- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु बढेका छन् । विगत ३ वर्षदेखि सुस्ताएको पर्यटक आगमनमा भने अब चाहलपहल देखिएको छ । पर्यटन आगमनको बृद्धिसंगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले आर्थिक क्षेत्र चलायमान हुने आशामा लुम्बिनी भैरहवा क्षेत्रका पर्यटन व्यवसायी बसेका छन् ।
पर्यटक आगमन बढे पनि होटल व्यवसाय बढ्न सकेको छैन् । प्रायः पर्यटक एकै दिनमा फर्कने पुरानै क्रम जारी हुँदा पर्यटक लुम्बिनी आउने क्रम बढे पनि पर्यटन व्यवसायीले अपेक्षा गरे अनुसार फाइदा लिन सकेका छैनन् । लुम्बिनी होटल संघ (लहान) का अध्यक्ष गोबिन्द ज्ञवालीका अनुसार लुम्बिनी क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्दो छ, तर बास बस्ने गरेर पर्यटक आएका छैनन्, उनिहरुको भ्रमण अवधि लम्ब्याउन जरुरी छ र यसका लागि आध्यात्मिक गतिविधि बढ्ने कार्यक्रम ल्याउनु पर्छ, यसमा लुम्बिनी विकास कोषले ध्यान दिओस्, ज्ञवालीले भने ।
लुम्बिनी विकास कोषको सूचना शाखा अनुसार गतवर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक बृद्धि भएको छ । गत वर्ष सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरि २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेका थिए । २०२२ मा भने यो संख्या बृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन् ।
गतवर्षको सोही अवधिमा १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या बढेर १ लाख ४९ हजार ६०९ जना पुगेको छ । कोभिड कम हुँदै गए पछि स्वदेशी र विदेशी पर्यटक आगमन बढ्दै गएको राइले बताए । लुम्बिनीमा तेश्रो मुलुकका पर्यटक भन्दा आन्तरिक र भारतीय पर्यटकको संख्यामा बृद्धि भएको छ । विशेषगरी पछिल्ला केही वर्ष यता बुद्ध जन्मस्थल लुम्बिनीलाई आन्तरिक पर्यटकले काठमाडांै, पोखरासंगै प्रमुख गन्तव्यको रुपमा लिने गरेको पाइन्छ ।
पर्यटकहरुलाई बुद्ध जन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी विहार, विश्व शान्ति दीप, बेबी बुद्ध, ठुलो घण्टी, केन्द्रीय नहरको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्रा, सारस अवलोकन, निलगाइले आर्कषित गर्ने गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.