- भैरहवा
सिद्धार्थनगर नगर पालिका क्षेत्र भित्र कुनै पनि पर्यटकीय गन्तव्य नभए पनि नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिँदै पर्यटन विकासमा जोड दिने गरी आगमी वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
पर्यटन, उद्योग, व्यापार र शिक्षा–हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने थेगोलाई आत्मसात गर्दै आएको सिद्धार्थनगर (भैरहवा) का नगर प्रमुख हरिप्रसाद अधिकारीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
‘प्रकृतिले हामीलाई पर्यटकलाई आकर्षित गर्न सक्ने त्यस्तो कुनै कुरा दिएको छैन तर हामीसँग उपलब्ध श्रोत साधन, अव्यवस्थित खोलानालाको समेत उचित प्रयोग गर्दै ति मार्फत पर्यटकलाई आकर्षित गर्ने गन्तब्यहरु बनाउँछांै’, नगर प्रमुख अधिकारीले भने । ‘हाम्रो शहर पर्यटकीय शहर होइन तर हामी कृत्रिम वस्तुहरुको माध्यमबाट पनि पर्यटकीय शहर बनाउन लागि परेका छांै र नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि जोड दिइएको छ’, नगर प्रमुख अधिकारीले भने ।
क्षेत्रफलका आधारमा नेपालको सानो मध्येको एक सिद्धार्थनगर नगर पालिकामा पर्यटकलाई आकर्षित गर्न सक्ने कुनै त्यस्ता प्राकृतिक बस्तुहरु छैनन् नत कुनै कृत्रिम पर्यटकीय पूर्वाधारहरु, त्यसैले नगरपालिकाले कृत्रिम पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको हो ।
सिद्धार्थनगरको काखै भएर बग्ने डण्डा नदिको व्यवस्थापन गरी डण्डा पर्यटकीय करिडोर, डण्डा नदिमा नौका (बोटिंग) चलाउने, ठूलो पर्यटकीय गेट, सडकका बिच भागमा भगवान बुद्धको मुर्ति राख्ने योजना रहेको र त्यसमा पर्यटकीय गेट निर्माणको अन्तिम चरणमा छ र बुद्धको मुर्ति राख्ने काम अहिले जारी छ । लुम्बिनी क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता महत्व र अवसरहरुलाई आधार मानी सोही बमोजिम पर्यटकीय कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा नगरपालिकामा पर्यटनको प्रवद्र्धन तथा विकासका लागि पर्यटन गूरु योजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने, नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीहरुसंग सहकार्य गर्दै अघि बढ्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने, एक वडा एक उद्यान/ पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर (ग्रिन सिटी) को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रैमहिना फुलफुल्ने शहरको रुपमा विकास गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसै गरी पर्यटन क्षेत्रमा रोजगारी सृजनाका लागि स्थानीय युवाहरुलाई टुरिष्ट गाइड तालिम, छोटो तथा मध्यम अवधिको होटल व्यवस्थापन सम्बन्धी तालिम, स्थानीय हस्तकलाको प्रवद्र्धनका लागि कोशेली घर सञ्चालन गर्ने, नगरको पहिचान झल्कने गरी मायाको चिनो, उपहार उत्पादन गर्न स्थानीय उद्यमीसंस्थालाई प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सिद्धार्थनगर (भैरहवा) भारतसँग सीमा जोडिएको शहर हो । पछिल्लो समय सिद्धार्थनगर र आसपास क्षेत्रमा होटल क्षेत्रमा लगानी बढेर गएको छ । ३ वटा पाँच तारे होटल निर्माणका क्रममा छन् । क्यासिनो र मिनी क्यासिनो सहितका होटल छन् ।
क्यासिनोमा भारतीय पर्यटकको धेरै आकर्षण रहेको छ । साथै भारतीयहरु गुणस्तरीय सामान पाइने भन्दै खरीदारीका लागि आउने गर्छन्, स्तरिय होटल, रेष्टुरेण्टमा खानपान र बसाइका लागि उनिहरुको मुख्य गन्तव्य सिद्धार्थनगर बन्न सक्छ, त्यसका लागि राती अबेरसम्म बजार खुल्ने व्यवस्था (नाईट मार्केट), होटल रेष्टुरेण्टको सेवा २४ घण्टा नै सञ्चालन गर्न पाउने गरी हुनु पर्ने लगायतका माग पर्यटन व्यवसायीहरुले गर्दै आएका छन् ।
स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक यसै सिद्धार्थनगरको बेलहिया नाकाबाट आउने गर्छन् भने नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटक समेत सबैभन्दा बढी यही नाका भएर आउने भएकाले उनिहरुको आकर्षण बढाउन भए पनि कृत्रिम रुपमै भए पनि पर्यटकीय पूर्वाधार छिटो भन्दा छिटो बनाउनु पर्ने र बोर्डर टुरीजमलाई अघि बढाउने खालका कार्यक्रम ल्याउनु पर्ने सिद्धार्थ होटल संघ नेपाल(सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी)को भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.