- मनोरञ्जन शर्मा
भैरहवा ।
स्थानीय निर्वाचनका लागि टिकट बितरणमा असन्तुष्ट प्रकट गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले पार्टी सदस्यता त्याग गर्ने क्रम बढेको छ । केहि दिन अघि क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरी लम्सालले मेयर लगायतका पदमा उम्मेदवारी सिफारिस प्रति असन्तुष्ट जनाउदै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए । लम्साल बुटवल उपमहानगरका लागि मेयरका आकांक्षी नेपाली कांग्रेस बुटवल नगर समितिमा राखेका थिए । तर उनको नाम सिफारिस भएन । नगर समितिले सभापति खेलराज पाण्डेको नाम मात्रै सिफारिस ग¥यो ।
त्यस अघि २ पटक क्षेत्रीय सभापति भइसकेका कांग्रेसका पाका नेता भैरहवाका मातृका यादवले पनि उम्मेदवार चयनमा असन्तुष्टी जनाउदै राजिनामा मात्र दिएनन्, जनता समाजबादी पार्टी प्रवेश गरी सिद्धार्थनगरको मेयर पदको उम्मेदवार समेत भए । यादव २०७४ को स्थानिय निर्वाचनमा सिद्धार्थनगरको मेयर पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भई पराजित भएका थिए ।
यादवको बहिर्गमन पछि केही मत यादवकै पछि जाने निश्चित छ । यादवले पुरानालाई पाखा लगाई नयाँलाई उम्मेदवार बनाएको आरोप लगाएका छन् । यद्यपी यादव पनि नव पवेशीकै रुपमा जनता समाजवादी पार्टीबाट मेयरको उम्मेदवार बनेका हुन् । कांग्रेसले सिद्धार्थनगरको मेयरमा संविधान सभा सदस्य इश्तियाक अहमद खानलाई उम्मेदवार बनाएको छ । लम्साल र यादव दुबै गृहमन्त्री खाँण बिपक्षी गुटका पौडेल समूहका हुन् ।
उता रुपन्देहीको दक्षिण भेग मर्चवार क्षेत्रबाट पनि २ सकृय कार्यकर्ताहरु अध्यक्षमा उम्मेदवार हुन नपाए पछि राजिनामा दिएर अन्य पार्टी प्रवेश गर्दै गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका छन् । मर्चवारी गाउपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका आकांक्षी रहेका महाअधिवेशन प्रतिनिधि गया बरईले आफ्नो सुनिश्चित भएको उम्मेदवारी मध्यरातमा हटाई अन्यलाई टिकट दिएको भन्दै पत्रकार सम्मेलनमा आक्रोश प्रकट गरे । पैसाको लोभमा परी टिकट दिइयो, जिल्ला समितिले बेमान ग¥यो, त्यसैले आजै १ हजार बढी समर्थक सहित पार्टी परित्याग गरेको र हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी प्रवेश गरी मर्चवारीमा अध्यक्षको उम्मेदवारी दिएको बताए । मर्चवारीमा गृहमन्त्री बालकृष्ण खाँण निकटलाई टिकट दिएको आरोप उनिहरुको छ ।
त्यसै गरी मर्चवारकै कोटहीमाई गाउँपालिकामा अध्यक्षका आकांक्षी अशोक कलवार थिए । उनि कृयाशील सदस्य र क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य समेत थिए । त्यहाँ पनि गृहमन्त्री निकट बलिराम यादवलाई उम्मेदवार बनाए पछि कलवारले पार्टी परित्याग गर्दै १ हजार बढी कार्यकर्ता सहित नेपाल जनता पार्टी प्रवेश गर्दै अध्यक्षमा उम्मेदवारी दिए । मर्चवारको २ महत्वपूर्ण गाउँपालिकामा २ जुझारु कांग्रेस नेताले पार्टी छाडे पछि त्यहाँ कांग्रेस अप्ठयारोमा परेको छ । ‘‘जित सुनिश्चित भएको स्थानमा पार्टीले राम्रा भन्दा पनि आफ्नालाई उम्मेदवार बनाएको छ, अब जस अपजस उहाहरुलेनै लिनु पर्छ, संगठन बनाउने भन्दा पनि भत्काउने काम भएको छ ।’’ मर्चवारका एक नेताले नेतृत्व प्रति आक्रोश प्रकट गरे ।
उता उम्मेदवारी प्रति असन्तुष्ट प्रकट गर्दै ओमसतिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठले आजै पार्टी त्याग गरेको जनाउदै स्वतन्त्र हुने घोषणा गरेका छन् । तिलोत्तमा नगर पालिकामा गृहमन्त्रीका भाई एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण उम्मेदवार भए पछि आलोचित बनेका छन् । खाण अघिल्लो निर्वाचनमा सोहि स्थानमा पराजित भएका थिए । जिल्ला सभापतिका बहालवाला मान्छेले सबै स्थानीय तहमा मिलाएर लग्नु पर्नेमा आफै उम्मेदवार बन्ने अनि अन्य स्थानमा समेत आफ्नैलाई उम्मेदवार बनाई एक पक्षीय बनाउन मिल्छ, कार्यकर्ताको भनाई आउन थालेको छ । अहिले सुनौलो अवसर थियो, कांग्रेसका लागि रुपन्देहीमा तर संगठन ध्वस्त बनाइयो, उनिहरुको तर्क छ ।
Get real time update about this post categories directly on your device, subscribe now.