न्यूज ओके रिपोर्टर
मझगावाँ (मर्चवार)
इलाका प्रशासन कार्यालय मझगावाँ (मर्चवार) मा सेवाग्राहीको चाप बढेको छ । नागरिकता, राहदानी , राष्ट्रिय परिचयपत्र बनाउनेहरुको चाप बढे पछि कार्यालयले सेवाग्राहीको सजिलोको लागि टोकन प्रणाली सुरु गरेको छ । कार्यालयमा अहिले नागरिकता लिनेहरुको संख्या धेरै छ । राष्ट्रिय परिचयपत्र बनाउने र निर्वाचनको प्रयोजनका लागि मतदाता नामावली संकलन समेत अहिले भइरहेको र यो दुबै कार्यका लागि नागरिकता चाहिने हुँदा एकै पटक नागरिकता लिनेको संख्या बढेको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख ध्रुव प्रसाद नेपालले बताए ।
कार्यालय प्रमुखले दैनिक रुपमा सेवाग्राहीको चाप बढ्दै जाँदा सिमित जनशक्तिबाट काम गर्न निकै कठिन भइरहेको जनाए । दैनिक रुपमा सेवाग्राहीको संख्या १५० माथि पुग्न थालेपछि अहिले कार्यालयले सेवाग्राहीको सजिलोको लागि टोकन प्रणाली सुरु गरेको नेपालले बताए । ‘‘नयाँ नागरिकता बनाउने र प्रतिलिपी निकाल्नका लागि आवेदन दिनेहरुको संख्या ७ सय बढी भइसकेको र दिनहुँ १५० माथि सेवाग्राहि आउन थालेपछि टोकन प्रणाली सुरु गरी सेवाग्राहीलाई तोकिएको दिनमा बोलाउने व्यवस्था गरी नम्बर दिएर पठाउन थालेका छौं, यो कार्यले सेवाग्राहिलाई दिनहँु कार्यालय आइरहन नपर्ने र सबै कागज मिलेको खण्डमा एकै दिनमा केहि घण्टामै काम सम्पन्न हुने छ ।,’’ इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख नेपालले भने ।
दैनिक रुपले वंशज, वैवाहिक र अंगकृत किसिमको ४० देखि ५० नागरिकता वितरण गर्ने कार्यालयमा मंसिर २२ गतेदेखि सेवाग्रहीहरुको चाप बढेको छ । चाप बढेपछि कार्यालयमा कार्यरत कर्मचारीले दैनिक १० घण्टासम्म काम गर्दा पनि नसकेर टोकन प्रणाली सुरु गरेको हो । अहिले ७ सय बढी सेवाग्राहीलाई टोकन वितरण गरी तोकिएको मिति र समयमा कार्यालयमा सेवाका लागि बोलाइएको छ ।
कार्यालयमा २ जना कार्यालय सहयोगी (करार), १ जना करार कम्प्यूटर अपरेटर (करार), एकजना ना.सु र एकजना शाखा अधिकृत मात्र जनशक्ति रहेका छन् । नागरिकताको प्रतिलिपी प्राप्तीका लागि नयाँ नागरिकता बनाउन भन्दा बढी समय लाग्ने भएकोल पनि अहिले चाप बढेको हो । कार्यालयमा जनशक्तिको निकै अभाव रहेको नेपालले बताएका छन् । उपलब्ध थोरै जनशक्तिले धेरै सेवा दिनेगरी पुसको ७ गतेसम्मको लागि टोकन बाँडी सकिएको र त्यसपछि पनि चाप बढिरहे दैनिक कार्य सम्पादन समयमै गरी सेवाग्राहीलाई समयमै सेवा दिन यो कार्यलाई निरन्तरता दिने नेपालले बताए । मंसिर महिनाको २७ गतेसम्म ५ सय ९१ जना नयाँ नागरिकता, ४ सय ८७ जना प्रतिलिपि नागरिकता लिएको कार्यालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.