- भैरहवा ।
आज असार १५, मानो रोपेर मुरी उब्जाउने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइन्छ । यस पटक १९औं राष्ट्रिय धान दिवस हो । यो वर्षको धान दिवसको नारा ‘‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’’ रहेको छ । धान दिवस मनाउन र किसानहरु खेतमा रोपाईमा व्यस्त रहँदा उनिहरुलाई भने यस पटक पनि मल अभाव भएको छ । १५ असारमा आधा भन्दा बढी रोपाई भइसक्नु पर्ने हो । समयमा पानी नपर्नु र मलको अभावले गर्दा किसानले समयमै रोपाई गर्न पाएका छैनन् ।
खेतमा रमाउनु पर्ने किसान मल खोज्न बजारबजार भौतारिएका छन् । मलको अभाव सर्वत्र छ । रूपन्देहीको रोहिणी ५, वरवाका कृषक उमाशंकर चौधरी (सचिव) मलको अभावसँगै समयमा पानी नपर्दा रोपाई प्रभावित भएको बताउँछन् । २ दिनदेखि परेको वर्षाले भने केही राहत दिएको छ । जसो तसो किसानहरु आजका दिन विहानैदेखि खेतमा रोपाई गर्न व्यस्त रहेका छन् । किसानहरु खेतमा रोपाई गरेर रमाइ रहँदा विभिन्न संघसंस्था, स्थानीय तह लगायतले धान दिवस मनाउने गरेका छन् । आज रोपाई गरेपछि दही, चिउरा खाने प्रचलन छ, त्यसैले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.