- बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शहीदले देखाएको न्यायपूर्ण र समतामुलक समाज निर्माणमा लाग्न सबैमा आग्रह गरेका छन्।
शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिदै मुख्य मन्त्री पोखरेलले जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाको लागि अमर शहीदले प्राणको आहुति दिएको भन्दै प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात—अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शहीदले देखाएको न्यायपूर्ण र समतामुलक समाज निर्माणको अभियानमा अविचलित ढंगले लाग्न प्रतिबद्ध रहँदै यो अभियानमा सबै एकाकार भएर अघि बढ्ने विश्वास रहेको जनाएका छन् ।
अन्याय र अत्याचारको अन्त्य र न्याय, स्वतन्त्रता र समतामुलक समाज निमार्णको लागि ज्यानको आहुती दिने शहीदकै योगदानले नेपालमा तीन ठूला राजनैतिक परिवर्तन संभव भएको उनको भनाई छ ।
२००७ सालको जनक्रान्तिबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भएको र प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा स्थापना गरिएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना तथा २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनले राजतन्त्रलाई विस्थापित गरी मुलुकमा गणतन्त्र संभव भएको र यी सबै राजनैतिक आन्दोलनमा ज्यानको आहुति दिने वीर शहीद अमर रहि रहनेछन ।
संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको छ । संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गरेको , संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्ने र बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्ने तथा विकास र समृद्धि मार्फत राज्यलाई बलियो बनाउने र नागरिकका सपना पूरा गर्न दृढ रहेको मुख्यमन्त्रीको भनाई छ ।
यतिखेर मुलुक आम चुनावमा होमिएको र सरकारले आगामी बैशाखमा दुई चरणमा चुनाव गर्ने गरी प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेको तथा बहुमत प्राप्त प्रधानमन्त्रीलाई घेराबन्दी गरी काम गर्न नदिई ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय स्वाभाविक रहेको पोखरेलको भनाई छ ।
ताजा जनादेशका लागि जनतामा जाने निर्णय लिनु लोकतान्त्रिक विधि हो, नागरिक सर्वोच्चताको सम्मान हो । आगामी चुनावले बहुमत प्राप्त प्रधानमन्त्रीले काम गर्न नपाउने दुष्चक्रको अन्त्य गरी राजनैतिक स्थिरताको ढोका खोल्ने विश्वास उनको छ। आवधिक चुनाव संविधान कार्यान्वयनको महत्वपूर्ण खुट्किलो रहेको र यसले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने उनको दाबी छ ।
यतिखेर हामी समृद्ध प्रदेश खुशी प्रदेशवासीको अभियानमा अघि बढिरहेका छौं, प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं , समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु, मुख्यमन्त्रीको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.