मनोरञ्जन शर्मा
भैरहवा ।
सूर्य भगवान्को आराधना गरी मनाइने तराई क्षेत्रको मुख्य पर्व छठ बुधबारबाट सुरु भएको छ । चार दिन सम्म यो पर्ब बिभिन्न विधि पुरा गर्दै मनाइन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिए पछि यो पर्व सकिन्छ ।
यो पर्वमा पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिए पछि यो पर्व सकिन्छ ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारी लगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी आफुले ईच्छा गरेको मनोकामना पूर्ण भएपछि यो पर्व सुरु गर्ने गरिन्छ । छठी माईको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा बुटवल र अन्य ग्रामिण क्षेत्रहरु बेथरी, बरेवा, बनगाई, धकधई, रोहिणी नदी, बेलहिया मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा धुमधामका साथ मनाइने गरिन्छ ।
कोरोनाले छठ पनि प्रभावित
तर यस वर्ष कोरोना भाइरस संक्रमणको कारण भने अन्य पर्व जस्तै यो पर्व पनि प्रभावित भएको छ । संक्रमणबाट जोगिंदै स्वास्थ्य सतर्कता अपनाई मनाउनु पर्ने भएको छ । धर्म पनि रहनु प¥यो, पर्व पनि मनाउनु प¥यो, कोरोना रोगबाट पनि बच्नु प¥यो, त्यसैले तामझाम नगरी सामान्य रुपमा छठ पर्व मनाउन हामी सबैमा आग्रह गरेका छौं, श्रीरामजानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र रौनियारले बताए । छठ पोखरीमा आउने श्रद्धालुहरुलाई मास्क अनिवार्य लगाएर आउन, स्वास्थ्य सतर्कता अपनाउन र बढी भिडभाड नगर्न हामी सबैमा आग्रह गर्दछाैं, अध्यक्ष रौनियारले भने ।
गल्लामण्डीमा श्रीरामजानकी हनुमान मन्दिर परिसरमा छठ पूजाका लागि सरसफाई साथै पोखरीमा पानी भर्ने र श्रद्धालुहरुले पाखरीको किनारमा पूजाका लागि वेदी बनाउने काम भइसकेको श्रीरामजानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र रौनियारले बताए । अहिले बिगतमा जस्तो भव्यपूर्वक मनाउने अवस्था छैन, त्यसैले सामान्य तयारी छ । बिगतमा जस्तो शोभा यात्रा, रात्री जागरण, केही कार्यक्रम छैन, धर्म परम्परा जोगाउन निरन्तरता दिन सामान्य रुपमा आयोजना हुँदैछ, रौनियारले भने ।
भैरहवामा नेपाली सेनाको कालिभक्ती गण परिसरमा अवस्थित छठमाई पोखरीमा छठ पूजाको तयारी छैन । यस पटक कोरोना भाइरस संक्रमणको कारण त्यहाँ स्वीकृत पाउन सकिएन, १० हजार भन्दा बढी त्यहाँ श्रद्धालु जम्मा हुने गर्दथे, जोखिम बढी हुने हुँदा त्यहाँ छठपूजा नहुने भयो, छठ पूजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित सेनाको कालिभक्ती गण परिसरमा रहेको पोखरीमा बिगत ५६ वर्ष भन्दा लामो समयदेखि निरन्तर छठ पूजा हुँदै आएको थियो, यो वर्ष नहुने भयो, गुप्ताले भने । अन्य कार्यक्रमहरु भैरहेका छन् । बजारमा भिडभाड दिनहुँ बढेकै छ, तर धर्म पर्व मनाउन अंकुश लगाउने , नमनाउ भन्ने सरकार तथा प्रशासनको कुरा अलि मन दुख्ने खालको छ, सामाजिक दुरी भौतिक दुरी कायम गरी मनाउनु भनेको भए राम्रो हुन्थ्यो, गुप्ताले भने ।
यस वर्ष जहाँ जस्लाई पायक पर्छ त्यसरी मनाउन म सबैमा आग्रह गर्छु, गुप्ताले भने । धेरैले घरको छतमा या कम्पाउण्डमै सानो पोखरी खाल्डो खनि त्यही बेदी बनाई छठ पर्व मनाउने तयारी गरेको गुप्ताले जानकारी दिए । ग्रामिण क्षेत्रमा भने खोला, नाला तलाउ धेरै हुने भएकाले छठ पूजा गर्न समस्या छैन् ।
दशंै तिहार जस्तै तराईबासीका लागि छठ पर्वले विशेष महत्व राख्ने गर्छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।
छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ ।
विशेष गरी तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला वर्षहरुमा पहाडी मूलका महिलाहरु समेत पूजाका लागि आउने क्रम बढेको र यसले एक धर्म जातीले अर्को धर्म जातीको पर्व सस्कारलाई उच्च सम्मान दिँदै एकताको सन्देश समेत दिने गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.