- भैरहवा
रुपन्देही जिल्लामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्मका लागि बढाइएको छ । रुपन्देहीको निषेधाज्ञाको अवधि आज राती १२ बजे सकिदै थियो । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण र जोखिम लाई मध्यनजर गर्दै निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । रुपन्देही जिल्लामा वैशाख १६ गते बिहान ६ बजे देखि निषेधाज्ञा लागु छ । अहिले तेश्रो पटक थप भएको हो । जिल्ला प्रशासनमा बुधवार दिउँसो बसेको बैठकले रुपन्देहीको निषेधाज्ञाको अबधि जेठ मसान्त (३१ गते) सम्म जारी राख्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले निषेधाज्ञा थप गर्न जिल्ला प्रशासनलाई सिफारिस गरेको थियो । निषेधाज्ञाका समयमा बिगतका गल्लामण्डीका खाद्यान्नका पसलहरुमा लोड र अनलोडका लागि केही समय रोकेर पुनः एक दिन लोड र एक दिन अनलोडको व्यवस्था मिलाएकोमा अहिले भने त्यस्तो कुनै निर्णय नभएको प्रशासन कार्यालयले जनाएको छ । यद्यपी ढुवानीका साधनहरु बिशेष गरी निर्माण सामग्री बोकेका साधनलाई भने बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म चल्न पाउने व्यवस्था मिलाइएको जनाइएको छ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन पहिला जस्तै बन्द गर्ने निर्णय भएको हो ।
प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला हुन, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीमा पहिला जस्तै निषेधाज्ञाको समयमा घरमै बस्न भन्दै सहयोगका लागी आग्रह गरेको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।
(यस अघिको समाचारमा अन्यथा हुन गएकोले क्षमा सहित सच्याइएको छ ।)
Get real time update about this post categories directly on your device, subscribe now.