मनोरञ्जन शर्मा
हिमाल, पहाड र तराई सबैको संगमका रुपमा रहेको लुम्बिनी प्रदेशलाई अमेजिङ्ग लुम्बिनी प्रोभिन्स अर्थात अदभूत, अचम्मको प्रदेशको रुपमा यो प्रदेश रहेको छ र सबैले बुझेको पनि छन् । उद्योग, व्यवसाय, पर्यटन , कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका कुराले यो लुम्बिनी प्रदेशलाई देशकै महत्वपूर्ण प्रदेशका रुपमा चित्रित गरेको छ । अधिक संभावना रहेको प्रदेश हो लुम्बिनी प्रदेश, हिमाल, पहाड र तराईको संगमका रुपमा रहेको अदभूत अचम्मकै प्रदेशका रुपमा यो प्रदेशलाई लिनु पर्छ, लुम्बिनी प्रदेश योजना आयोगका पूर्ब उपाध्यक्ष डा. ईश्वर पोखरेल भन्छन् । प्रदेशको विकासमा तत्कालिन शंकर पोखरेल नेतृत्वको सरकारले राम्रो सुरुवात गरयो । ‘‘पञ्च वर्षिय योजना बनाई विकास निर्माणका लगायतको कामको थालनी भयो, जगको सुरुवात भएका हो’’ डां गौतमको भनाई छ । ‘‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार हरेक कुराको संगम लुम्बिनी प्रदेश हो ।’’ डा. गौतमले भने ।
पश्चिम नेपालका ६ र मध्यपश्चिमका ६ जिल्ला मिलाई बनाइएको लुम्बिनी प्रदेशलाई सम्वृद्ध नेपालको आधारशीला भन्दा फरक नपर्ला । पूर्वमा परासीको त्रिवेणीका केही भागदेखि पश्चिमको बर्दिया कर्णाली पुलसम्म दक्षिणमा रुपन्देहीको मर्चवारदेखि उत्तरमा पुर्बि रुकुमको सिस्ने हिमालसम्म सिमा फैलिएको यो प्रदेश नेपालका अन्य प्रदेश भन्दा भिन्न प्रकृतिको प्रदेश बन्न पुगेको छ ।
उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमा अब्बल यो प्रदेश मुलुककै सम्वृद्धीको लागि मार्गचित्र बन्न सक्छ । रूपन्देही, बर्दघाट सुस्ता पश्चिम (नवपरासी), कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, पूर्व रूकुम लुम्बिनी प्रदेश अन्तरगतका जिल्ला हुन् ।
नेपालका अन्य प्रदेशका तुलनामा लुम्बिनी प्रदेशमा धेरै संभावना रहेकै कारण लगानीकर्ताहरुको ध्यान पनि यसै प्रदेशमा बढी केन्द्रित छ । पर्यटन, कृषि, उद्योग, व्यापार, शिक्षा हरेकका लागि यहाँ अधिक संभावना रहकै कारण लगानीकर्ताहरुको आकर्षणको केन्द्र लुम्बिनी प्रदेश रहेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउछन् ।
भारतसंगका ठूला नाका भैरहवा, नेपालगञ्ज र कपिलवस्तुको कृष्णनगरले आयातनिर्यातका प्रभावकारी भूमिका खेल्दै राजस्व संकलनमा महत्वपूर्ण स्थान बनाएका छन् । ‘‘नयाँ उद्योगहरु चाहे ति उत्पादन मूलक हुन या सेवा मूलक उद्योग खुल्ने क्रम दिनहुँ बढेको छ ।’’ शर्माले भने ।
नयाँ उद्योग स्थापनाका लागि क्रमशः रुपन्देही, नवलपरासी कपिलवस्तु, बाँके, दाङ रोजाईका जिल्ला रहेको शर्माको भनाई छ ।
देशको मध्य क्षेत्रको प्रदेश, भारतीय सिमानाकासँग नजिकै, उद्योगका कच्चा सामग्री भारत हुँदै ल्याउन सहज, तराई मधेशमा उद्योग स्थापनाका लागि सडक मार्ग र विद्युतको पहँुच, उत्पादन भएका सामानहरु देशभर पठाउन सजिलो, पूर्वाधारको विकास, देशकै दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नताको क्रममा, बुद्धजन्मस्थल लुम्बिनी, बाघका लागि विश्व प्रसिद्ध बर्दिया निकुञ्ज, लगायतका कारण उत्पादन मूलक र सेवा मूलक उद्योगहरु स्थापनाका लागि लुम्बिनी प्रदेशमा लगानीकर्ताको आँखा गढेको हो ।
उद्योगका कुरा गर्दा देशका पूर्वाधार निर्माणमा प्रयोग हुने सिमेन्ट छड उत्पादन गर्ने ३५ प्रतिशत उद्योग यसै प्रदेशमा रहेका छन् । पूर्वाधार निर्माण उद्योगका लागि रुपन्देहीको भैरहवा क्षेत्र, कपिलवस्तुको कृष्ण नगर चन्द्रौटा क्षेत्र र नवलपरासीको सुनवल परासी आसपासका क्षेत्र रोजाईमा छन् ।
पर्यटन क्षेत्रमा हेर्ने हो भने विश्वकै ध्यान आकृष्ट गरेको गौतमबुद्ध जन्मस्थल लुम्बिनी, राजा शुद्धोधनको कपिलवस्तु दरबार क्षेत्र, कपिलवस्तुका बिभिन्न बुद्धकालिन सम्पदाहरू, बुद्धको मावलीघर देवदह र बुद्ध धातु (मृत्यु पछिको शरिरको कुनै भाग) रहेको रामग्राम स्तुपले विश्वभर रहेका डेढ अर्ब भन्दा बढी जनसंख्या भएका बौद्धमार्गीहरूको ध्यान आकृष्ट गर्न सक्छ । डेढ अर्बको दशमलब २५ (०.२५) प्रतिशत पर्यटक मात्रै भित्रयाउन लुम्बिनी भित्रयाउन सके पनि वार्षिक ३० लाख भन्दा बढी पर्यटक बुद्धजन्मस्थल लुम्बिनी आउन सक्छन् । लुम्बिनीले मात्रै वार्षिक त्यति पर्यटक भित्रयाउन सक्ने हो भने देशको सम्मृद्धीको मार्ग रेखा लुम्बिनी प्रदेशबाटै कोरिनेमा दुईमत छैन, त्यसैले पनि लुम्बिनी प्रदेशलाई अमेजिङ्ग भनिएको हो ।
लुम्बिनी प्रदेशमा रहेका अन्य पर्यटकीय स्थलमा प्यूठानको स्वर्गद्वारी, पाल्पा भैरवस्थान, गुल्मीको ऋषिकेष मन्दिर, रेसुंगा, अर्घाखाँचीको सुपा देउराली, वाइल्ड लाइफ टुरीजमका लागि विश्व प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज, रोल्पा, रूकुमा, दाङका पर्यटकीय स्थलहरू प्रदेश पाँचका सम्पदा हुन् । विश्वमा नेपाललाई चिनाउने भगवान गौतमबुद्ध जन्मेको स्थल यही भएकाले पनि यो प्रदेश विश्वभर बुद्धजन्म भूमिको प्रदेशका नामले चिनिदै आएको छ ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामा ४५ डिग्री तापमान हुँदा छिमेकका पहाडी जिल्ला पाल्पा, गुल्मी, र्आखाँची, रोल्पा, प्यूठान, रुकुम पूर्वमा औसत तापमान २५ देखि ३० डिग्री हुन्छ । जस्तो मौसममा रम्न चाह्यो त्यस्तै किसीमको मौसम यो प्रदेशमा पर्यटकले पाउन सक्ने भएकाले पर्यटकहरुका लागि लुम्बिनी प्रदेश अमेजिङ्ग नै रहेको छ । धार्मिक, मनोरञ्जन, पदयात्रा, शाहसिक खेल, संस्कृती, प्रकृति, हिमाल आरोहण जेमा रम्न चाहन्छन् पर्यटकहरु सबै खाले पर्यटनसंग सम्बन्धित क्षेत्र प्रदेशमा रहेकाले साच्चैको अदभूत र अचम्मको प्रदेश रहेको छ लुम्बिनी ।
सिस्ने हिमाल
लुम्बिनी प्रदेशको शिर बनेर सिस्ने हिमाल रहेको छ । ५ हजार ९ सय ११ मिटर अग्लो हिमाल लुम्बिनी प्रदेशको साथमा हुँदा यो प्रदेशको गौरवगाथा अझ बढेको छ । प्रदेशका पहाडी जिल्लाहरूमा लघु तथा घरेलु उद्योगले महत्व पाउँदै आएका छन् । पहाडी जिल्ला हिल स्टेशनको रुपमा धमाधम पूर्वाधार तयार भइरहेका छन् ।
प्रदेशका पहाडी जिल्लामा चुनखानी अत्यधिक रहेकाले सिमेन्ट बनाउन भारतबाट चुनढुंगा आयात गर्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको छ । देशका कुल उद्योग मध्ये १४ प्रतिशत बढी उद्योग यो प्रदेशमा छन् । कृषिका लागि यो प्रदेश देशमै अगाडी छ । धान र गहँु देशमै बढी फल्ने जिल्लाका रूपमा रूपन्देही छ भने नवलपरासी, कपिलवस्तु बाँके, बर्दियामा पनि प्रशस्त धान गहँु उत्पादन हुने गरेको छ । अन्नका लागि यो प्रदेश आफैमा आत्मनिर्भर समेत छ । बाँकेको बबई नदीमा निर्माणधीने सिक्टा सिंचाई परीयोजना लगायत रूपन्देहीको तिनाउमा कालिगण्डकी डाइभर्सन जस्ता महत्वाकांक्षी प्रस्तावित योजना रहेका छन् । त्यस्तै वनपैदावरका लागि पनि यो प्रदेश निकै राम्रो छ । क्षेत्रफल धेरै नभए पनि संरक्षित सामुदायिक वनहरू छन् । नेपालको वन क्षेत्रको कुल भूभाग मध्ये १५ प्रतिशत यो प्रदेशमा छन् । शिक्षा स्वास्थयका लागि पनि यो प्रदेश नमूना बन्दै गएको छ । पाल्पा, रूपन्देही र बाँकेमा गरी ४ वटा शिक्षण अस्पताल (रूपन्देहीको देवदहमा पढाई सुरू छैन) छन् । त्यस्तै गरी अन्य ठूला अरू, नर्सिंग होम पनि दर्जनौ छन् । पहाडी जिल्लाका तुलनामा तराई मधेशमा बढी अस्पतालहरू रहेका छन् । बुटवलको अञ्चल अस्पताल र दाङको राप्ती अस्पताललाई प्रादेशिक रिफरल अस्पतालको रुपमा विकास गर्ने गरी योजना अघि बढेको छ ।
भौतिक पूर्वाधार निर्माण तिब्र
यो प्रदेशमा सडकको सञ्चालले एकापसका सबै जिल्लाहरू जोडिन पुगेका छन् । जसले गर्दा सहज रूपमा यातायात सञ्चालनमा छन भने एक जिल्लामा उत्पादित कृषि उपजहरू अन्य जिल्ला र अरू प्रदेश तथा केन्द्रमा सजिलै पठाउन सकिन्छ । प्रदेशका मुख्य शहरका रूपमा रहेको अस्थायी राजधानी, बुटवल, भैरहवा, नेपालगञ्ज, तुलसीपुर, घोराही भित्र बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै बिभिन्न दातृनिकायको ऋण तथा आर्थिक सहयोगमा सडक विस्तार, ढलनाला लगायतका भौतिक पूर्वाधार निर्माण तिब्र भएका छन् ।
बेलहिया (भैरहवा)– बुटवल २३ किमि लामो सिक्सलेन सडक निर्माणाधीन छ भने नेपालगञ्ज कोहलपुर सिक्सलेन सडक निर्माण सम्पन्न छ । त्यसै गरी भैरहवा लुम्बिनी हुँदै तौलिहवासम्म सडक निर्माण सम्पन्न छ । नेपालगञ्जमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण घोषणा भएको छ भने रूपन्देहीको तिलोत्तमामा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि डिपिआर तयार भएको छ । पहाडी जिल्लाहरूमा पनि त्यहाको भौगोलिक अवस्थाको आधारमा लघु तथा घरेलु उद्योग खुल्ने क्रम तिव्र भएको छ ।
निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
यो प्रदेशलाई समृद्धता तर्फ लैजाने मुख्य मार्ग चित्रका रूपमा भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । छिटै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएको छ । संभवत एक महिना भित्र क्यालिब्रेशन फ्लाईट गर्ने तयारी भइरहेको छ ।
विमानस्थल सञ्चालनसंगै यहाँ पर्यटन उद्योग फस्टाउने छ भने रोजगारीका हजारौ संख्या सृजना हुनेछन् । नारायणी पश्चिमका लागि भैरहवाको विमानस्थल महत्वपूर्ण रूपमा लिइएको छ । यो विमानस्थललाई त्रिभुवन विमानस्थलको बैकल्पिक विमानस्थलको रूपमा लिइने भन्दै काम छिटो सम्पन्न गर्नमा जोड दिइएको छ ।
भैरहवा सेज
देशकै महत्वाकांक्षी पहिलो पाइलट परियोजना विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)मा उद्योगहरु स्थापना भई उत्पादन सुरु गरिसकेका छन् ।
होटल व्यवसायमा अर्बौको लगानी
लुम्बिनी प्रदेशमा फस्टाएको व्यवसाय मध्ये पर्यटन उद्योग अन्तरगतको होटल व्यवसाय हो । साना पर्यटकीय सुविधादेखि पाँच तारे होटलसम्म यो प्रदेशमा रहेका छन् । भैरहवाको चिल्हिया क्षेत्रमा वैदेशिक लगानी रहेको सिल्भर हेरिटेज गु्रपको पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा छ भने लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायी पवन हलुवाईले पाँच तारे होटल पवन प्यालेस इन्टरनेशनल सञ्चालनमा ल्याएका छन् । नेपालगञ्जमा सोल्टी वेष्टर्न पाँच तारे होटल सञ्चालनमा छ भने सिद्धार्थ गु्रपले भैरहवामा पाँच तारे होटल निर्माण गरिरहेको छ । त्यसै गरी एसियन इन्टरनेशनल रेसिडेन्सी पाँचतारे होटल भैरहवामा निर्माणाधिन छन् ।
भैरहवाकै नान्स होटल(चार तारे) स्तरउन्नती भएको छ । तिलोत्तमाको मणिग्राममा ड्रिमल्याण्ड रिसोर्ट पनि स्तरउन्नती गरी चारतारे भएको छ । लुम्बिनीमा जापानी पर्यटक आकर्षक गन्न बनाइएको होक्के होटल तथा लुम्बिनी कासाई होटल (तिनतारे), बुद्धमाया गार्डेन, लुम्बिनी क्रिस्टल लगायतका ठूला होटल छन् । बुटवलमा ड्रिम बुटिक होटल ४० करोड बढीको लगानीमा केहि दिन अघि सञ्चालनमा आएको छ । त्यस्तै बुटवल, दाङ लगायत, तानसेन र अरू पहडी जिल्लामा पनि होटल व्यवसायमा लगानी बढीरहेको छ । यो प्रदेशमा मात्रै साना ठूला गरी होटल क्षेत्रमा खर्ब भन्दा बढीको लगानी छ ।
एअर कनेक्टीभिटी
यो प्रदेशमा अहिले चालु अवस्थामा भैरहवा र नेपालगञ्ज विमानस्थल रहेका छन् । नेपालगञ्ज विमानस्थलबाट नियमित रूपमा काठमाडौं–पोखरा सहित पश्चिमका अन्य पहाडी जिल्लाहरू मुगु, जुम्ला, बझाङ्ग, डोल्पा लगायतका स्थानमा समेत उडान भइरहेको छ ।
त्यसै गरी भैरहवाबाट अहिले काठमाडांै, पोखरा, चितवन, बिराटनगर नियमित उडान छ । त्यसैले लुम्बिनी प्रदेशको एअर कनेक्टिभिटीमा प्रदेश ३, ४ र ६ लाई जोडेको छ । दाङको विमानस्थलमा पनि नियमित उडान नभए पनि कहिलेकाही उडान हुँदै आएको छ । रूकुममा पनि हवाई उडान कहिलेकाही हुने गरेको छ । त्यसैले एअर कनेक्टिभिटीका लागि पनि यो प्रदेश अब्बल छ ।
समग्रमा भन्दा लुम्बिनी प्रदेश हरेक कुराले अमेजिङ्ग रहेको छ । लगानीकर्ताको लागि होस या पर्यटन क्षेत्रका लागि, वा व्यापार व्यवसाय अथवा उद्योग स्थापना गर्न लुम्बिनी प्रदेश आफैमा उत्कृष्ट छ । लुम्बिनीले आफू मात्रै होइन समग्र देशलाईनै समृद्धीको मार्गमा डो रयाउने पर्यटन, उद्योग, व्यवसाय, कृषि लगायत यो क्षेत्रमा रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.