- भैरहवा ।
पश्चिम क्षेत्रको सबैभन्दा ठूलो भैरहवाको लुम्बिनी एम्युजमेन्ट पार्क (वाटर पार्क) २०७८ बैशाख १५ बाट सञ्चालनमा आउने भएको छ । अहिले परीक्षणका रुपमा सञ्चालन भइरहेता पनि सर्वसाधारणका लागि प्रवेश १५ बैशाखबाट हुने सञ्चालकहरुले बताएका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया जानेबाटोमा सशस्त्र प्रहरीको चेकस्थल पर्यटन गेटबाट पूर्व तर्फ सेज जानेबाटोमा अवस्थित छ । पार्कको उत्तरतर्फ डण्डा नदी रहेको छ र त्यहाँ हरित मैत्री वातावरण र चराहरुको चिरविर आवाजले पार्कलाई पर्यामैत्री बनाएको छ ।
पर्यटन क्षेत्रमा संभावना बढ्दै गएपछि यस तर्फ होटल मात्र नभई पर्यटकीय गतिविधी बढाउने पूर्वाधारहरुमा पनि लगानी गर्ने क्रम बढेसंगै यो पार्कको निर्माण ३ वर्ष अघिबाटै सुरु भएको हो । गत वर्षनै निर्माण सम्पन्न भए पनि कोरोना भाइरस संक्रमण बढेपछि सञ्चालन हुन सकेको थिएन ।
बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै भैरहवामा लुम्बिनी एम्युजमेन्ट पार्क (वाटर पार्क) निर्माण भएको हो । होटल रिसोर्ट, रेष्टुरेन्ट र बंैक्वेट हल सुबिधा सहितको लुम्बिनी एम्युजमेन्ट वाटर पार्क तर्फ मात्रै लगानी ४५ करोड रुपैयाँ रहेको लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.का अध्यक्ष निरज बरालले बताए । ‘यो वाटर पार्क पश्चिम क्षेत्रकै ठूलो हो’, बरालले भने ।
कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी बैशाख १५ गतेदेखि सर्वसाधारणका लागि पार्क खुल्ला हुने बताएका छन् । आन्तरिक तथा छिमेकी भारतीय पर्यटकलाई लक्षित गरी वाटर पार्क निर्माण भएको र पार्कको माध्यमबाट केही मात्रामा भए पनि पर्यटन तथा आर्थिक क्षेत्र चलायमान हुने अध्यक्ष बरालले जनाए । गत वर्षनै निर्माण काम सकि सञ्चालनमा ल्याउने तयारी भए पनि कोरोना भाइरस संक्रमणको महामारीका कारण ल्याउन नसक्दा थप आर्थिक भार भएको सञ्चालकहरुको भनाई छ । वाटर पार्कमा बरालसंगै कमल भुषाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी र नारायण आचार्यका लगानी छ ।
वाटर पार्कमा पानीमा आधारित ८ वटा खेलहरु रहेका छन् । जसमध्ये सबैभन्दा आकर्षक समुन्द्र किनारमा छाल आउने जस्तै गराउने वेभ पुल रहेको छ । नेपालकै ठूलो वेभ पुल रहेको सञ्चालकको दावी छ । त्यसै गरी क्रेजी स्लाईड (ठूलो) फेमेली स्लाइड, किड्स पुल, गोलो क्रेजी रिभर, बेबी पुल, रेन डान्स स्थल समेत रहेको पार्कका प्रबन्ध निर्देशक कमल भुषालले बताए ।
पार्कमा आउनेका लागि थप आकर्षण दिन कृत्रिम खोला बनाइएको छ जसको लम्बाई ४ सय फुट रहेको छ । यसलाई वोटिङ्ग रिभर नाम दिइएको छ । त्यसमा नौका चलाउन सकिने भुषालले बताए । सात बिगाहा क्षेत्रफलमा फैलिएको वाटरपार्कमा यस क्षेत्रमै ठूलो ४० फिटको अग्लो टावरबाट स्लाइड एवम् अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ ।
व्यस्क र बालबालिकाको लागि अलग–अलग स्लाइडको व्यवस्था गरिएको छ । त्यसै गरी पार्कमा नेपालको संस्कृति झल्किने विभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने सोभिनियर शप, फूड कोर्ट, प्रतिक्षालय, लकर लगायतको सुविधा रहेकोछ भने प्रणायाम, योगाका लागि समेत व्यवस्था हुने जनाइएको छ ।
पार्कमा १० हजार वर्ग फिटको बहुउद्देश्यीय बैंक्वेट हल, ३ तलाको रेष्टुरेन्ट, र १५ हजार वर्ग फिटको खुला पार्किङको सुविधा रहेको छ । यस्तै रिसोर्टको काम पनि २ महिनामा सुरु हुने जनाइएको छ । पार्कमा अहिलेलाई जग्गा समेत गरी ४५ करोड लगानी भए पनि भविष्यमा यसलाई बढाए १ अर्ब बन्दा बढी पु¥याउने लक्ष्य रहेको सञ्चालकले बताएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.