- भैरहवा
नवरात्रिको नवौ दिन लाई महानवमी भन्ने गरिन्छ । महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिको सरसफाई गरी पूजा गर्ने गरीन्छ ।
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी कन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हासलाई मान्दै बलि चढाउँने चलन आएको मानिन्छ । आज पनि बिहानै देखि देशैभरका शक्तीपिठहरुमा पूजाअर्चनाका लागी जाने श्रद्धालुहरु पुगेका छन् ।
आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनहरु पूजाका लागि पुगिसकेका छन् ।काठमाण्डौ उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, गोरखाको मनोकामना, धरानको दन्तकालि पाल्पा तानसेनको रणउजिरेश्वरी,रुपन्देही मर्चवारको मर्चवारी माई, भैरहवाको दुर्गामन्दिर, कालिका मन्दिर लगायत देशभरका शक्तिपीठमा पूजा भैरहेको छ ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।
दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।
Get real time update about this post categories directly on your device, subscribe now.