- भैरहवा ।
अपराध गरेर जति नै लुकेर बसे पनि प्रहरीले कुनै न कुनै दिन अवश्य समात्छ । रुपन्देहीमा पनि अपराध गरेर लुक्दै बसेका २ जनालाई ४४ वर्ष पछि पक्राउ गरी कारागार चलान पठाएको छ ।
प्रहरीले सर्वस्व सहित जन्मकैद भएका २ जना फरार प्रतिवादीहरुलाई ४४ वर्ष पछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही जिल्ला साविक बलरामपुर गाविस वडा नं. ७, हाल लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ बस्ने वर्ष ७० का चिनगुद चाई सोही स्थानका कप्तान चाई रहेका छन् ।
दुबै जना माथि सोही स्थानका ओरी अहिर र कृष्णप्रसाद अहिरलाई २०३४ साल भाद्र २३ गते मारेको अपराधमा सर्वाेच्च अदालतले २०४० साल वैशाख ८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय भएको थियो ।
अपराध गरे लगत्तै फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको फरार अपराधीको अपरेशन कार्यक्रम अन्तर्गत असार १५ गते उनीहरुको आफ्नै घरबाट रुपन्देही प्रहरीले पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार चलान आदेश दिएको थियो ।
दुबैलाई असार १६ गते जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्यनाराण थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.