- मनोरञ्जन शर्मा
भैरहवा ।
निर्माण सम्पन्नताको क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइटको लागि एरोथाई कम्पनी थाइल्याण्डका प्राविधिक आइपुगेका छन् । क्यालिब्रेशन फ्लाईटका लागि गत वैशाखदेखि नै तयार रहेको विमानस्थल कोभिडको जोखिमका कारण प्राविधिक आउन नसक्दा समय पछि सर्दै आएको थियो । विमानस्थलको आईसिबि टु अन्तरगतको कम्युनिकेशन, न्याभिगेशन सिस्टम साथै उपकरण जडानको ठेक्का पाएको थाइल्याण्डको एरोथाई कम्पनीले नै क्यालिब्रेशन फ्लाइटका लागि प्राबिधिक सहित जहाज ल्याउनु पर्नेमा थाई सरकारले आफ्ना नागरिकलाई बाह्य मूलुकमा गई काम गर्न अनुमति दिएको थिएन् । त्यही कारणले गर्दा क्यालिब्रेशन फ्लाइट हुन सकेको थिएन् । थाइल्याण्डबाट आउने अवस्था नदेखेपछि भारतबाट बोलाउने तयारी गर्दा गर्दै एरोथाइले नै क्यालिब्रेशन फ्लाइट गर्ने भए पछि त्यसको तयारीमा नागरिक उड्यन प्राधिकरण र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना जुटेको र नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।
गौतमबुद्ध बिमानस्थल आईसिबि टुका प्रमुख इन्जिनियर प्रविण न्यौपानेले शनिबार थाईल्याण्डबाट एक मुख्य प्राविधिक आइपुगेको बताए । आइपुगेका थाई प्राविधिकले विमानस्थलका सबै उपकरण लगायतको अनुगमन पश्चात थप अर्को टोली बोलाउने र त्यो टोलीले सबै उपकरणको परिक्षण गरे पछि क्यालिब्रेशन गर्ने जहाज आएर परीक्षण हुने छ, इन्जिनियर न्यौपानेले भने, उपकरण जडान गरेको लामो समय भइसकेकाले पनि क्यालिब्रेशन फ्लाइट गर्नु भन्दा पहिला उपकरण परिक्षण जरुरी रहेको छ, उनले भने । अब मौसमले साथ दिए यसै महिना भित्रै नत्र डिसेम्बर पहिलो साता सम्म क्यालिब्रेशन फ्लाइट सम्पन्न हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वसम्झौता अनुरूप एरो थाइलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि ७ महिना अघि देखिनै तयारी अवस्थामा थियो । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छ या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।
अन्यत्र पनि क्यालिब्रेशनको तयारी
कोभिडका कारणले भैरहवाको मात्रै होइन काठमाडांै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि २ वर्षदेखि क्यालिब्रेशन फ्लाइट हुन सकेको छैन् । अन्यत्रका विमानस्थलहरु नेपालगन्ज, पोखरा, बिराटनगर कहिको पनि भएका छैनन् । सबैको क्यालिब्रेशनको जिम्मा टेन्डरबाट एरोथाई कम्पनीलाई नै परेको छ । अहिले भैरहवा सहित अन्यत्र विमानस्थलको पनि एकै साथ क्यालिब्रेशन गर्ने तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणको क्यालिब्रेशन फ्लाइट तर्फको जिम्मेवारी हेर्दै आएका ई. मनोहर राजभण्डारीले बताए ।
एरोथाईले सबैभन्दा पहिला भैरहवाको र त्यसपछि अन्यत्र विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गर्छ, हामी त्यसको तयारीमा छांै, ई. राजभण्डारीले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ई. प्रबेश अधिकारीले क्यालिब्रेशन फ्लाइट का लागि आबश्यक सबै उपकरण जडान पहिलानै भइसकेको र पूर्वाधार भवन निर्माण सबै सम्पन्न भई फिनिसिङ्ग अन्तिम चरणमा रहेको बताए । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले निर्माण गरीरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुबै चरणमा गरी सात अर्ब ३२ करोड बढी रुपैयाँ खर्च हुने छ । क्यालिब्रेशन फ्लाइट भएको ३ महिना भित्र व्यवसायिक उडान गर्ने योजना नागरीक उड्यन प्राधिकरणको रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.