- भैरहवा ।
रणनैतिक सडक निर्माण गर्ने सरकारी नीति अनुसार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा सडक निर्माण स्तरउन्नती कार्यको शिलान्यास भएको छ । सो निर्वाचन क्षेत्र अन्तर्गत मायादेवी गाउँपालिकाको झुलनीपुरदेखि कोटहीमाई गाउँपालिका मर्चवारको अजमासम्मको सडक खण्डको स्तरउन्नती कार्य सुरु भएको हो।
सगुन कन्सट्रक्शन रुपन्देहीले बोलकबोल प्रथा (ठेक्का) मार्फत १५ करोड २२ लाख ७६ हजार १ सय ९३ रुपैयाँमा निर्माण एवं स्तरउन्नती गर्ने जिम्मा पाएको हो । सडक डिभिजन कार्यालय बुटवलसंग सगुन कन्सट्रक्शनले २०७९ जेठ ६ गते संझौता गरी २०८१ असोज ६ मा (२७ महिनामा) कार्य सम्पन्न गर्नु पर्ने रहेको डिभिजनल इन्जिनियर एवं कार्यालय प्रमुख ई. जयलाल मरासिनीले बताए । अष्फाट कन्क्रिट प्रविधिको प्रयोगबाट सडक कालोपत्रे गरिने र मायादेवी गाउपालिका वडा नम्बर ४ (लुम्बिनी सडक मार्ग) झुलनीपुरबाट सुरु भई सिपवा, केवटलिया, अर्दवलि हुँदै अजमा सडकखण्ड स्तर उन्नति हुने मरासिनीले बताए ।
स्तरउन्नती हुने सडकको लम्बाई ७ किलोमिटर रहेको छ । सडक डबल लेनको बन्नेछ । नाली सहित सडकको चौडाई ११ मिटर तथा सडकको दुबै तर्फ किनारमा पौने मिटरकम सोल्जर निर्माण हुनेछ । उक्त सडक खण्डको रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले शिलान्यास गर्दै सडक स्तरउन्नति सम्पन्न पछि मर्चवार क्षेत्रका ३ गाउँपालिकासंगै लुम्बिनी सास्ँकृतिक नगरपालिकाका केहि वार्ड तथा मायादेवी गाउपालिकाको १ वार्ड एकापसमा जोडिने बताउँदै यस क्षेत्रमा उत्पादन हुने कृषि उपज तथा अन्य व्यवसायिक वस्तुहरु बिक्री बितरणका लागि ल्याउन लैजान सहज हुने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.