- भैरहवा ।
एक दशक अघि सुरु भएको अम्ब्रेला स्ट्रिट प्रचलनमा अहिले आकर्षण बढ्दो छ । अम्ब्रेला स्काई प्रोजेक्ट अन्तरगत सन् २०११ मा पोर्चुगलको एग्युएडा शहरबाट सुरु भएको हो । शहरको आकर्षण बढाउन मात्र नभई गर्मिमा बाटोमा हिडनेलाई राहत पुगोस् भन्ने उद्देश्य बोकी सुरु भएको प्रोजेक्ट अहिले विश्वव्यापी भएको छ ।
शहरका बाटा अथवा गल्लीमा रंगिनछाताहरुलाई फ्रेम बनाई केही दुरी सम्म टाँगिन्छ, जसले शहर, गल्लीलाई आकर्षण गराउछ । पोर्चुगलबाट सुरु भएको अम्ब्रेला स्काई प्रोजेक्ट अहिले विश्वव्यापी बन्दै गएको छ । शहरका बाटो, गल्ली मात्र नभई होटल रिसोर्ट, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर लगायतले पनि आफ्नो पर्याप्त स्थान भएमा आकर्षण बढाउन अम्रेला स्काई प्रोजेक्ट या अम्ब्रेला स्ट्रिट बनाउन सुरु गरिएको हो ।
कतिपय स्थानमा सरकारकै सहयोगमा भएको छ भने कतिपय स्थानमा नीजि क्षेत्र आफैले बनाएका छन् । नेपालमा गत वर्ष फागुन २ गते चितवन भरतपुर नगरपालिकाको पटिहानीमा नेपालको पहिलो अम्ब्रेला स्ट्रीट बनाइएको थियो । पछि काठमाण्डौको असन, न्यूरोड लगायतका स्थानमा बनाइएको थियो ।
लोकप्रियता बढ्दै गए पछि भैरहवाको सानु डिपार्टमेन्ट स्टोर परिसरमा सानो अम्ब्रेला परिसर बनाइएको छ । माघ ३ गते शनिबारबाट सुरु भएको सानु डिपार्टमेन्टका प्रवन्ध निर्देशक सानु शर्माले बताए ।
विदेशमा अम्ब्रेला स्ट्रिट भन्ने सुनेको थिए, नेपालको चितवन, काठमाण्डौंमा पनि लगाइएको जानकारी थियो, हाम्रो शहरमा पनि केही नयाँ पनको सुरुवात गर्नुपर्छ भनेर यो लगाएको हँु, प्रबन्ध निर्देशक शर्माले भने ।
सानु डिपार्टमेन्ट को पार्किङ्ग र कौशी डाउनटाउनमा अम्ब्रेला स्ट्रिट बनाइएको हो । डिपार्टमेन्ट स्टोर र कौशीमा आउने ग्राहकहरुलाई थप आकर्षण भएको छ, जो कोही आएर यहाँ फोटो खिच्न सक्नेछन्, टिकटक भिडिओ बनाउन, सेल्फी खिच्न सक्नेछन्, शर्माले भने । छाता टाँगिएको पहिलो दिननै धेरैजना खुसी हुँदै राती सम्म आएर फोटो खिचेका थिए ।
मैले आफ्नो व्यक्तिगत खर्चमा सुरु गरे, अब बजारको अन्य स्थान चोकहरुमा सबै मिलेर सामूहिक खर्चमा यस्तो गर्न सके राम्रो हुन्छ, हाम्रै शहर राम्रो देखिन्छ, शर्माले भने । शहर बजारलाई आकर्षक बनाउने क्रियाकलापहरु गर्न आफुले प्रयास गरिरहने शर्माको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.