श्रीन्यूज ओके रिपोर्टर
बुटवल
रुपन्देही प्रहरी र खाग तस्कर बीच गोली प्रहारमा एक जना गम्भीर घाइते भएका छन् । बुटवल वडा नं. ८, सुख्खानगरमा रहेको कलश होटलमा खाग तस्करहरु खाग सहित जम्मा भएको गोप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बुटवलबाट सादा पोशाकमा रहेका प्रहरीले तस्करहरुलाई नियन्त्रण लिने क्रममा प्रहरीसँग रहेको पेस्तोल तस्करले खोसी चलाउँदा तस्कर मध्येकै एक जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कालीकोट जिल्ला पचासझरना गाउँपालिका १ बस्ने २३ वर्षिय राकेश न्यौपाने रहेका छन् ।
उनको दाँया कुमको घाँटी नजिकै गोली लागेको थियो । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज लगिएको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सत्य नारायण थापाले बताए ।
खाग तस्करमा संलग्न अन्य दुई सुर्खेत लेकबेसी गाउँपालिकाका ३१ वर्षिय भक्त बहादुर थापा र जाजरकोट गोरेकोट गाउँपालिकाका २६ वर्षिय कर्ण बहादुर राउतलाई प्रहरीले नियन्त्रणमा लिएको त्यस्तै अन्य एक जना फरार रहको बताइएको छ । घटना स्थलबाट गैडाको एउटा खाग समेत प्रहरीले बरामद गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.