- मनोरञ्जन शर्मा
भैरहवा ।
विश्वमै प्रसिद्ध काठमाण्डौ स्वयम्भुको महाचैत्य बिहारकै प्रतिरुप(रिप्लीका) बुद्ध जन्मस्थल लुम्बिनीमा पनि रहेको छ । काठमाण्डौ जान नपाएका तर स्वयम्भु चैत्यका बिषयमा पढेकाहरुले लुम्बिनीमा पनि त्यस्तै किसिमको चैत्य देख्न सक्नेछन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना अनुसार स्वदेशी तथा बिदेशी संघसस्थाले बिहार, चैत्य, गुम्बा, लगायतका संरचना निर्माण गर्ने क्रममा सन् १९८९मा त्यहाको पश्चिम बिहार क्षेत्र(वेष्ट मोनाष्टिक जोन)मा धर्मोदय सभा नेपालले धर्मोदय स्वयम्भु महास्तुपा निर्माण गर्ने निर्णय गरेको थियो । धर्मोदय सभा नेपालको बुद्धिष्ट संघसस्था मध्ये सबैभन्दा पुरानो हो ।
तत्कालिन समयमा लुम्बिनी बिकास कोषले गुरुयोजना अनुसार बिदेशी बौद्ध संघसस्थालाई मन्दिर, गुम्बा, चैत्य, बिहार बनाउन दिने निर्णय गरे संगै धर्मोदय सभाले लुम्बिनी क्षेत्र भित्र धर्मोदय स्वयम्भु महास्तुपा निर्माण गर्ने निर्णय गरे संगै प्रस्ताव पठाएकोमा स्वीकृत भए संगै सन् १९९३ बाट निर्माण सुरु भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय बौद्ध समाजका सस्थापक एवं अध्यक्ष भिक्षु मैत्री महास्थविरले बताए ।
हामीलेनै त्यतिवेला संरचनाको खाका सहितको योजना बनाई कोषमा प्रस्ताव पठायौ, पछि कोषले स्विकृत गरी वेष्ट मोनाष्टिक जोनमा १२०x१२० मिटर क्षेत्रफल जग्गा दिएको मैत्रीले बताए ।
बौद्ध धर्मका तिनै यानहरु महायान, वज्रयान र थेरावाद अनुसारका मन्दिर एकै स्थानमा बनाउने र बिचमा स्वयम्भु महाचैत्यको प्रतिरुप बनाउने योजना थियो । यो स्तुपालाई सोहि अनुसार बनाई सबै बौद्ध धर्मावलम्बीहरुको सामुहिक मन्दिरका रुपमा बनाउने निर्णय अनुसार निर्माण सुरु भएको थियो । बिचमा आर्थिक लगायत बिभिन्न कारणले निर्माणमा ढिलाई भए पनि अहिले सम्पन्नताको अन्तिम चरणमा छ । महायानको मन्दिरलाई गुम्बा, थेरावादकोलाई विहार र वज्रयानको लाई वहा भनिन्छ । त्यसै अनुरुप अहिले स्वयम्भु महाचैत्य स्तुपा निर्माण सम्पन्न भैसकेको छ भने महायान र थेरावादको मन्दिर निर्माण सम्पन्न भए पनि बज्रयानको बाकी छ । कोरोना लगायतका समस्याले रोकिएको भिक्षु मैत्रीले बताए । बज्रयानको वहा मन्दिर पनि छिटै निर्माण सम्पन्न गर्ने छौ, उनले भने ।
स्वयम्भु महाचैत्य भित्र बुद्धका ९९९९ वटा साना साना मुर्ति रहेका छन भने बुद्धको पुर्णकदको अमिताभ मुर्ति प्रतिष्थापन गरीएको छ । १ हजार २ सय जना एकै साथ बसेर ध्यान एवं प्रार्थना गर्न सक्ने ठुलो हल छ । त्यसै गरी २ कोठा अतिथीहरुका लागी बनाईएको छ भने रेखदेख एवं संरक्षणका लागी रहने त्यहाका प्रमुख भिक्षु र सहयोगीका लागी पनि आवास गृह रहेको छ ।
थेरावाद बौद्ध संग्रहालय र बौद्ध पुस्तकालय पनि त्यहा रहेको छ । बगैचा चारै तिर निर्माणका क्रममा छन भने केही बनिसकेका छन् ।
धर्मोदय सभाद्धारा संरक्षित स्वयंम्भु महाचैत्य स्तुपाको रेखदेख एवं व्यवस्थापन मैत्री बिहार लुम्बिनीबाट भैरहेको छ । काठमाण्डौ स्वयम्भुमा रहेको स्तुप बिश्वमै प्रसिद्ध रहेको छ र त्यसैको झल्को दिने किशिमले लुम्बिनीमा पनि बनाईएको हो । स्तुपाको दुई आखाँले पुरै बिश्वलाई आकर्षित गरेको छ । लुम्बिनी आउने पर्यटकले पनि स्वयम्भुकै जस्तो चैत्य देख्न पाउने छन र लुम्बिनीको स्वयम्भु महाचैत्य स्तुपाको दुई आखाँले सबैलाई आकर्षित गरेकोछ ।
यो चैत्य प्रत्येक दिन बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सर्वसाधारणका लागी खुल्ला रहने बताईएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.