- न्यूज ओके रिपोर्टर
भैरहवा ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मालटोलमा रहेको राधाकृष्ण मन्दिर यस क्षेत्रकै पुरानो मन्दिर रहेको छ । राणाकालिन समयमा वि.स. १९९८ मा मन्दिर स्थापना भएको स्थानीयहरुको भनाई छ । मन्दिर स्थापनाको ८१ वर्ष भइसकेको छ । स्थानीय तहले ध्यान नदिँदा ऐतिहासिक महत्व बोकेको एक मन्दिर ओझेलमा परेको छ ।
मन्दिरको अहिले पुनः निर्माण गरिएको र ८५ प्रतिशत निर्माण सम्पन्न भएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिना क्षेत्रीको भनाई छ । मन्दिर अहिले शिखर शैलीमा निर्माणाधिन अवस्थामा छ । पहिला सामान्य अवस्थामा एक तले घर जस्तै थियो, अहिले मन्दिरले मुर्त रुप पाएको र निर्माण सम्पन्न पश्चात आकर्षक देखिने अध्यक्ष क्षेत्रीले बताइन् । साजसज्जा पछि अझै उत्कृष्ट हुनेछ, क्षेत्रीले भनिन् ।मन्दिरमा गजुर पनि नया राख्ने योजना रहेको र यस्का लागि लाखौ रुपैया खर्च हुने जनाईएको छ ।
मन्दिरको पछाडी पूर्व तर्फ धर्मशाला पनि निर्माण भएको छ । धर्मशालामा बास बस्न सक्ने सुबिधा रहेको छ, जसले गर्दा तिर्थालुहरुलाई थप सजिलो हुने छ । मन्दिर निर्माणमा अहिले सम्म ४० लाख भन्दा बढी रुपैयाँ बढी खर्च भइसकेको छ ।
संविधान सभा सदस्य दिपक बोहराले तत्कालिन समयमा संसदीय कोषबाट ६ लाख बढी र सिद्धार्थनगर नगर पालिकाले ५ लाख सहयोग बाहेक अन्य सरकारी निकायबाट मन्दिर निर्माणका लागि कुनै पनि सहयोग आएको छैन । निर्माणका लागि मन्दिरका आजिवन सदस्य, बजारका साहुमहाजन, बुद्धिजिवी, उद्योगी व्यवसायीको सहयोगबाट दान दातव्य मार्फत प्राप्त भएको सहयोग मुख्य रहेको मन्दिर व्यवस्थापन समितिका सचिव रबिन्द्र शर्मा घिमिरेले बताए । मन्दिर निर्माणको बाँकी काम सम्पन्नका लागि अझै २५ लाख भन्दा बढी रुपैयाँ खर्च लाग्ने बताइएको छ । मन्दिर निर्माण कार्य जारी रहेकाले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ ले १ लाख रुपैया बिनियोजन गरेको वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।
मन्दिरमा पुजारीको व्यवस्था रहेको छ भने हरेक दिन बिहान बेलुका नित्य पूजा हुने गरेको छ । मन्दिरभित्र राधाकृष्ण साथै बिभिन्न भगवानका मुर्तिहरु रहेका छन् । मन्दिर भित्र केही समय अघि भारतको अयोध्याबाट ल्याईएको राधाकृष्णको मुर्ति राखिएको छ । मालटोलमा राधाकृष्ण मन्दिरको स्थापना भए पश्चात सोही वर्षदेखि भाद्रकृष्ण नवमीका दिन (जन्माष्टमीको भोली) हरेक वर्ष श्रीकृष्णको मुर्तिलाई रथमा राखेर रथारोहण हँुदै आएकोमा गत २ वर्षदेखि कोरोना भाइरस संक्रमणको कारणले रोकिएको मा यो पटक रथयात्रा पनि हुने भएको छ । तर अघिल्ला वर्षहरुमा भने रथयात्रा हुने गरे पनि भैरहवाको राधाकृष्ण रथयात्राको त्यति चर्चा छैन् । विगत ८१ वर्षदेखि रथयात्रा निरन्तर चलिरहेको छ । राणाकालबाटै सुरू भएको यो रथयात्रा पुरानो रथयात्रा भएर पनि स्थानीय तहले वास्ता नगर्दा ओझेलमा परेको छ । रथयात्राको अपनत्व सिद्धार्थनगरले लिई त्यस दिन स्थानीय बिदा घोषणा गरी रथयात्रामा सहभागी हुन सबै नगरबासीमा आग्रह गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन्, यस तर्फ नगरपालिकाले सोच्नु पर्ने भएको छ ।
विराटनगरमा राधाकृष्णको रथयात्रा भब्य एवं सभ्य तरिकाले हँुदै आएको छ, जसमा लाखांै श्रद्धालु उपस्थित हुन्छन् । भैरहवाको राधाकृष्ण रथयात्रालाई पनि प्रचारप्रसार गरी भव्य बनाउन सके हजारांै श्रद्धालु सहभागी हुन सक्ने र यसले धार्मिक पर्यटनलाई पनि टेवा दिने मन्दिरका सल्लाहकार गणेश क्षेत्रीको भनाई छ ।
यस वर्ष भाद्र ३ गते शुक्रबार जन्माष्टमी पर्व र ४ गते शनिबार (भाद्र कृष्ण नवमी) का दिन रथ यात्राको तिथि हो । अष्टमीको दिन बिहान ५ बजे देखि मध्यरात कृष्ण भगवानको जन्म नहुदा सम्म मन्दिरमा पूजा पाठ, भजन किर्तन हुने गर्दछ । मन्दिर भक्तजन एवं श्रद्धालुहरुका लागि बिहानैबाट खुल्लै रहने छ । भाद्रकृष्ण अष्टमीको भैरहवामा अत्यधिक अत्यधिक श्रद्धालुको उपस्थिति हुने गर्दछ ।
Get real time update about this post categories directly on your device, subscribe now.