- हनुमान पाण्डये (राजु)
कपिलवस्तु
कपिलवस्तुको तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले कार्यालयको संयुक्त उदघाटन गरेका हुन् । हालसम्म रुपन्देहीको बुटवलबाट सेवा लिदै आएका अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई लक्षित गरि तौलिहवामा सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो । सेवा शुभारम्भ गर्दै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री ढेंगामगरले संघीयताको मर्म अनुसार सरकारी सेवालाई विकेन्द्रीत गरी नागरिकको घर दैलोमा पु¥याउने उद्देश्यले मन्त्रालयले सेवा कार्यालय विस्तार गरेको बताइन् ।
त्यसै गरी भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सेवा कार्यालयलाई स्थायी रुपमा सञ्चालन गर्न तथा सेवा थप गर्न जग्गाको व्यवस्थापन हुन सके प्रदेश सरकारले जनशक्ति र पूर्वाधारमा लगानी गर्ने बताए । उनले स्थापित कार्यालयलाई स्थाई रुपमै सदरमुकाममा कायम राख्न सबैको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए । कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले आफूहरुले प्रदेश सरकार बने लगत्तै जिल्लामा यातायात कार्यालय सञ्चालनको माग गरेको बताउँदै ढिलै भए पनि सेवा सुरु भएकोमा हर्ष प्रकट गरे ।
काँग्रेसका युवा नेता गोपीकृष्ण शर्माले कार्यालयबाट लाइसन्स बितरण समेत शुरु गर्न माग गरे । कार्यालय नहुदाँ नागरिकले नविकरणका लागि बुटवल र भैरहवा जानु पर्ने बाध्यता अन्त्य भएको जसपाका नेता शैलेन्द्र कुमार यादवले बताए । सेवा कार्यालयलाई तौलिहवा बाहेक अन्यत्र सार्न बिभिन्न प्रपन्च गरिएको भए पनि आफूहरुको अडानले सो योजना सफल नभएको जसपा नेता अब्दुल रसिद खाँले बताए । कार्यालयमा सुशासन कायम गरिनु पर्नेमा प्रजिअ चक्रपाणी पाण्डेले जोड दिए । जिल्लाको विकास सबैको सरोकारको विषय बन्नु पर्नेमा पूर्व प्रदेशमन्त्री एवम् प्रदेशसभा सांसद धर्मबहादुरलाल श्रीवास्तवले जोड दिए । स्थापित कार्यालयलाई बिलबुक नविकरण, सवारी साधनको कर लिने, प्रमिट बितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरि पाँच किसिमका अधिकार तत्कालै दिइएको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताए । लाइसेन्स बितरणमा बढ्दो भिडभाड व्यवस्थापनका लागि कपिलवस्तु र नवलपरासीबाट लाइसेन्स बितरण सेवा उपलब्ध गराउन मन्त्रालय लागेको सचिव नेपालले प्रष्ट्याए । सेवा केन्द्रका प्रमुख राजन केसीको सञ्चालन र अधिकृत हरि पन्थीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.