सहकारीका कृषि समिति उपसंयोजक बिष्णुृ आचार्यले बताए । ग्रिन हाउस शुभारम्भ कार्यक्रममा सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, वडा नं. ९ र ३ का वडा अध्यक्षहरु शेषकान्त भण्डारी र थानेश्वर पौडेल, सहकारी विज्ञ चन्द्रकान्त भटराई, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल ज्ञवाली, कुलानन्द ज्ञवाली , सहकारीका सचिव भानु पौडेल, उपाध्यक्ष शान्ति अधिकारी लगायतले बोलेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.