मनोरञ्जन शर्मा
भैरहवा(१९ साउन)
ब्युटिफुल भैरहवाको नारा बोक्दै हिडने सिद्धार्थ नगरले सुन्दर नगर बनाउन सहयोग गर्दै आएका नगरबासीलाई ढाडै सेकिने गरी कर बढाएर उपहार दिएको छ ।
गत आर्थिक वर्ष २०७९।८०मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सिद्धार्थनगर असफल भएपछि चालु आर्थिक वर्षमा बढी राजश्व संकलन गर्ने निति बनाई करको दरहरुनै बढाएको छ । चालु आर्थिक वर्ष २०८०।८१का लागि नगरपालिकाले सम्पत्तिकर, भूमिकर लगायत अन्य व्यवसायकरमा अस्वाभाबिक बृद्धी गरेको सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का स्थानिय बासिन्दा मनिष भटराईले बताए ।
गत बर्ष र अहिलेका सम्पत्तिकर, भूमिकर लगायतको दर एक्कासी बढाईएको रहेछ, बुझाउन जादा मात्र थाहा भयो, जनताको ढाड सेक्ने गरी कर बढाउदा जनतालाई के सुबिधा दिएका छौ त्यो हेक्का छैन, कसरी हुन्छ असुली गर्ने तर्फ मात्रै नगरपालिकाको ध्यान छ, भटराईले भने ।
नगरपालिकाले आर्थिक वर्षका लागि निर्धारण गरेको सम्पत्तिकरको दरमा ४ करोड ५० लाख १ रुपैया देखि ५ करोड रुपैया सम्मको सम्पत्ति हुनेले वार्षिक ६० हजार र त्यो भन्दा माथिको सम्पत्ति भए दशमलब २ प्रतिशत कर बुझाउनु पर्नेछ ।
यस्तै न्यूनतम २ लाख ५० हजार देखि २५ लाख सम्मको सम्पत्ति हुनेले वार्षिक ५० रुपैया कर बुझाउनु पर्ने सिद्धार्थनगरको आर्थिक विधेयक २०८०मा उल्लेख छ । त्यस्तै मालपोत तथा भूमिकर तर्फ पनि सम्पत्तिकर बराबरकै कर तोकिएको छ । भुमिकर दुबै तर्फ नगरपालिकाले बिना अध्ययन कर बढाएको देखिन्छ । करको दर एक्कासी बढेपछि नगरबासीले असन्तुष्टी प्रकट गरेका छन् । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भई उठन नसकेको अवस्थामा करको दर अस्वाभाबिक रुपमा बढाइएपछि अब नगरपालिकाले लगाएको करका बिरुद्ध आन्दोलन गर्नु पर्ने भएको बिएन गुप्ताले बताएका छन् । नगरपालिकाले अन्य क्षेत्रको पनि करको दर बढाएको छ ।
नगरपालिकाले सम्पत्ति कर बाट ३ करोड, भुमिकरबाट २ करोड, घरजग्गा बहालबाट ३ करोड ५० लाख, व्यवसायकरबाट ३ करोड, बहाल बिटौरीबाट १ करोड ६० लाख, पार्किंग शुल्कबाट १० लाख, जडीबुटी, कवाडी र जीवजन्तु करमा ६० लाख, सेवा शुल्क ५ करोड ७५ लाख र भाडा तथा रोयल्टीमा ४० लाख गरी कुल १९ करोड ९५ लाख रुपैया कर संकलन गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.