- भैरहवा
रुपन्देही जिल्लामा मंगलवारदेखि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितीको बैठक पछि जिल्ला प्रशासन कार्यालयले यातायात सुचारुको व्यवस्था गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले बताए ।
अहिलेलाई सार्वजनिक सवारी साधनहरु रुपन्देही जिल्ला भित्र मात्रै जोर बिजोर प्रणालीका आधारमा चल्नेछन् । सार्बजनिक यातायात सञ्चालनका लागि तय गरिएको मापदण्डहरुमा कोरोना भाइरसको संक्रमण र जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाई यातायात संचालन गर्ने, बसको सिट क्षमता भन्दा आधा यात्रु राख्ने, बसलाई सेनीटाईज गरेर मात्र सञ्चालनमा ल्याउने, बसमा चालक, सहचालक मात्र नभई यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्ने लगायत रहेका छन् ।
त्यसै गरी अझै कोरोना भाइरस जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय केहि परिमार्जन गरी असार २१ सम्म थप गरिएको र अन्य कुराहरु यथावत नै हुने गरी निर्णय भएको सूचना अधिकारी थापाले बताए । मंगलवारबाट बजारहरु दिउँसो ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछन् । यस अघि बजारहरु ११ बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने व्यवस्था थियो । सागसब्जी, दुग्धजन्य वस्तुहरुका लागि भने विहान ५ देखि विहान ८ बजेसम्म समय छुट्टयाइएको छ । त्यसै गरी निजी सवारीको हकमा पनि जोर विजोर व्यवस्था कायमै रहेको छ ।
होटल तथा रेष्टुरेन्टको हकमा भने हाललाई कुनै पनि निर्णय नभएको हुँदा क्वारेन्टाईका रुपमा प्रयोग भएका होटल बाहेक अन्य होटल एवं रेष्टुराहरु सञ्चान गर्न नपाइने थापाले बताए । प्रशासनले आम सर्वसाधारणलाई अनावश्यक रुपमा बाहिर नहिन्न, भिडभाड नगर्न र बाहिर आउनै परे स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्क लगाएर मात्र हिड्न अनुरोध गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.