- मनोरञ्जन शर्मा
भैरहवा ।
लुम्बिनी प्रदेशमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ मा भएको बाघ गणना अनुसार लुम्बिनी प्रदेशका बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ रहेको छ । सो वर्ष भएको बाघ गणना अनुसार नेपालमा जम्मा २ सय ३५ बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन बिष्णु श्रेष्ठ गएको ४ वर्षमा बर्दिया निकुञ्जमा बाघको संख्या बढेको सहजै अनुमान गर्न सकिने बताउछन् । निकुञ्ज क्षेत्रमा अनुगमन गर्ने क्रममा र त्यहाँ राखिएको क्यामराले पनि नयाँ–नयाँ बाघहरु देखिएको रेकर्ड गरेकाले बाघको संख्या बढेको अनुमान गर्न सकिने श्रेष्ठ बताउछन् । स्थानियको सहभागितामा सुरक्षा निकायसँग मिलेर बाघ संरक्षण अभियान सफल हुँदा स्वभाविक रुपमा बाघको संख्या बढ्ने र बर्दियामा संरक्षण अभियान सफल भएको श्रेष्ठले बताए । बाँके निकुञ्जका प्रमुख वार्डेन श्याम शाह पनि बाघको संख्या बढेको अनुमान भएको बताउछन् । नियमित अनुगमनको क्रममा नयाँ–नयाँ बाघ देखिन्छ । ‘‘अहिले बास स्थानको व्यवस्थापन, बाघले खाने आहार प्रजातिका जनावरमा बृद्धी, उचित घाँसे मैदान, राम्रो पानीको श्रोत जस्ता कारणले बाँकेमा बाघको संख्या राम्रो भएको हो ।’’ शाहले भने ।
बर्दियामा ८७ तथा बाँकेमा २१ वटा पाटे बाघ रहेका छन् । लुम्बिनी प्रदेशमा पाटे बाघ बढ्नुका कारण यहाँ भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । सन् २०१३मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । ४ वर्षमा बढेर २१ पुगे । त्यस्तै बाघको अवस्था बर्दियामा पनि उस्तै छ ।
त्यसै गरी चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ति र आसपासका वन क्षेत्रमा १६ वटा गरी सन् २०१८ को गणना अनुसार बाघको संख्या अहिले २३५ रहेको छ । सन् २०१३ को तुलनामा सन् २०१८ मा बाघको संख्यामा १८ प्रतिशतले बृद्धी भएको हो । निकुञ्ज क्षेत्र साथै मध्यवर्ति र आसपासका वन क्षेत्रमा मात्रै नभई नेपालका उच्च पहाडी क्षेत्रमा पनि यसै वर्ष २ बाघ फेला परेका छन् ।
विभागका सूचना अधिकारी आचार्यका अनुसार इलामको ३१६२ मिटर उचाई क्षेत्र र डडेलधुराको २५ सय मिटर उचाईमा एक एक वटा बाघ फेला परेको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताए ।
सन् २०१८ पछि बाघको गणना नभएकोले बाघको संख्या अहिले कति छ भन्न नसकिने तर अनुमान अनुसार बृद्धी भएको छ, आचार्यले भने ।
बाघ गणना हुँदै प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना यसै २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा गर्ने तयारी भइरहेको आचार्यले बताए । ‘‘बाघ गणनाका लागि सरकारले १ करोड रपैयाँ विनियोजन पनि गरेको छ र हामी यस्तो आन्तरिक तयारीमा जुटिसकेका छांै’’ आचार्यले भने । यस पटक सबै राष्ट्रिय निकुञ्ज साथै बाघ पाइने तराई र पहाडका संभावित मध्यवर्ति र आसपासका वन क्षेत्रमा समेत बाघ गणना हुने उनले बताए ।
नेपालमा बाघ गणना हुँदा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मूलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो । त्यतिबेलाको प्रतिवद्धता अनुसार नेपालमा बाघको संख्या सन् २०१८ मै २३५ पुगेको र अहिले संख्या दोब्बर भन्दा बढी भएको अनुमामान सहजै गर्न सकिन्छ । बाघको खाना, आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणको राम्रो प्रयासका कारण नेपाल बाघ संरक्षणमा सफल भइरहेको र बाघको संख्या समेत बढ्दै गएको बाघ लगायतका वन्यजन्तु संरक्षणमा काम गरेका जानकार नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रविण पोखरेल बताउछन् ।
अन्तर्राष्ट्रिय बाघ दिवस
प्रत्येक वर्ष जुलाई २९ का दिन विश्व भर बाघ दिवसका रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्स वर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा २०६७ सालदेखि बाघ दिवस मनाउन थालिएको हो । यो दिन बाघ संरक्षणका लागि भएका प्रयास, चुनौती, समस्या लगायतका विषयमा छलफल समेत हुन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.