- कुलदीप चौधरी (आकाश)
भैरहवा
निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार (फागुन ६) देखि क्यालिब्रेशन फ्लाइटको तयारी भएको छ । क्यालिब्रेशनका लागि थाइल्याण्डबाट एरो थाई कम्पनीको जहाज ५ गते काठमाडांै आइपुग्ने नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिए ।
विमानस्थल कार्यालयले फागुन ६ गतेदेखि १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुने भन्दै बिमान सेवा कम्पनीहरुलाई नोटिस फर एअरम्यान (नोटाम) पठाइसकेको छ । यहाँबाट उडान गर्ने सबै विमानसेवा कम्पनीहरुलाई नोटाम पठाइसकिएको छ । ‘‘अब उहाँहरुले क्यालिब्रेशन फ्लाइट हुने समय बिहान १० बजेदेखि बेलुका ०५ः४५ बजेसम्म उडान गर्नु हुँदैन र सोहि अनुसार उडान तालिका मिलाउनु हुनेछ ।’’ सूचना अधिकारी राउतले भने । अहिले यहाँबाट काठमाडाैं, पोखरा, चितवन, बिराटनगरका लागि दैनिक औसतमा १८ वटासम्म उडान हुने गरेको छ, एक दुई उडानमात्र प्रभावित होलान् तर रातीको उडान सुविधा रहेकाले बेलुका क्यालिब्रेशन सकिए पछि निरन्तर उडान हुने र बिहान पनि क्यालिब्रेशन अघिको समय मौसम सफा भए उडान हुने राउतले बताए ।
क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा जडान गरिएका आइएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ÷छैन भन्ने जाँच्ने प्रविधि हो र यो हवाई उडान गरेर मात्र गर्न सकिन्छ र जडान भएका उपकरणले काम गरे नगरेको उडान गर्दा मात्र थाहा हुने भएकाले मर्मत गर्नु पर्ने वा फेर्नु पर्ने भए तत्काल गर्न सकिन्छ । त्यसैले परीक्षण उडान भन्दा अघि क्यालिब्रेशन फ्लाइट अनिवार्य छ । विमानस्थल निर्माण आयोजना अन्तरगत आईसिबि टुमा संचार वा नेभिगेसन लगायतका जडान भएका उपकरणसंगै क्यालिब्रेशनका लागि समेत थाइल्याण्डको एरो थाई कम्पनीलाई ठेक्का परेको थियो ।
क्यालिब्रेशन फ्लाइट पछि नेपाल एअरलायन्सको वाईडबडी (एअरबस ३३०) ले परिक्षण उडान गर्ने तयारी भइरहेको र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनार्थका लागि आवश्यक अन्य कामहरु समानान्तर तरिकाले भइरहेको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए । ९८ प्रतिशत निर्माणको काम सकिसकेको यो विमानस्थल देशको एक मात्र इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) भएको विमानस्थल हो ।
उडान बिहान र बेलुका अहिले मौसम सुधार भइरहेको र काठमाडांैको त्रिभुवन विमानस्थल पनि बिहानै खुल्ने भएकाले क्यालिब्रेशनका समयमा बिहान र बेलुका उडान भर्ने गरी तयारी बिमानसेवा कम्पनीले गरेका छन् । भैरहवाबाट सबैभन्दा बढी उडान गर्दै आएको बुद्ध एअरले कुनै पनि उडान कटौती नगरेको जनाएको छ । बुद्ध एअर भैरहवाका प्रमुख दर्शन घिमिरेले भैरहवाबाट काठमाडांैका लागि बिहान ७।४५, ८ र ९ बजे तथा बेलुका ५।४५ पछि उडान हुने र पोखरा बिहान ८।४५ बजे उडान गरिने जानकारी दिए । त्यसै गरी श्री एअरलाईन्सका भैरहवा स्टेशन प्रमुखले दिउँसोको उडानलाई बिहान र बेलुका गरिएको र कुनै पनि उडान कटौती नगरेको जनाए । एती एअरले पनि दिउँसोको उडान बिहान गर्ने भएको छ । यहाँबाट बुद्ध, एती, श्री, सौर्य, गुणले काठमाडांै सहित पोखरा, चितवन, बिराटनगरमा क्षेत्रीय उडान गर्दै आएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.