- बिशन गुरुङ
भैरहवा ।
दुई अपराधिक घटनामा संलग्न लुटेराहरुलाई पक्राउ गर्न सडक क्षेत्रका घरमा राखिएकाम सीसी क्यामरा सहयोगी भएको छ । गत साउन २९ गते बेलहिया बाइपासमा रहेको एक रेष्टुरामा लुटपाट गरी भाग्ने क्रममा बाटैमा एकजनालाई गोली हान्ने समूहका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गर्दा वसन्तपुर धकधई सडकखण्डमा रहेको सीसी क्यामरा सहयोगी बनेको हो । घटना घटाएर भाग्दै गरेकाहरुको केही दृष्य सीसी क्यामरामा कैद भएको रहेछ, त्यसैलाई हाम्रा अनुसन्धान अधिकृतहरुले पछ्याउँदै जाँदा लुटेराहरु नियन्त्रणमा आउन सके, रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले भने । ‘‘घटना घटाउनेहरु ढिलो होस् या चाडो कानूनको दायरामा नआई सुखै छैन, हाम्रा अनुसन्धान अधिकृतहरुले सुक्ष्म तरिकाले कार्य गर्दा आरोपितहरु छिटोभन्दा छिटो नियन्त्रणमा आइरहेका छन् । साउन २९ को लुटपाट र गोली काण्ड तथा भाद्र ६ गतेको कटैयामा भएको वृद्ध आमाको घाँटीको सुनको सिक्री लुट्ने काण्डमा संलग्न रहेकाहरुलाई सीसी क्यामराको मद्दले नियन्त्रण गर्न सहयोग भयो । त्यसैले सीसी क्यामराको प्रयोग बढी भन्दा बढी स्थानमा गर्न सके शान्ति सुरक्षा प्रभावकारिता हुन्छ ।’’ एस.पी. रेग्मीले भने ।
साउन २९ गते रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय बिकास गुरुङ्ग माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षिय पवनराज भर र सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ दोगहरा बस्ने २१ वर्षिय मोहम्मद अरसद मुसलमान (काजु) रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए । यस्तै घटनामै संलग्न भई गोली हान्ने सुटर कृष्ण भुज भने फरार रहेको रेग्मीले बताए । घटना घटाएर तिनै जना एकै मोटरसाइकलबाट भाग्दै थिए । ति मध्ये बिचमा बसेका कृष्णले गोली चलाएका थिए, प्रहरी अनुसन्धानमा उल्लेख छ । प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस ७ आरएमओ मेड इन युएसए लम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल समेत बरामद भएको जनाएको छ । यस्तै चोरी भएको मोबाइल फोन समेत बरामद भएको प्रहरीको भनाई छ ।
गुरूङ माथि किन गोली ?
घटना साउन २९ गतेको हो । राती करिब पौने ११ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाइल समेत लुटपाट गरि बाइपास हुँदै धकधई तर्फ भागेको भन्ने प्रहरीलाई जानकारी प्राप्त भयो । प्रहरी चौकी चनुली बगहाका प्रहरी सहायक निरीक्षक बिर बहादुर थापालाई जानकारी आए पछि उनले बसन्तपुर हुँदै बाइपास जाने क्रममा भैरहवा–परासी सडक खण्डको बाँया तर्फ सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बस्ने २८ वर्षिय बिकास गुरुङ्ग गोली लागि घाइते अवस्थामा फेला परे ।
गुरुङ्गले लुटेराहरुको पिछा गर्दै उनिहरुलाई रोक्न खोजेका थिए । सोही क्रममा एकै मोटरसाइकलमा सवार ३ जना मध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्ग माथि गोली प्रहार गरेको एसपी रविन्द्र रेग्मीको भनाई छ । घाइते गुरुङ्गलाई तत्काल भैरहवा स्थित मेडिकल कलेजमा पु¥याई उनलाई लागेको गोली निकालेको बताउँदै रेग्मीले अहिले गुरुङ्गको अवश्था सामान्य रहेको जानकारी दिए ।
गोली हानेर फरार भएका लुटेराहरुको खोजतलाश गर्न ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद बहादुर पौडेल र वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपालको टोली खटिएको थियो । प्रहरीले आवश्यक सोधपुछका लागि रेष्टुरेण्टका सञ्चालक लक्ष्मी नेपाली सहित ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
तीन जना प्रहरी निरीक्षकहरुको टोलीले घटनाको अनुसन्धान गरी ६ दिन भित्र नै २ जना अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ भने एक जनाको खोजी गरिरहेको छ । पक्राउ परेका मध्ये पवनराज भर यस अघि पनि सार्वजनिक अपराध, लागुऔषध, डाका चोरी र राहजनी सम्बन्धि मुद्दामा जेल सजाय पाई सकेका छन् । जेलबाट ६ महिना अघि निस्केका उनै राजभरको मूख्य योजनामा संगठित अपराध भएको हो । प्रहरीले समयमै उनिहरुलाई पक्राउ गरी थप अपराध गर्नबाट रोकेको छ । पक्राउ परेका दुबै जना माथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हाथहतियार खरखजाना मुद्दा चलाइएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.