- भैरहवा
नरभक्षी बाघ भन्ने धेरै सुनिन्छ । तर सबैलाई थाहा नहुन सक्छ नरभक्षी बाघ भनेको के हो ? जुन बाघले मान्छे खान्छ त्यस बाघलाई नरभक्षी बाघ भनिन्छ । सबै बाघ हरु नरभक्षी हुदैनन् । मानिस खान पल्केका नरभक्षी बाघहरुलाई बिभिन्न माध्यमबाट नियन्त्रणमा लिइन्छ र त्यस्ता नरभक्षी बाघलाई जीवनभर या त असहाय केन्द्रमा राखिन्छ, अथवा या त चिडियाखाना पठाइन्छ । नरभक्षी बाघले एक पटक मान्छेलाई खाएपछि उ बारम्बार मान्छे खान लालायित हुने बाघ सम्बन्धि धेरै अध्ययनले देखाएको संरक्षण अधिकारीहरु बताउछन् ।
मानिस खान पल्केका बाघ पुनः मान्छे नै खोजी हिँड्ने गर्छ । अन्य जनावर भन्दा मान्छे मार्न सजिलो हुने भएकाले पनि नरभक्षी बाघले र अन्य अस्वस्थ बाघहरुले पनि मान्छेको शिकारका लागि कुरेर बसेको पाईन्छ ।
त्यसैले नरभक्षी बाघलाई नियन्त्रणमा लिई उपचार गरेर बनमा छाडिदैन् । उसलाई चिडियाखाना अथवा असहाय केन्द्रमा पठाइन्छ । घरपालुवा जनावर वा अन्य प्रकृतीका जनावर मात्र मारेर खाएको छ भने सो बाघलाई नियन्त्रणमा लिई उपचारपश्चात् स्वस्थ भएपछि उसको गतिविधिको अध्ययन गरेर मात्र प्राकृतिक वासस्थान(बन)मा लगेर छाडने गरिन्छ ।
यसरी छोडिएका बाघहरू सजिलैसँग प्राकृतिक वासस्थान अर्थात बनमा पहिलाझैँ आफ्ना प्राकृतिक आहाराको सिकार गर्न सक्षम भएका पनि छन् ।
यदि स्वस्थ बाघ जंगलमा देखियो भने आत्तिनु पर्दैन, उसले मान्छेलाई केही पनि गर्दैन, ऊ आफैँ तर्किएर लुसुक्क झाँडितिर अथवा बिपरित दिशा तिर लाग्छ भने अस्वस्थ बाघ देखियो भने मान्छेलाई आक्रमण गर्न गौँडो ढुकेर बस्छ । स्वस्थ बाघ हेर्दैमा खाइलाग्दो हिष्टपुष्ट, मोटोघाटो र आकर्षक देखिन्छ भने अस्वस्थ बाघ दुब्लो, पछाडिको भाग सुकेको, ख्याउटे र शरीरको रङ उडेको जस्तो फिका हुन्छ र यस्ता बाघ देखिएमा सतर्कता अपनाउनुपर्ने हुन्छ र यस्ता अस्वस्थ बाघ बाट मानिसलाई बढी खतरा छ ।
मान्छे खाने नरभक्षी बाघलाई नियन्त्रणमा लिन नशालु औषधीको प्रयोग गरिन्छ । बन्दुकमा औषधिको सिरिन्ज जडान गरिएको हुन्छ, त्यसै बन्दुकको माध्यमबाट बाट आफु सुरक्षित स्थानमा जस्तैः रूख, हात्ती वा यस्तै अन्य स्थानमा नदेखिने गरी बसी बाघको शरीरमा ताकेर हानेपछि बाघको शरिरमा सिरिन्ज गढ्न गई शरिरमा औषधि प्रवेश गर्दछ र सिरिन्ज गढेको ५ देखि १० मिनेटभित्रमा बाघ बेहोस हुन जान्छ र उसलाई नियन्त्रणमा लिई सम्बन्धित स्थानमा उपचारका लागि पठाइने गरिन्छ ।
- बाघ किन बस्तिमा पस्छ?
बाघहरुको बासस्थान साँघुरिदै गर्दा उ जंगल छाडेर बस्ति तर्फ शिकारका लागि पसेको हुन्छ । अर्को कुरा प्रायः बुढो अशक्त, माउसँग छुटेको अर्धवयस्क वा भाले–भाले जुधेर घाइते भएको बाघले इलाका छोड्न पुग्छ । यस्तो अवस्थाको बाघलाई प्राकृतिक आहारा चित्तल, जरायो, बँदेलजस्ता वन्यजन्तु लखेटेर सिकार गर्न नसक्दा, भोकै हुँदा सजिलो आहाराको खोजीमा भौँतारिँदै घरपालुवा पशुचौपाया र मानिससमेत खान पल्किन्छ र शिकारका लागि बस्ति तिर पस्छ ।
तर, कहिलेकाहीँ बाघले सिकार मारेको अवस्थामा एक्कासि त्यस ठाउँमा मानिस पुग्न गएको खण्डमा मानिसले शिकार खोस्न आएको सम्झी मानिस मार्न पुग्छ, तर बाघको यो बाध्यता हो । भाले–भाले जुधेर इलाका छोडेर भागेको बाघले आफ्नो इलाका बनाउने क्रममा बस्तीछेउछाउको वन–जंगल, उखुबारी, केराघारी वा आँप बगैँचामा पुगी अस्थायी वासस्थानको रूपमा प्रयोग गर्ने गरेको कारणबाट सजिलो सिकार घरपालुवा पशुचौपाया र मानिससमेत खान पुगेको उदाहरण भेटिएका छन् । बस्तीमा एक पटक पसेर घरपालुवा चौपाया या मानिसको शिकार गरी सके पछि त्यस्ता बाघले बस्तिमा पसेर शिकार गर्न पल्केका हुन्छन् । त्यस्ता बाघ बस्ति वरपर देखिएमा तुरुन्त निकुञ्ज अथवा बन कार्यालयमा खबर गर्नु पर्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.