- तिलोत्तमा
तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाई स्थापना गरेको हो ।
इकाई कार्यालयको आज नगर प्रमुख बासुदेव घिमिरेले सुभारम्भ गरे । तिलोत्तमा नगरस्तरीय भूमीहिन दलित, भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्य लगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरुको व्यवस्थापन गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उहाँका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यस पश्चात् आयोगलाई सूचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णय समेत गरेको छ । सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।
अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उहाँले भनाइ छ । इकाई कार्यालय मार्फत् आयोगले बनाएको फारमको ढाँचाअनुसार लगत संकलन गरिने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.