- भैरहवा ।
बाघ नाम अनुसारकै काम । जङ्गली जनावर बाघलाई जङ्गली जनावरका रुपमा मात्र नहेरी यसलाई साँस्कृतिक एवम् धार्मिक महत्व समेत बोकेको जनावरका रुपमा लिने गरिन्छ । बाघलाई विजयको प्रतिकको रुपमा समेत लिइने गरेको संरक्षणविद हेमसागर बरालले आफ्नो पुस्तक पाटेबाघमा उल्लेख गरेका छन् । बरालका अनुसार बाघलाई धेरै जसो परम्परागत, साँस्कृतिक तथा धार्मिक परिवेशमा राजकीय स्वभाव तथा विजयको प्रतिकका रुपमा लिइने गरिनुका साथै शक्ति साहसका पर्यायका रुपमा समेत यसलाई पूजा गर्ने गरेको पाइन्छ ।
बिभिन्न धर्म ग्रन्थ, कविता, निवन्धहरुमा बाघका महिमा लेखिएका छन् । हिन्दु धर्ममा बाघलाई शक्तीकी देवी भगवती दुर्गा माताको वाहनका रुपमा समेत हेरिन्छ । भगवती दुर्गा बाघमाथि बसेर लडाइमा राक्षसहरुलाई परास्त गरेको धार्मिक कथाहरु छन् । देवी मन्दिर अघि बाघ राखिएको देखिन्छ, यसले पनि बाघको धार्मिक एवम् साँस्कृतिक महत्व झलकाउँछ । देवी मन्दिरमा प्रायः सबै मुर्तिहरुमा बाघ सवार देवी देख्न सकिन्छ । त्यसैले बाघलाई धर्म र सँस्कृतीसँग जोडिएको छ ।
उता भगवान शिव पनि बाघको छालाको कछाड बनाई लगाएको र बाघकै छालामा बस्ने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ भने अहिले पनि बिभिन्न टेलिभिजनहरुमा देखाइने धार्मिक टेलिश्रृंखलामा पनि देवी र शिवलाई देखाइएको खण्डमा देवी बाघ माथि बसेको शिवले बाघको छालाको कछाड लगाएको देखिन्छ । त्यसैले हिन्दु धर्मावलम्बीहरुले देवीको पूजा गर्दा बाघको पनि पूजा गर्ने गर्दछन् ।
त्यसै गरी बिभिन्न देशमा अहिले पनि बाघलाई शुभ मान्ने गरिन्छ ।
जापानमा बाघलाई सपनामा देखियो भने शुभ मान्ने चलन छ । त्यस्लाई नयाँ शक्तिको आगमनका रुपमा जापानीजहरुले लिने गरेका छन् । भारतमा र चिनमा पनि बाघलाई राम्रो मान्ने गरिन्छ । चिनमा बाघको वर्णन धेरै गरेको पाइन्छ विश्वमा सबैभन्दा धेरै । चिनमा प्रत्येक १२ वर्षमा बाघ वर्षका रुपमा पनि मनाउने गरिन्छ । चिनियाँहरु बाघ वर्षमा जन्मने बालबालिका भाग्यमानी हुने विश्वास गर्छन् । हिन्दु धर्मले देवी भगवतिको वाहनका रुपमा मानेको छ ।
हाम्रो देशको कुरा गर्दा गुरुङ्ग समुदायले मनाउने ल्होसार पर्वमा बाघलाई तो–ल्हो (धु वर्ग÷बाघ वर्ग) का रुपमा लिने गरिन्छ । तमु (गुरुङ्ग) पात्रोमा १२ वटा वर्ग हुन्छन् र प्रत्येक वर्गमा विभिन्न जनावर पशुको नाम राखिएको हुन्छ । प्रत्येक वर्षको पुष १५ गतेलाई आधार मानी ल्होसार मनाउँदा त्यो वर्ष जुन वर्गको परेको छ त्यसैलाई मान्ने चलन छ र यहाँ पनि बाघलाई एउटा वर्गका रुपमा लिइनुले धार्मिक तथा साँस्कृतिक महत्व जोडिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.