- भैरहवा ।
पछिल्लो समय बाघबाट आक्रमणमा परी मानविय क्षतीका घटनाहरु बारेमा थाहा पाईरहेका छौ । बर्दियामा एक बाघले महिलालाई मारेको र बाग्लुंग लगायतका जिल्लामा चितुवाले मानिसलाई आक्रमण गरेका घटनाहरु आएका छन् । बाघ चितुवाले किन आक्रमण गर्छन त यो प्रश्न बारम्बार आउने गरेको छ ।
जंगलमा हामीले बाघलाई देखेको अवस्थामा होस् वा हामीले बाघलाई नदेखेको अवस्थामा तर बाघले हामीलाई देखेको अवस्थामा भने उसले चेतावनीस्वरूप घुरेर संकेत गर्दछ र हामी तुुरुन्त त्यस ठाउँबाट पछाडि हटी सुरक्षित हुनुपर्दछ । यदि बाघले घुरेर हेरेको चेतावनीलाई हामीले बेवास्ता गरी बाघ भएतिर अगाडि बढ्यौँ भने बाघले निश्चय पनि आक्रमण गर्छ ।
बाघले आक्रमण गर्नुभन्दा अगाडि बाघ लुपुक्क भुइँमा बस्छ र पुच्छर ठाडो पारी पुच्छर दायाँ–बायाँ हल्लाउँदै गर्जनका साथ आक्रमण गर्छ । यदि भर्खरै बाघले सिकार मारेर रगत चुस्दै गरेको अवस्थामा जो कोही नजिक पुगेमा अक्रमण गर्छ ।
बाघका बच्चालाई डमरु भनिन्छ । यदि डमरु माउको साथमा भएमा आक्रमण गर्छ । डमरु समात्न आए भन्ने बाघलाई हुन्छ र उसले आक्रमण गर्छ । कहिलेकाहीँ झुक्किएर जनावरजस्तो लागेर पनि बाघले मानिसलाई आक्रमण गर्छ । त्यसै गरी मानिस र घरपालुवा चौपायाको रगतको स्वाद पाईसकेको नरभक्षी बाघले बारम्बार ढुकेर आक्रमण गर्छ । बुढो, अस्वस्थ र जंगल छाडेर बस्ती तिर पल्केको बाघले पनि आक्रमण गर्छ ।
बाघले गाउँबस्तीमा गएर मान्छे मारेको घटना त्यति नभेटिएला, सावधानी नअपनाउँदा वन्यजन्तुबाट मानिसलाई खतरा हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि सो कुरालाई परवाह नगरी एक्लै–दुक्लै वनजंगलमा प्रवेश गरी, घाँस–दाउरा गर्ने, घरपालुवा चौपायाको गोठालो गर्ने र तालघोल, खोलानाला, नदीमा माछा मार्ने कार्यले बाघ आकर्षित भई अनाहकमा मानिसले ज्यान गुमाउनुपरेको छ । बाघले पशुचौपाया मार्ने बानी पर्नाले बाघको संरक्षणमा दिगोपन नआउने र यसले सधैँ संरक्षणमा अन्तरद्वन्द्व निम्त्याइरहने खतरा देखिने संरक्षणकर्मीहरुको भनाई छ ।
त्यसैले बाघ भएको क्षेत्रमा भ्रमण गर्दा सतर्क भएर गर्ने, बाघ गर्जेको वा घुरेको सुनेमा वा यस्तै संकेत पाएमा वा बाघ हिँडेको नयाँ पाइला देखेमा वा बाघको गन्ध थाहा पाएमा सतर्क हुने वा बाघ भएको दिशातिर नजाने, बाघलाई देखेमा हल्ला नगर्ने, अन्धाधुन्ध तरिकाले बाघ बस्ने झाडीतिर नडुल्ने, बाघ भएको स्थानतिर अन्य वन्यजन्तुले पनि त्यस क्षेत्रमा बाघ छ भन्ने कुराको संकेतका आवाज दिन्छन्, तिनलाई पनि ख्याल गरेमा बाघ चितुवाको आक्रमणबाट जोगिन सकिन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.